सूचनाको शक्ति - The Power Of Information

        

कार्यालय परिसरमै मदिराले लठ्ठ भएका कर्मचारीको फोटो खिचेपछि…

शुक्रबार चितवनमा यस वर्षको सबैभन्दा बढी गर्मी भयो । उक्त दिन ३८ डिग्रीको तापक्रम मापन गरिएको थियो । विडम्बना भनौं या संयोग, चितवनमा तापक्रमको ग्राफ उकालो लाग्दा घर–घरका पङ्खा बन्द थिए । किनभने उक्त दिन लोडसेडिङ थप गर्मी बढाउन मद्दत गरेको थियो ।

देशभरको गर्मी चितवनमै थुप्रिएजस्तो थियो । लाग्थ्यो सूर्य पनि चितवनमा खसेको छ । देशभर लोडसेडिङ मुक्त र भारतमा बिजुली निर्यात भएको समाचार बन्दा चितवनमा लाइन जानु चितवनवासीले आश्चर्य मानेका थिए । त्यसदिन लाइन गएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र भरतपुरलाई पनि थाहा थियो ।

केन्द्रले मर्मत गरिरहेको थियो । सोही दिन आर्थिक वर्षको अन्तिम दिन पनि थियो । कर्मचारी पनि कार्यालयमै थिए । कोही घर जाने तयारी र कोही कार्यालयमा देखिन्थे । केही भने कार्यालय परिसरमा ओहोरदोहोर गरिरहेका थिए । आर्थिक वर्ष सुरू हुनु दुई दिनअघि नै कार्यालय प्रमुखसहित अन्य कर्मचारीले खाजा खाने योजना बनाएका थिए ।

कार्यालय प्रमुखको उपस्थितिमा उनीहरूले खाजा मात्र होइन । मदिरासमेत सेवन गर्ने तयारी गरेका थिए । कर्मचारीको खाजा कार्यक्रम हुँदाहुँदै कार्यालयमा एक जना अपरिचित व्यक्तिको उपस्थिति थियो । उनी लोडसेडिङको समस्या बुझ्न र कार्यालय परिसरमा भीडभाड रहेको बुझ्न पुगेका थिए । कार्यालय प्रमुख र केही कर्मचारीसँग उनको चिनजान थियो ।

उनी ओहोरदोहोर गरिरहेका थिए । तर, अन्य कर्मचारीसँग उनको खासै चिनजान थिएन । कार्यालयमा कर्मचारी भएको कोठामा खाजा सुरु भइरहँदा ती अपरिचित व्यक्तिको पनि प्रवेश भयो । उनको प्रवेश मात्र भएन । उनी त्यहाँ पुग्दा मदिराले लठ्ठ भएका कर्मचारीसमेत थिए । उनले ७ जना कर्मचारीले खाजा खाइरहेको मदिरासहितको फोटो ‘फटाफट’ खिच्न थाले ।

उनी भर्याङबाट झर्दा झर्दै कर्मचारीको घेरामा परे । जब उनले फोटो खिचेर झरे त्यसपछि कर्मचारीले भाँडभैलो मच्चाए । ‘किन अनुमति बिना फोटो खिचेको’ भन्दै उनीमाथि कर्मचारी खनिए । आक्रमण पनि सुरु भयो । आफ्नो परिचय नदिएका उनले आक्रमण भइसकेपछि आफ्नो परिचय खुलाएका थिए । आक्रमण भइसकेपछि परिचय खुल्यो ‘पत्रकार’ ।

स्थानीय नारायणी अनलाइन र ‘सञ्चारपत्र’ दैनिकका प्रकाशक तथा राष्ट्रिय समाचार समिति चितवनका समाचारदातासमेत हुन् कृष्ण आचार्य । पत्रकार वा अन्य कुनै व्यक्तिले पनि सार्वजनिक स्थानमा बिना अनुमति कसैको तस्वीर लिन पाइँदैन । अझ पत्रकारले त अनुमति लिएर मात्र फोटो खिच्नुपर्ने व्यवस्था छ ।

केन्द्रमा उनले बिना अनुमति कर्मचारीको फोटो खिचेपछि कर्मचारीको आक्रोशित भिडको मुक्का उनीमाथि प्रहार भयो । त्यस्तैगरी केन्द्रका कर्मचारी कार्यालयमा बसेर खाजा खानुलाई सामान्य रुपमा लिइन्छ । तर, सरकारी कार्यालय भित्र सार्वजनिक पदमा बसेका व्यक्तिले मदिरा सेवन गर्नुलाई शोभनीय मानिँदैन ।

कार्यालय समयमा काम गर्ने ठाउँमा अनैतिक काम गर्न नपाइने व्यवस्था छ । तर, कर्मचारीहरूले सेवन मात्र गरेका थिएनन् । मदिरा सेवन गरेर नभइ लठ्ठ भएर लडेका थिए । शुक्रबार साँझ पत्रकार आचार्यमाथि आक्रमण भएपछि लगत्तै नेपाल पत्रकार महासङ्घ चितवनसहित पत्रकारसँग सम्बन्धित विभिन्न सङ्घ संस्थाले आपत्ति जनाए ।

सर्वत्र विरोधपछि पत्रकार अहिले कुट्ने आठ जना कर्मचारी पक्राउ परेका छन् । मंगलबार पक्राउको विरोधमा भरतपुरभरिका वितरण केन्द्रका कर्मचारीहरूले सीडीओ कार्यालयमा धर्ना दिएका छन् । खाजा खाइरहेको ठाउँमा बिना अनुमति फोटो खिचेकाले कर्मचारीले पत्रकारमाथि आक्रमण भएको भरतपुर शाखाका निमित्त केन्द्र प्रमुख राजेन्द्र पौडेलले बताए ।

‘पत्रकारले आफ्नो परिचय दिएर फोटो खिचेको भए कर्मचारीको आक्रमणमा पर्दैन थिए । पत्रकारले पनि पत्रकारितामा गर्नुपर्ने व्यवहार गरेनन्,’ उनले भने, ‘सार्वजनिक स्थानमा अनुमति लिएर फोटो खिचेको भए त्यसलाई उचित मानिन्थ्यो । पत्रकारमाथि कर्मचारीको सामान्य धकेला–धकेल मात्र भएको हो ।’ नागरिकको तर्फबाट प्राधिकरणमा कर्मचारीहरू मदिरा पार्टी गरेर बसेको खबर पाएपछि आचार्य पुगे ।

कार्यालय परिसर प्रवेश गर्नासाथ उनले कर्मचारीहरूलाई पार्टीका लागि घेराबन्दी बनाएर बसेको समेत देखेका थिए । ‘लाइन बनिसकेको छ । तपाईको क्षेत्रमा आइसकेको होला । असार मसान्त भएकाले सानो खाजाको कार्यक्रम गरेका छौं,’ कार्यालय प्रमुखको भनाइ उद्धृत गर्दै पत्रकार आचार्यले भने,’ खान पनि अनुरोध गरेका थिए मैले खाइनँ । त्यसपछि म हाकिमसँग बिदा मागेर बाहिरिएको थिएँ ।’

हाकिमसँग बिदा मागेर उनी कर्मचारीहरूले खाजा खाएर ढलेको ठाउँमा पुगे । उनले अगाडि थपे,’ त्यहाँ पुग्दा खाएर कर्मचारी झुमेका थिए । प्लेटहरू छरिएका थिए । त्यहाँदेखि माथि पनि मदिरा पार्टी चलेको थियो । हाकिमले मात्र मलाई चिन्थे ।’ कर्मचारीको लुकेर फोटो खिचेको आचार्यले स्वीकारे । फोटो खिचेर तल झर्दा अर्का कर्मचारीले बाटो छेकेको उनको भनाइ छ ।

‘माथिबाट आएर कर्मचारीले हामीले जाँड खाको फोटो खिच्ने पत्रकार भन्दै आक्रमण गरे,’ पत्रकार आचार्यले आक्रमण भएको क्षण सम्झँदै भने, ‘हामीले रमाइलो गर्न नपाउने भन्दै कर्मचारी आक्रमण गरिरहे । हाम्रो कार्यालयमा जे पनि गर्न पाइन्छ । मोबाइल खोसे र लुगा सबै च्यातिदिए ।’

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार ०७:२०