सूचनाको शक्ति - The Power Of Information

        

महाकालीको भेल घटेपछि सवारी सञ्चालनमा

महाकाली नदीमा पानीको जलस्तर घटेपछि बिहीबार बिहानबाट शारदा ब्यारेज (बनवासा पुल) मा सवारीसाधन आवतजावत खुला गरिएको छ । हिजो नदीको बहाव बढेपछि भारतीय प्रशासनले चारपाङग्रे गाडीको आवतजावतमा रोक लगाएको थियो ।

इलाका प्रहरी कार्यालय गड्डाचौकीका इन्चार्ज सई बहादुर धामीका अनुसार दिउँसो ४ देखि राति ११ बजेसम्म गाडी आउजाउमा रोक लगाइए पनि आज बिहान ६ बजेबाट भने निर्वाध सञ्चालनमा आएका हुन् । महाकाली नदीमा बिहान ६ बजे ९५ हजार ८९१ क्यूसेक पानी मापन गरिएको छ ।

एक लाख क्यूसेकभन्दा बढी पानी भएमा पुलको सुरक्षाका लागि ठूला सवारीसाधन आवतजावत बन्द गरिन्छ । ‘हिजो नदीमा पानीको बहाव एक लाख ३९ हजार ६०० क्युसेक मापन गरिएको थियो,’ इन्चार्ज धामीले भने, ‘आज घटेपछि पुलमा कुनै अवरोध छैन ।’

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार १३:३९