सूचनाको शक्ति - The Power Of Information

        

जलवायु

बाँकेमा सबैभन्दा धेरै वर्षा

वर्षा नभएपछि रोपाइँ गर्न नपाएर सबैभन्दा बढी पीडित बनेका किसानहरु बुधबार बिहानदेखि परेको ठूलो वर्षाबाट खुशी भएका छन् ।

बुधबार देशभर सबैभन्दा बढी वर्षा बाँके जिल्लामा मापन गरिएको छ । जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र, बाँकेले देशभर बुधबार सबैभन्दा बढी वर्षा बाँकेको खजुरामा भएको जनाएको छ ।

जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र बाँकेका सूचना अधिकृत रुपन ज्ञवालीले मौसम पूर्वानुमान शाखाले गरेको मापन अनुसार खजुरामा बुधबार बिहान ३ घण्टा परेको मुसलधारे वर्षा १५५ मिलिलिटर मापन गरेको जनाएको हो ।

यो वर्षा यस वर्षको हालसम्मकै सबैभन्दा बढी वर्षा भएको सूचना अधिकृत ज्ञवालीले बताए । उनका अनुसार बाँकेको नेपालगन्जमा बुधबार बिहान १ घण्टाको अवधिमा ८६ मिलिलिटर र कोहलपुरको ढकेरीमा ९६ मिलिलिटर पानी परेको छ ।

अहिले पनि बाँके र बर्दियामा निरन्तर वर्षा भइरहेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्नेहरुले सचेत भएर बस्नुपर्ने तथा अन्य डुबान क्षेत्रका बासिन्दाले पनि सुरक्षित क्षेत्रतर्फ जानुपर्ने अवस्था रहेको पनि सूचना अधिकृत ज्ञवालीले बताए ।

बुधबार बिहानबाट परेको अविरल वर्षाले बाँकेको कोहलपुरका केही क्षेत्र र नेपालगन्जका केही क्षेत्र जलमग्न भएका छन् । सडक अग्लो भएको क्षेत्रमा दर्जनौं घर र पसलमा पानी पसेको छ भने नालाको निकास अवरुद्ध भएको ठाउँमा पानी जमेर डुबानको अवस्था बनेको छ ।

नाला सफा गर्ने कार्य निरन्तर भइरहेकाले पानी तीव्र गतिमा शहरबाट बाहिरतिर निस्किरहेको नेपालगन्जका उपप्रमुख कमरुद्दीन राईले बताए । उनका अनुसार केही घण्टामै डुवान क्षेत्रमा जमेको पानी निस्किने गरी उपमहानगरले काम गरिरहेको छ ।

किसानलाई सबैभन्दा बढी राहत

साउनको पहिलो सातासम्म पनि वर्षा नभएपछि रोपाइँ गर्न नपाएर सबैभन्दा बढी पीडित बनेका किसानहरु बुधबार बिहानदेखि परेको ठूलो वर्षाबाट खुशी भएका छन् ।

वर्षा नहुँदा ब्याड सुकिरहेको र खेतमा धाँजा फाटिसकेको बेला पानी परेपछि अब रोपाइँ हुने र रोपाइँ भइसकेको खेतको धान जोगिने आशा पलाएको बाँके खजुराका किसान रामचन्द्र थापाले बताए ।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार १६:०४