सूचनाको शक्ति - The Power Of Information

        

मञ्चमा ‘सपना अनेक अनेक’

नाटक हेर्न गएका दर्शकहरूलाई एउटा घण्टीको प्रतीक्षा हुन्छ । जुन घण्टी एकैछिनमा नाटक शुरु हुने र दर्शकलाई हलभित्र छिराउने संकेत पनि हो । राजधानीस्थित सर्वनाम थिएटरमा बुधबार झण्डै २८ महिनापछि घण्टी बज्यो ।

कोरोनाका कारण लामो समयसम्म नाटक मञ्चन नभएको सर्वनाममा अशेष मल्लको निर्देशनमा तयार भएको गीति नाटक ‘सपना अनेक अनेक’को प्रिमियरमा लामो समयपछि उक्त घण्टी बजेको हो ।

कोरोनापछि अन्य नाटकघरहरूले नियमित नाटक मञ्चन थालिसके पनि सर्वनाममा भने नाटक मञ्चन भएको थिएन । नाटक मञ्चन नभए पनि यो बीचमा नाटक प्रशिक्षण तालिम भने नियमित रुपमा भइरहेको थियो । साथै नाटकघरको मर्मत पनि यही समयमा भयो ।

‘सपना अनेक अनेक’को मञ्चनसँगै सर्वनामले कोरोनाकालपछिको नयाँ यात्रा शुरु गरेको छ । गीता खत्रीको खण्डकाव्य ‘आमा हुन् आमा’मा आधारित नाटक ४ दशकभन्दा लामो समयदेखि रंगकर्म गर्दै आएको सर्वनामको पहिलो गीति नाटक हो ।

मल्लको परिकल्पना तथा निर्देशन रहेको नाटकमा सत्यराज आचार्य र बानिका प्रधानको आवाज रहेको छ जसमा संगीत राजु सिंहले भरेका हुन् । बुधबार भएको नाटकको प्रिमियरमा साहित्य, संगीत तथा नाट्य क्षेत्रका व्यक्तिहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।

नाटकमा सहज र सुविधासम्पन्न जीवनको सपना देख्दै विदेश जाने नेपालीहरूको कथा रहेको छ । आफ्नो सपनालाई पछ्याउँदै अमेरिकाको न्युयोर्क शहर पुगेको पात्रको दृष्टिविन्दुबाट नाटकलाई देखाइएको छ ।

जसमा उसका श्रीमती र छोरी पनि मुख्य पात्र हुन् । न्युयोर्क शहर पुगेको एउटा पात्रको कथा भए पनि नाटकले अमेरिका, क्यानडा, अष्ट्रेलिया, युरोप मात्र नभएर सपना पछ्याउँदै जापान, कोरिया, दुबई, कतार सबैतिर पुगेका नेपालीहरूको कथा भन्ने प्रयास गरेको छ ।

नाटकमा एकदमै कम प्रप्स छन् जसको प्रयोग बहुआयामिक तरिकाले गरिएको छ । मञ्चमा मनोज महर्जन, भावना उप्रेती, रविना परियार, धिरज थापा, मिलन शाक्य, निरीक्षा घतानी र शूँ गू रहेका छन् । जसको कोरियोग्राफी प्रमिला कार्की उप्रेतीले गरेकी हुन् । साउन २१ गतेसम्म चल्ने नाटक बिहिबारदेखि नियमित रुपमा मञ्चन हुँदैछ ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार १३:३३