बर्दियाको बारबर्दिया नगरपालिका–८ औरीका गोकर्ण रेग्मीले विगत तीन वर्षदेखि धाराको पानी खान पाउँदा निकै खुशी भएको बताए ।
उनले गाउँमा खानेपानी आयोजन सञ्चालन हुँदा ट्युबेलको पानी खाने गरेका थिए । उक्त पानी भाँडोमा राख्दा रातो आउने भएयता पनि बाध्यताले खानुपरेको भन्दै अहिले खानेपानी आयोजना सञ्चालनमा आएपछि सफा पानी खान पाउँदा धेरै खुशी लागेको सुनाए ।
उनले भने, ‘गाउँमा पानीको अन्य स्रोत थिएन । सबैले घर घरमा ट्युबेल बनाएर पानी खाने गर्थ्यौँ । उक्त पानी खान योग्य थिएन । तर, हामीले बाध्यताले डराइ डराइ खाने गर्थ्यौँ । अहिले करिब तीन वर्ष भयो गाउँमा खानेपानी आयोजना सञ्चालन भएपछि राम्रो खान पाउँदा धेरै खुशी लागेको छ ।’
त्यस्तै, सोही ठाउँका हरिप्रसाद भुसालले खानेपानी डिभिजन कार्यालयको सहयोगमा औरीमा खानेपानी आयोजना सञ्चालन आएपछि आफूहरूले राम्रो पानी खान पाएको सुनाए । उनका अनुसार खानेपानी डिभिजन कार्यालय गुलरिया बर्दियाले आफ्नो ठाउँमा पानीको परीक्षण गर्दा २–४ वटा घरको पानी बाहेक अन्य घरको पानी खान अयोग्य प्रमाणित गरेको थियो ।
आफूहरूको पहलमा नै २०६६ सालमा मगरागढी खानेपानी तथा सरसफाइ उपभोक्ता समिति स्थापना गरेर औरीमा अहिले डिप बोरिङको पानी वितरण भइरहेको उनले बताए । अहिले पनि औरीमा केही नागरिकहरूले आर्थिक कारणले गर्दा धाराहरू जडान गर्न नसकेर रातो पानी खाइरहेको बताए ।
उनले भने, ‘धारा जडान गर्नको लागि करिब ५–७ हजार खर्च लाग्ने गर्दछ । तर, त्यो पैसा तिर्न केही घरपरिवारलाई समस्या भएको छ । जसले गर्दा उनीहरूले धारा जडान गरेका छैनन् । त्यसैले उनीहरूको लागि खानेपानी डिभिजन कार्यालयले सहयोग गरे राम्रो हुन्थ्यो । हाम्रो स्थानीय सरकारले जनताको यस्ता समस्याभन्दा पनि बाटाघाटा बनाउन ठिक्क छ । स्थानीय सरकारबाट आश छैन ।’
खानेपानी समितिले अहिले ४०० बढि घरमा खानेपानी वितरण गर्दै आएको समितिका अध्यक्ष रामप्रसाद ढुङ्गानाले बताए । उनले २०७७ सालदेखि औरीमा खानेपानी वितरण गर्दै आएको र अहिले दुई वटा डिप बोरिङबाट ढेड लाख लिटर क्षमताको ओभरहेड ट्यांकी निर्माण गरेर पानी वितरण भइरहेको बताए ।
शुरुमा खानेपानी सञ्चालन गर्दा स्थानीयहरूले धेरैले धारा जडान नगरेको भएयता पनि अहिले विस्तार माग बढ्दै गएको उनको भनाइ थियो । उनले गाउँमा रहेका अति विपन्न परिवारको लागि खानेपानी डिभिजन कार्यालय र स्थानीय सरकारसँगको समन्वयमा निःशुल्क धारा जडान गरिदिने योजना बनाएको पनि बताए ।
रामनगरमा २०७२ सालदेखि श्री रामकृष्ण खानेपानी तथा सरसफाइ उपभोक्ता समिति स्थापना भएको हो । समितिका सचिव कृष्णा गुरुङका अनुसार २ लाख २५ हजार क्षमताको ओभरहेड ट्याङ्कीबाट पानी वितरण भइरहेको र यसबाट करिब १ हजार १०० घरधुरीमा पानी पुर्याउन सकिने उनको भनाइ छ ।
उनले अहिले गाउँमा करिब ४०० घरमा धाराहरू जडान भएको र साढे ६०० घरले धारा जडानको लागि निवेदन दिएको पनि बताइन् । सचिव गुरुङका अनुसार समितिले नयाँ धारा जडानको लागि ५०० र न्यूनतम मासिक शुल्क १५० र मर्मत सम्भारका लागि थप २० रुपैयाँ तय गरिएको छ ।
उनले भनिन्, ‘पहिला हाते पम्पबाट पानी निकाल्नुपथ्र्यो, त्यो पानी फोहर अनि रातो र धमिलो पानी आउँथ्यो । तर, खानेपानी आयोजना सञ्चालनमा आएपछि त्यो सबै अन्त्य भएको छ ।’ उनले त्यो पानी खादा विभिन्न किसिमका रोगहरू लाग्ने गरेको भएयता पनि अहिले रामकृष्ण खानेपानीले डिप बोरिङबाट पानी वितरण गर्न थालेपछि त्यो कम भएको पनि बताइन् ।
यस्तै, बाँकेको राप्तीसोनारी गाउँपालिका ६ फत्तेपुरकी चमेली बाँकाबलले अहिले पनि रातो पानी खाँदै आएकी छन् । उनले मात्र नभइ उक्त ठाउँमा सबैले उस्तै पानी खाँदै आएका छन् । उनले ट्युबेलको पानी खाँदै आएको र त्यो पनि सफा नभएको बताइन् । उनले तत्काल हाते पम्पबाट भाडामा पानी निकालेर खान मिल्ने नमिल्ने बताइन् ।
उनले भनिन्, ‘बालुवाजस्तो पानी आउँछ । त्यसलाई आधा घण्टा जति भाडामा राख्दा तरल पदार्थ जस्तो हुन्छ । भाँडाहरू पुरै पहिलो भएको हुन्छन् । अब गाउँमा खानेपानी आयोजना सञ्चालन आउँदैछ । त्यो आयो, भने सफा पानी खान पाइन्छ, होला ।’ उनले दुषित पानीका कारण स्वास्थ्यमा धेरै असर पुगेको भन्दै सफा पानी खान आफूहरू आतुर भएको बताइन् ।
त्यस्तै उनले आफूहरूले खानेपानी पानी मात्र नभइ विभिन्न समस्या भोग्दै आएको पनि गुनासो गरिन् । फत्तेपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष लालबहादुर थापाले २०७३ देखि निर्माण शुरु भएको खानेपानी आयोजना अन्तिम चरणमा पुगेको बताउँदै आउँदो भदौ महिनादेखि गाउँमा खानेपानी वितरण गर्ने लक्ष्यका साथ काम भइरहेको जानकारी दिए ।

गाउँमा अहिले सबैले हाते पम्पबाट पानी निकालेर खाइरहेको र त्यो पनि राम्रो नभएको पनि उनको भनाइ छ । उनले भने, ‘गत फागुन महिनामै स्थानीयको घरघरमा खानेपानी पुर्याउने लक्ष्य लिएका थियौँ । तर, बैशाखमा स्थानीय तहको निर्वाचनले गर्दा काम गर्न समस्या भएको थियो । अहिले गाउँमा पाइप बिछ्याउने काम भइरहेको छ । भदौदेखि हामी पानी वितरण गरेर राम्रो पानी खुवाउने योजनामा रहेका छौँ ।’
यस्तै, बाँकेकै राप्तीसोनारी गाउँपालिका–१ सौरीकी सरिता केसीले अहिले धाराको पानी खान पाउँदा धेरै खुशी लागेको बताइन् । उनले करिब चार महिनादेखि खासकुश्मा खानेपानी आयोजनाले घरघरमा धारा बजडान गरेपछि साँझ बिहान धाराको पानी प्रयोग गर्दै आएको भन्दै घरमा खानेपानीको धारा जडान भएपछि धेरै राम्रो भएको बताइन् ।
उनले भनिन्, ‘हामीले पहिला कुवाको पानी खाँदै आएका थियौँ । त्यो कुवाको पानी पनि राम्रो आउँदैन्थ्यो त्यसमा पनि गर्मी समयमा कुवा सुक्थ्यो । राप्ती नदिको पानी ल्याएर खाने गर्थ्यौँ । तर, अहिले घरमा धाराको पानी आएपछि त्यो समस्या अन्त्य भएको छ ।’ उनले धाराको पानी डिप बोरिङबाट आउने र खादा पनि मिठो रहेको बताइन् ।
खासकुश्मा खानेपानी आयोजना २०७४ सालदेखि शुरु भएको विभिन्न कारणले केही समय अघिदेखि नै पानी वितरण गरिएको आयोजनाका अध्यक्ष थम्मनबहादुर भण्डारीले बताए । आयोजनामा २ वटा डिप बोरिङरहेको र ढेड लाख लिटरको ओभरहेड ट्यांकी निर्माण गरेर ५०० घरमा खानेपानी पुर्याउने लक्ष्य लिएको भएयता पनि अहिले ३०० भन्दा बढि घरमा २४ सैं घण्टा पानी वितरण गरिरहेको उनको भनाइ थियो ।
उनले धारा जडान गर्नका लागि १ हजार ८५० शुल्क लिने गरेको र अहिलेसम्म मासिक शुल्क नलिएको बताए । उनले गाउँमा खानेपानी आयोजना सञ्चालन भएपछि धेरै उपभोक्ताहरू खुशी भएको पनि बताए । उनले भने, ‘यहाँका जनताले पहिला कुवा, खोलाको पानी खाँदै आएका थिए । तर, अहिले हामीले घर घरमा पानी वितरण गर्न थालेपछि त्यो समस्या अन्त्य भएको छ, भने सफा पानी खाइरहेका छन् ।’
२२ वटा आयोजना निर्माणको तयारी
पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्रालय लुम्बिनी प्रदेशको मातहतमा रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नेपालसँग बाँकेले अहिले बाँके र बर्दिया जिल्लामा हेर्दै आएको छ । डिभिजन प्रमुख तिलक न्यौपानेका अनुसार अहिले दुई वटा जिल्लामा १२१ वटा खानेपानी आयोजनाहरू निर्माणाधीन रहेका छन् ।
डिभिजन प्रमुख न्यौपानेका अनुसार आर्थिक वर्ष २०७९–०८० मा पनि करिब २२ वटा आयोजना निर्माण गर्ने तयारी रहेको छ । सरकारले समयमै बजेट दिएमा अबको चार वर्षमा सबै आयोजना सम्पन्न गरी नागरिकलाई सफा र स्वच्छ खानेपानी खुवाउन सकिने पनि डिभिजन प्रमुख न्यौपानेले बताए ।
यस्तै निर्माणाधीन मध्य सघन खानेपानी आयोजना, सरसफाइ तथा ढल व्यवस्थापन, खानेपानी आयोजना गुणस्तर सुधार तथा अभिवृद्धि कार्यक्रम, खानेपानी आयोजना मर्मत सुधार, जलवायु अनुकूलित खानेपानी आयोजना, तराइ मधेश खानेपानी आयोजना, राष्ट्रिय युवा परिचालन लगायत ८ वटा शीर्षकमा बजेट विनियोजन हुने गरेको उनको भनाइ थियो ।
डिभिजन प्रमुख न्यौपानेले आर्थिक वर्ष २०७८–०७९ को लागि ४४ करोड ७९ लाख २३ हजार बजेट आएको र त्यसबाट आयोजनाहरूमा काम भएको पनि बताए । उनले सरकारको नियम अनुसार २० प्रतिशत लगानी उपभोक्ताहरूले जुटाउनुपर्ने भएकाले पनि खानेपानी निर्माणमा समस्या हुने गरेको उल्लेख गरे ।
बाँके, बर्दियाका खानेपानी आयोजनामा डिप बोरिङबाटै पानी निकाल्नुपर्ने अवस्था भएकाले विद्युत जडानमा पनि समस्या हुने गरेको उनको भनाइ छ । उनले भने, ‘आयोजनाका लागि सहजरुपमा विद्युतको टिओडी मिटर नपाउँदा उपभोक्ताहरू काठमाडौँ जानुपर्ने बाध्यता छ । यो आर्थिक वर्षमा हामीले सात वटा खानेपानी आयोजनामा पानी सञ्चालन गरेका छौँ ।’
खानेपानी डिभिजन प्रमुख न्यौपानेका अनुसार अहिले बाँके र बर्दियाका करिब १२ प्रतिशत नागरिकहरूले पाइप प्रणालीबाट खानेपानी खाइरहेका छन् । उनले यो भन्दा ओभरहेड ट्यांकी, पाइप प्रणालीको कार्यक्रम नहुँदा अधिकांश नागरिकहरूले खानेपानी कार्यालयले निर्माण गरिदिएका हेण्ड पम्प र स्यालो ट्युबेलको पानी खाँदै आइरहेको पनि बताए ।
दुई जिल्लामा निर्माण हुन लागेका सबै आयोजनाहरू सम्पन्न भएमा करिब ८५ प्रतिशत नागरिकहरूले पाइप प्रणालीको पानी खाने गरेको डिभिजन प्रमुख न्यौपानेले बताए । उनका अनुसार अहिले निर्माण भएका आयोजना र पहिले निर्माण गरिएका हेण्ड पम्प र स्यालो ट्युबेल लगायतको संरचनाबाट बाँके र बर्दियाका ९५ प्रतिशत नागरिकलाई खानेपानी पुगेको छ ।
उनले दुई जिल्लामा हेण्ड पम्प, ट्युबेलजस्ता फलामे तत्वबाट बनेको वस्तुबाट पानी तानेर हेर्दा राम्रो देखिने भए पनि त्यो विस्तारै पहिलो हुँदै जाने भएकाले समस्या देखिएको बताए । उक्त समस्या समाधान गर्नकै लागि खानेपानी डिभिजनले डिप बोरिङबाट ओभरहेड ट्याङ्कीमा पानी तानेर नागरिकहरूलाई सफा र स्वच्छ पानी खुवाउनका लागि काम गर्दै आएको उनले बताए ।
सत्यपाटी । बाँके ।