सूचनाको शक्ति - The Power Of Information

        

कार्यकर्तासँग ओलीको आक्रोस : वडा कमिटीमा ३९ जना, भोट २४ मात्रै ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा पार्टीभित्रैको अन्तर्घातले हार्नुपरेको बताएका छन् । एमालेको बागमती प्रदेशस्तरीय पार्टी कार्यकर्ता भेलालाई काठमाडौंमा बुधबार सम्बोधन गर्दै उनले पाँच दलीय गठबन्धनले भन्दा एमालेकै कारण दोस्रो दल हुनुपरेको बताएका छन् ।

उनले एमाले कार्यकर्ताहरूमाथि आक्रोश पोख्दै कमिटीमा बसेकाहरुले समेत पार्टीलाई भोट नदिएको बताएका छन् । ‘हाम्रो वडा कमिटी ३९ जनाको छ तर भोट चाहिँ २४ मात्रै आयो ?,’ उनले स्थानीय तह निर्वाचन परिणामतिर लक्षित गर्दै भने, ‘योभन्दा घटिया केही हुन्छ ? वडा कमिटीमा ३९ जना बसेर २४ जनाले मात्रै भोट हाल्ने ? म पार्टीलाई भोट हाल्न सक्दिनँ भन्नेहरुले राजीनामा दिए हुन्छ ।’

उनले बागमती प्रदेशको प्रशिक्षणमा पनि त्यस्ता कार्यकर्ता आएको हुन सक्ने बताए । ‘पार्टीको वडा कमिटीमा मात्रै ३९ जनाको छ । तर भोट आधी पनि आएन । त्यसो गर्नेहरु पनि यहाँ आउनुभएको होला । यस्तो पार्टीले गरिखाँदैन, यसरी पार्टी चल्दैन,’ उनले भने, ‘मति राम्रो भएन भने खतरनाक हुन्छ । एमालेको कमिटीमा बसेर अरुलाई भोट हाल्ने हुँदैन । आफ्नै पार्टीविरुद्ध प्रचार र क्रियाकलाप गर्ने ? तपाईंहरुलाई त्यस्तो नलाग्ला तर परिणामले सबैका कान–कानमा भनेको छ ।’

उनले आक्रोश व्यक्त गर्दै निर्वाचनमा ’टिकट पाए जित्छु टिकट नपाए जिताउँछु’ भनेकाहरूले नै अन्तरघात गरेको बताए । निर्वाचन अगाडि ‘टिकट पाए जित्छु टिकट नपाए जिताउँछु भन्थे,’ अध्यक्ष ओलीले प्रशिक्षण कार्यक्रममा आक्रोशित हुँदै भने, ‘तर टिकट पाए जित्छु, नपाए जिताउँछु भन्नेहरु हराउँछु भनेर आफ्नै पार्टीविरुद्ध लागे ।’

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार १४:०१