सूचनाको शक्ति - The Power Of Information

        

जलवायु

लुम्बिनी प्रदेशमा भारी वर्षा

दिउँसो मधेसदेखि सुदूरपश्चिम प्रदेशसम्म भारी वर्षाको सम्भावना

फाइल तस्वीर

देशका केही स्थानमा आज बिहान मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशको एकदुई स्थानमा भारी वर्षा भइरहेको छ ।

आज दिउँसो सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, वाग्मती र मधेस प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशको पहाडी भू–भागका धेरै स्थानमा र अन्य भू–भागका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।

भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदी, नाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्रसमेत प्रभावित हुनसक्ने भएकोले सतर्कता अपनाउन विभागको आग्रह छ ।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार ०६:४०