सूचनाको शक्ति - The Power Of Information

        

केन्द्रीय कारागारमा ३६ कैदीबन्दीको मृत्यु

केन्द्रीय कारागार सुन्धारामा एक वर्षको अवधिमा ३६ जना कैदीबन्दीको मृत्यु भएको छ । विभिन्न कसूरमा दोसी ठहर भएर केन्द्रीय कारागार सुन्धारामा जेल जीवन बिताइरहेका ३६ जना कैदीबन्दीको एक वर्षको अवधिमा मृत्यु भएको केन्द्रीय कारागार कार्यालयका प्रमुख (जेलर) डोरेन्द्र निरौलाले जानकारी दिए ।

उनका अनुसार यो अवधिमा २ हजार ९८४ कैदीबन्दी कारागारबाट कैद भुक्तान गरेर छुटेका छन् भने दुई हजार ९६५ कैदीबन्दी कारागार चलान भएका छन् । ‘कारागार कसूर गर्ने व्यक्तिको कैद भुक्तान गर्ने ठाउँ भएकाले कैदीबन्दी आउने जानेक्रम चलिरहन्छ, जहाँ मानिसको बस्ती हुन्छ त्यहाँ जन्म–मृत्यु पनि स्वभाविक हो, यो चलिरहने प्रक्रिया हो,’ जेलर निरौलाले भने ।

कारागार कहिले पनि खाली नहुने भएकाले कारागारमा रहने कैदीबन्दीका लागि बाह्रै महिना खाने बस्ने, स्वास्थ्य लगायतका सबै जिम्मेवारी सरकारले लिन्छ । ‘कैदीबन्दीलाई सरकारले पाल्ने काम मात्रै गर्दैछ, यो जनशक्तिलाई कुनै काममा लगाउन सके फाइदा हुन्थ्यो, तर सुरक्षा संवेदनशीलता लाई ध्यान दिएर काम लगाउन पनि सजिलो छैन,’ उनले भने ।

जेलर निरौलाका अनुसार यदि त्यस्तो गर्न सकेको भए उनीहरुको पनि कसरत हुन्थ्यो, मुड फ्रेस भएर बिरामी पनि पर्ने थिएनन्, विरामी कैदीको पनि सरकारले उपचार गर्नुपर्छ । कारागारभित्र यस्ता धेरै समस्या रहेकाले त्यसलाई मध्यनजर गरी गृह मन्त्रालय कारागार व्यवस्थापन विभागले कैदीबन्दीको कामदारी सुविधासम्बन्धी कार्यविधि बनाएको छ । यो कार्यविधि लागू भएमा कैदीबन्दीलाई धेरै राहत मिल्ने विश्वास आफूले लिएको जेलर निरौलाको भनाइ छ ।

कारागारमा नौ हजार क्वीन्टल चामल

कारागार बाल सुधार गृहसहित केन्द्रीय कारागारमा बार्षिक नौ हजार बढी क्वीन्टल चामल मात्रै लाग्नेगरेको उनले बताए । कारागारमा रहेका कैदीबन्दीका लागि सरकारले दैनिक ७५० ग्राम चामल र ६० रुपैयाँको दरले भत्ता दिने गरेको छ ।

त्यही ६० रुपैयाँबाट कैदीबन्दीले तरकारी, खाजा वा आफूलाई आवश्यक पर्ने सामान खरिदमा खर्च गर्नुपर्ने हुन्छ । त्यो चामलको खरिद पक्रिया भने जीटुजीबाट गर्ने हुँदा केही सस्तो पर्ने जेलर निरौलाले बताए । उनका अनुसार अहिले कारागारमा खाद्य व्यवस्था तथा गुण नियन्त्रण विभागबाट सिधै चामल आउने गरेको छ ।

कारागारमा पानी समस्या

कारागारमा दैनिक ११ ट्याङ्कर खानेपानीमात्रै प्रयोग हुन्छ । उनले सरसफाईका लागि बोरिङ्गको पानी प्रयोग गरिदै आएको बताए । तर अहिले त्यो बोरिङ्ग बिग्रेकाले कारागारभित्र पानीको समस्या भएको छ । जेलर निरौलाले भने, ‘कारागार सम्हाल्न निकै गाह्रो छ, त्यत्रो जनशक्ति छ, एकदिन पानीमात्रै आएन भने कान खान्छन्, त्यहीमाथि विभिन्न रोगको संक्रमण, झाडापखालाजस्ता रोग लाग्यो भने त झन् कति पानी चाहिन्छ, बोरिङ्ग कहिले बन्छ केही जानकारी छैन ।’

तीन हजार १९६ कैदीबन्दी

अहिले केन्द्रीय कारागार कार्यालयको केन्द्र ब्लकमा १ हजार ७६६, भद्र ब्लकमा १ हजार ४३, महिला ब्लकमा ३८७ र ११ जना नाबालक गरी जम्मा ३ हजार १९६ जना कैदीबन्दी छन् । तीमध्ये २२८ जना विदेशी कैदीबन्दी छन् । सबैलाई समान सेवा सुविधा दिइएको छ । कारागारमा जम्मा प्रहरी सुरक्षाकर्मीको दरबन्दी ३७६ रहेकोमा २४० जना केन्द्रीय कारागारमा छन् ।

नख्खुमा ४४ र दिल्लीबजार कारागारमा ९२ जना प्रहरी सुरक्षाकर्मी खटिएका छन् । सबै गरेर दैनिक करिब पाँच हजार जनशक्तिका लागि खानेपानी आपूर्ति गर्नुपर्ने हुन्छ । कारागारभित्र विभिन्न किसिमका खेलकुद, स्कुल, कारखाना, मन्दिर लगायत ठाउँ छ । तर पनि यी सबै कैदीबन्दीको उमेर एउटै नरहेकाले धेरैजसो कैदीबन्दी आश्रीत जिवन बिताइरहेका छन् ।

जसले केही गर्न नसक्ने भएकाले उनीहरुलाई स्याहार्ने काम पनि कारागारभित्रै रहेका केही कैदीबन्दीलाई जिम्मेवारी दिइएको छ । कारागारमा कैदीबन्दीहरुको तीन वटा समिति रहेको छ । जस्को मुख्य नाइके, नाइकेलगायत आवश्यकताअनुसार कैदीबन्दीको समिति बनाइएको छ । त्यो समितिले कारागारभित्रको समग्र व्यवस्थापनको जिम्मेवारी लिएको छ । जिम्मेवारी पूरा गर्ने कैदीबन्दीको कैद कट्टा गर्ने लगायतको सुविधा दिइएको जेलर निरौलाले बताए ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार १६:२५