सूचनाको शक्ति - The Power Of Information

        

स्वास्थ्य विशेष

सिकलसेल रोगका लागि अनुसन्धान केन्द्रसँगै अब छुट्टै अस्पताल

थारु समुदायमा ‘सिकलसेल र थालेसेमिया’ रोग विकराल बन्दै जान थालेपछि सिकलसेल सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्र स्थापनाको काम अघि सारिएको छ ।

फाइल तस्वीर

पश्चिम तराईका थारू समुदायमा जटिल स्वास्थ्य समस्याका रूपमा रहेको सिकलसेल रोगको उपचारका लागि बाँकेमा छुट्टै अस्पताल स्थापना गरिने भएको छ । थारु समुदायमा वंशानुगत सिकलसेल एनिमिया र थालेसेमिया रोग बढ्दै गएपछि अस्पताल स्थापना गरिने भएको हो ।

सिकलसेलका बिरामीलाई लक्षित गरी जानकी गाउँपालिका–३, नहरपूर्वामा सिकलसेल सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्र स्थापना गरिने लागिएको हो । नेपालगन्जमा भएको भेलाले नहरपूर्वामा सिकलसेल सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्र स्थापनाका गरी सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।

दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेतका थारू अगुवाको नेपालगन्जमा सम्पन्न भेलाले नहरपूर्वामा सिकलसेल अस्पताल स्थापनाका लागि थारू स्वास्थ्यकर्मी समाजका अध्यक्ष जीवराज चौधरीको अध्यक्षतामा समिति गठन गरेको छ । अध्यक्ष चौधरीले डीपीआर तयार भइसकेकाले अब दर्ता प्रक्रिया पुरा गरी अस्पताल निर्माणको काम तत्कालै अघि बढाउने बताए ।

भेलाले सिभिल होम निर्माण गर्न पत्रकार विश्वराज पछल्डङ्याको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको छ । सिभिल होममा होमस्टे लगायत थारू संस्कृति झल्किने संरचनासमेत निर्माण गरिने योजना छ । सात बिघा जमिनमध्ये १० कट्ठा अस्पताल र अन्यमा सिभिल होम लगायत पार्किङस्थल, खेल मैदान र बगैँचाको निर्माण गरिने भएको छ ।

थारु समुदायमा ‘सिकलसेल र थालेसेमिया’ रोग विकराल बन्दै जान थालेपछि अस्पताल निर्माणको काम अघि सारिएको पनि अध्यक्ष चौधरीले बताए । साथै थारु समुदायमा रगत जाँच गरेर मात्र विवाह कुण्डली मिलाउन भेरी अस्पताल नेपालगन्जका फिजिसियन तथा सिकलसेल रोगका श्रोत व्यक्ति डा.राजन पाण्डेले सुझाव दिए ।

सिकलसेलबाट सन्तानलाई बचाउनका लागि अनिवार्य रूपमा रगत जाँच गरेर विवाह कुण्डली मिलाउन भनिएको हो । अन्य समुदायमा पनि फाट्टफुट्ट देखिन थालेको सिकलसेल रोग रोकथामका लागि थारु समुदायलाई रगत जाँच गरेर विवाह कुण्डली मिलाउन विशेषज्ञ डाक्टरहरूले सुझाव दिएका छन् ।

यतिबेला बाँकेका थारु गाउँहरुमा ‘कस्ताले कस्तासँग विवाह गर्ने’ भन्ने पम्प्लेट नै छ्याप्छ्याप्ती बाँडिएको छ । सिकलसेल विशेषज्ञ डा.राजन पाण्डेले तयार पारेको विवाह कुण्डलीमा सिकलसेलका बिरामी–बिरामीका बीचमा विवाह गर्नै नमिल्ने उल्लेख छ । ५० प्रतिशत बिरामी र ५० प्रतिशत बाहकले पनि विवाह गर्न नमिल्ने भनिएको छ ।

२५ प्रतिशत सामान्य, २५ प्रतिशत बिरामी र ५० प्रतिशत बाहकका बीचमा विवाह गर्दा पनि सोच विचार गर्नुपर्ने भनिएको छ । सामान्यतया विवाह गर्दा चिना हेर्ने गरिन्छ तर थारु समुदायमा भने रगत जाँच गर्नुपर्ने भएको छ । उनले ५० प्रतिशत सामान्य र ५० प्रतिशत बाहकका बीचमा विवाह गर्न मिल्ने उल्लेख गरे ।

अहिले रोग नदेखिए पनि उनीहरूबाट जन्मेको बच्चामा रोग सर्न सक्नेलाई ‘बाहक’ भन्ने गरिएको भन्दै उनले यसबारे थारु समुदायलाई सचेत गराउन आवश्यक रहेको बताए । सन्तानलाई सिकलसेलबाट बचाउन विवाह पूर्व नै रगत जाँच गरी बाहक पत्ता लगाएर बाहक–बाहकबीच तथा बाहक र रोगीबीच विवाह गर्न नहुने डा.पाण्डेले बताए ।

स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख धीरजंग शाहले बिरामी र बाहक पत्ता लगाएर समुदायमा सचेतनाका जगाउने काम भइरहेको बताए । बाँकेको थारु बाहुल्य गाउँमा यतिबेला बिरामी र बाहक पत्ता लगाउने काम भइरहेको छ । उनले समुदायस्तरमा देखिन थालेको सिकलसेलको बारेमा नियन्त्रण र रोकथामाका निम्ति समुदायमा नै पुगेको चेकजाँच भइरहेको बताए ।

बिरामीका आफन्तहरू भने उपचारमा धेरै खर्च लाग्ने हुँदा सिकलसेल बिरामी तथा आफन्तहरू भने सरकारले बिरामीलाई बाचुन्जेल निःशुल्क औषधि गरिदिनुपर्ने माग गर्छन् । बिरामीका आफन्त रामकृष्ण थारुले निःशुल्क उपचार सरकारले गर्नुपर्ने माग राखे । उनले उपचारका लागि धेरै खर्च लाग्ने भएकोले आफूले उपचार गर्न नसक्ने अवस्था रहेको बताए ।

सरकारले सिकलसेललाई जनस्वास्थ्य समस्या भन्दै पश्चिमका अस्पतालहरूमा जाँच विपन्न नागरिक औषधि उपचार कार्यक्रमअन्तर्गत सिकलसेल एनिमियाका बिरामीलाई १ लाख रुपैयाँ बराबरको निःशुल्क उपचारको व्यवस्था गरेको छ । भेरीमा औषधि खाइरहेका २० जनाको यो औषधिको सीमा सकिन थालेको छ ।

बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, दाङ, कपिलबस्तु लगायतका जिल्लाका थारु समुदायमा सिकलसेल जनस्वास्थ्य समस्याका रुपमा रहेको छ । यतिबेला बाँकेको राप्ती सोनारी गाउँपालिका र कोहलपुर नगरपालिकामा सिकलसेलको परीक्षण र उपचार भइरहेको छ । रगत जाँच गरिएकामध्ये १० देखि १५ प्रतिशतमा सिकलेसलका बिरामी फेला परेका छन् ।

सिकलसेलका रोगीले खाने औषधि नै महंगो छ । सरकारले अत्यावश्यक औषधिको सूचिमा सिकलसेल रोगीको औषधि पनि राखेको छ । तर बीमामा भने समावेश गरिएको छैन । जसका कारण औषधिको सीमा सकिएका बिरामीले बीमाबाट सिकलसेलका लागि चाहिने औषधि पाउन सकेका छैनन् । भेरी अस्पतालमा दैनिक ३ देखि ७ जना थालेसेमियाका बिरामीहरूले रगत चढाउने गरेका छन् ।

यसकारण स्वास्थ्य कार्यालयले बाहक पुरुष र बिरामी महिला तथा बाहक महिला र बिरामी पुरुष बीच विवाह गर्नु नहुने विज्ञहरूको भनाइ छ । स्वास्थ्य कार्यालय बाँकेले भेरी अस्पतालमा हप्तामा सोमवार र बिहीबार निःशुल्क उपचारको व्यवस्था मिलाइएकाले उपचार गर्न आउने बिरामीका लागि बिरामीको कार्ड बनाएर वितरण गरेको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार ११:०९