सूचनाको शक्ति - The Power Of Information

        

जन्मेको दुई वर्ष नपुग्दै महिनावारी !

उनी दुई वर्ष पनि पुगेकी थिइनन् तर महिनावारी भइन् । सात वर्ष पुग्नै लाग्दा शरीर एक युवतीको जस्तै परिपक्व हुन थालिसकेको थियो । यसैकारण उनका सहपाठी र साथीभाइका अभिभावकले उनलाई भिन्न दृष्टिकोणले हेर्ने गर्दथे । अन्य साथीभन्दा भिन्न छु भन्ने लागेपछि उनलाई पनि असजिलो, अप्ठेरो महसुस हुन थाल्यो ।

उनी धेरैजसो तनावमा रहन थालिन् । यो कहानी हो हाल २३ वर्ष पुगेकी लिजा लुइसको । लिजा असामयिक प्युबर्टीबाट ग्रसित छिन् । लिजाले अब आफ्नो कहानी विश्वमाझ साझा गर्ने सोच बनाएकी छिन् । अमेरिकाको सर्वोच्च अदालतद्वारा गर्भपतन सम्बन्धी अधिकार समाप्त हुने गरी फैसला गरेपछि उनी विशेष चर्चामा आएकी छिन् ।

उनले आफ्नो अवस्थालाई वर्णन गर्दै सर्वोच्चको फैसलाको विरोध गरेकी थिइन् । असामयिक प्युबर्टी निकै दुर्लभ स्थिति हो । यो स्थितिमा बच्चाको शरीर समय अगावै विकसित हुन थाल्छ । यहाँसम्म कि हिँड्न जान्नु अघि नै । जन्मिएको डेढ वर्षपछि नै लिजाको शरीर वयस्कको जस्तो परिपक्व हुन थालेको थियो । प्राथमिक विद्यालयमा नै उनको नियमित महिनावारी सुरु भइसकेको थियो ।

८ वर्षको उमेरदेखि नै उनले वयस्कले झैँ ब्रा लगाउनु पर्दथ्यो । बेलायतको न्युक्यासलमा बस्ने २३ वर्षकी कस्टमर सर्भिस वर्कर लिजा लुईसले यो स्थितिका कारण उनका सहपाठीले उनलाई नराम्रोसँग जिस्काउने स्मरण गरिन् । लिजाले भनिन्, ‘म अरुभन्दा अलि बढी नै विकसित थिएँ । मेरो स्तनको आकार निकै बढिसकेको थियो । ७ वर्षको उमेरदेखि नै यो स्पष्ट रुपमा देखिन थालिसकेको थियो ।’

‘प्राथमिक विद्यालयमा पढ्दै गर्दा स्कूलसँगै स्विमिङका लागि पनि जाने गर्दथेँ । त्यतिबेला चेन्जिङ रुममा ममाथि लगातार कमेन्ट भइरहन्थ्यो । केटाहरुले ममाथि ब्रेस्ट इम्प्लान्टको आरोप लगाउँथे तर म एउटी सानी बच्ची थिएँ । अरु बच्चाका अभिभावकले पनि मलाई घुरेर हेर्थे, नानाथरी भन्थे,’ उनले स्मरण गरिन् । लिजा १८ महिनाको हुँदा उनकी आमाले छोरीको यौनाङ्गबाट रगत निस्किेको देखेकी थिइन् ।

यो देख्दा उनकी आमा निकै चिन्तित भएकी थिइन्, डाक्टरले उनलाई तत्काल अस्पताल पुर्याए । लिजाले भनिन्, ‘मेरो रक्तश्राव असामान्य रुपमा सुरु भएको थियो त्यसैले मेरा अभिभावकले मलाई डाक्टर भएठाउँ लिएर गए । डाक्टरले मेरा अभिभावकलाई यो प्रिकोसियस प्युबर्टी (असामयिक प्युबर्टी) का कारण भएको हो कि भन्ने प्रारम्भिक जानकारी दिए । परीक्षणपछि त्यस्तै रहेछ भन्ने पुष्टि भयो । म एक वयस्क महिला झैँ महिनावारी हुन थालिसकेको थिएँ ।’

लिजाले आफ्ना अभिभावकले असाध्यै धेरै सपोर्ट गर्ने भएकोले आफूले कहिल्यै एक्लो महसुस नगरेको बताइन् । उनले भनिन्, ‘मेरा अभिभावकले शरीरमा भइरहेको परिवर्तनलाई साधारण तरिकाले स्वीकार गर्न सिकाउनुभयो । मलाई त्यतिबेला जे जति सहयोगको आवश्यकता थियो, ती सबै उपलब्ध गराउनुभयो ।’ ‘विद्यालयले पनि मेरा लागि प्याड राखिदिन्थ्यो । मैले आफैँलाई बुझ्न विद्यालयले पनि अत्यधिक सहयोग गरेको थियो ।’

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार १४:१७