सूचनाको शक्ति - The Power Of Information

        

पहिरोले घर भत्किँदा एक परिवार विस्थापित, १४ पशुचौपाया मरे

फाइल तस्वीर

वर्षा शुरु भएसँगै बझाङका विभिन्न स्थानमा पहिरोले क्षति पुर्याउन थालेको छ । केदारस्युँ गाउँपालिका–७ भामचौर गाउँमा पहिरोले स्थानीय सिङ्गो धामीको घरमा क्षति पुर्याएको स्थानीय रुमला जाग्री धामीले बताइन् ।

गएराति घरमाथिबाट खसेको पहिरोले धामीको एक घर पुरेको छ भने एक घर जोखिममा रहेको छ । उनले भनिन्, ‘बस्तीमाथिबाट खसेको पहिरोले सो ठाउँका २ घर जोखिममा परेका छन् ।’ पहिरोले घरमा क्षति पुर्याएपछि सिङ्गो धामीका परिवार विस्थापित भएर अहिले छिमेकीको घरमा बसिरहेका छन् ।

यस्तै साइपाल गाउँपालिका–२ धलौनमा गएरातिको वर्षा संगै आएको पहिरोले दलजित बोहराका ६ वटा पशुचौपायासहित गोठ, साइपाल गाउँपालिका–१ जिमाका प्यारु कामीको गाइगोठसहित ५ पशुचौपाया च्यापिएर मरेको स्थानीय बसन्त बोहराले जानकारी दिए ।

गाउँमाथिबाट पहिरो खस्न थालेपछि साइपाल गाउापालिका–२ धलौनका १८ घर र साइपाल गाउँपालिका–३ काँडाका ५ घर पहिरोको उच्च जोखिममा रहेको र केहि परिवार पहिरोको डरले विध्यालयमा सरेको समेत बोहराले बताए ।

तलकोट गाउँपालिका रुपातोलाका धनकृष्ण खत्रीका खाद्यान्न बोकेर साइपाल गाउँपालिकामा लगेका तीन वटा खच्चड पहिराले च्यापिएर मरेका छन् भने एउटा घाइते रहेको छ । साइपाल गाउँपालिका–२ काँकरकोटमा बाँस बसालेका खच्चड मंगलबार राति आएको अविरल बर्षासँगै आएको पहिराले च्यापिएर मरेका हुन् ।

अहिले विस्थापित परिवारलाई पाल, प्लाष्टिक लगायतको जोहो गर्न लागेको गाउँपालिका अध्यक्ष मानबहादुर बोहराले बताए । साइपाल गाउँपालिकामा दर्जन बढी भौतिक संरचनामा समेत क्षति भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार १५:५१