सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्ज भन्सारमा लक्ष्यभन्दा कम राजस्व सङ्कलन

पश्चिम नेपालमै सबैभन्दा बढी राजस्व सङ्कलन गर्दैआएको नेपालगन्ज भन्सार कार्यालयले धेरै वर्षपछि पहिलो पटक लक्ष्यभन्दा निकै कम राजस्व सङ्कलन गरेको छ ।

भर्खरै सम्पन्न भएको आर्थिक वर्ष २०७८–०७९ मा लक्ष्यको ८८.५ प्रतिशत मात्रै राजस्व असुली गरेको नेपालगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

सरकारले बैंकिङ्ग कारोवारमा कडाइ लगायत विभिन्न मालसामान आयातमा रोक लगाएका कारण गत आर्थिक वर्षमा लक्ष्यअनुसारको राजस्व असुली हुन नसकेको नेपालगन्ज भन्सार कार्यालयका भन्सार अधिकृत नवकुल शर्माले बताए ।

नेपालगन्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०७८–०७९ मा २५ अर्ब २१ करोड २६ लाख ६२ हजार रुपैयाँ राजस्व असुली गर्ने लक्ष्य राखेकोमा २२ अर्ब ३१ करोड २६ लाख अर्थात ८८.५ प्रतिशत मात्र असुली गर्न सकेको उनले बताए ।

यो राजस्व संकलन अघिल्लो आर्थिक वर्षभन्दा १ अर्ब ८ करोड ७९ लाख रुपैयाँले बढी भए पनि अघिल्लो आर्थिक वर्ष २०७७–०७८ को लक्ष्यभन्दा २ अर्ब ९० करोडले घटी भएको अधिकृत शर्माले बताए । धेरै सामानको आयातमा रोक लगाइएपछि राजस्व सङ्कलनको लक्ष्य प्राप्त गर्न नसकिएको उनले बताए ।

विगत १० बर्षको तथ्यांक हेर्ने हो भने नेपालगन्ज भन्सारले आर्थिक बर्ष २०७६–०७७ मा लक्ष्य भेटाउन सकेको थिएन भने अहिले भर्खर सकिएको आर्थिक वर्षमा पनि लक्ष्य पूरा हुन सकेन । आर्थिक बर्ष २०७६–०७७ मा नेपालगन्ज भन्सारले निर्धारित लक्ष्यको ७६.२४ प्रतिशत लक्ष्य हासिल गरेको थियो ।

गत आर्थिक वर्ष २०७८–०७९ मा विदेशी मुद्रा कमीका कारण सरकारले विभिन्न मालसामान आयात रोक्यो, त्यसको असरले पनि भन्सारले राजश्व भेटाउन नसकेको कार्यालयको बुझाइ छ । उद्योगी व्यवसायीले दैनिक लाखौं रुपैयाँको मालसामानको भन्सार छली हुनेगरेकाले पनि भन्सारले राजस्व हासिल गर्न नसकेको बताएका छन् ।

चालु आर्थिक बर्ष २०७९–०८० का लागि नेपालगन्ज भन्सार कार्यालयलाई अघिल्लो आर्थिक बर्ष २०७८–७९ मा भन्दा चार अर्ब बढी लक्ष्य दिएको छ । गत आर्थिक बर्षमा २५ अर्ब राजस्व असुलीमा असफल नेपालगन्ज भन्सारलाई थप चार अर्ब बढी थपेर चालु आर्थिक बर्षका लागि लक्ष्य निर्धारण गरिएको हो ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार १६:४७