सूचनाको शक्ति - The Power Of Information

        

पानी परेपछि तराई/मधेसमा केही राहत : धमाधम रोपाइँ हुँदै

पानी परेपछि तराई/मधेसमा केही राहत भएको छ । मनसुन ब्रेक भएको हप्ता दशदिनपछि हिजोदेखि पानी पर्न थालेको छ ।

पानी परेपछि तापक्रम केही घटेको छ भने किसानले धान रोपाइँको काम थालेका छन् । पानी नपर्दा रोपाइँ हुनसकेको थिएन । त्यस्तै यसअघि रोपेको धान रोपोमै पहेँलिँदै जाँदा किसान चिन्तामा परेका थिए । अब केही दिन पानीले साथ दिए रोपाइँको काम सकिने महोत्तरी बर्दिबास–९ पशुपतिनगरका किसान रामविनोद महताेले बताउनुभयो ।

देशभर अहिलेसम्म ६५ प्रतिशत धान रोपाइँ भएको छ । गएको वर्ष असार अन्तिमसम्म झन्डै ७६ प्रतिशत रोपाइँ भएको थियो । विशेषगरी यसपालि प्रदेश-१, मधेस प्रदेश र लुम्बिनी प्रदेशमा मनसुन सक्रिय हुन नसक्दा रोपाइँ प्रभावित भएको हो ।

मलको अभावका कारण पनि किसानले बेलैमा रोपाइँ गर्न नसक्दा यस वर्ष धान उत्पादनमा असर पर्न सक्ने देखिएको छ । कतिपय ठाउँमा साउन महिनाभर नै धान रोपाइँ हुने भएकाले शतप्रतिशत नै रोपाइँ हुने कृषि मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार ०७:३५