निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाकै नेतृत्वमा सर्वोच्च अदालतको भवन निर्माणको ठेक्कामा करिब डेढ अर्ब अनियमितता भएको पुष्टि भएको छ । एकमात्र कम्पनीलाई मिल्नेगरी ठेक्काको ‘स्पेशिफिकेसन’ बनाएर सेटिङ मिलाइएको महालेखा परीक्षकको कार्यालयले समेत निष्कर्ष निकालेको छ ।
ठेक्कामा प्रधानन्यायाधीश राणाले कानुन मिचेको महालेखाको ठहर छ । भ्रष्टाचार मुद्दा परेको कम्पनी ठेक्का प्रक्रियामा भाग लिन नपाउनेमा निलम्बित प्रधानन्यायाधीश राणाले ठाडो निर्णय गरेर समावेश गराएका थिए । ठेक्का पाएकामध्ये कालिका कन्स्ट्रक्सनविरुद्ध भ्रष्टाचार मुद्दा दायर भइसकेको थियो ।
त्यस्तो कम्पनीलाई बोलपत्र मूल्यांकनविरुद्ध हटाउने प्रावधान बोलपत्र कागजको बोलपत्र मूल्यांकन खण्डको ३०.६ मा भए पनि प्रधानन्यायाधीश राणाले नै कानुनको ठाडो उल्लंघन गरी ठेक्काप्रक्रियामा समावेश गराउने निर्णय गरेकोमा महालेखाले प्रश्न उठाएको हो । यो विषयमा विवाद भएपछि सुरुमा सर्वाेच्चले २७ माघ ०७७ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग राय लिएर आफु जोगिने प्रयास गरेको थियो ।
सेटिङको गन्ध पाएपछि प्रधानमन्त्री कार्यालयले त्यहाँबाटै निर्णय गर्न भनेर फाइल फर्काएपछि ३ फागुन ०७७ मा राणाले ठेक्का प्रक्रियामा समावेश गराउने निर्णय गराएका थिए । प्रधानन्यायाधीशबाटै कानुनको ठाडो उल्लंघन भएको यो घटनाले न्यायालयकै शिर निहुरिएको छ । महालेखाको प्रतिवेदन सार्वजनिक भएसँगै सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दिपककुमार कार्कीले अख्तियारलाई पत्र लेखेर कारबाही अगाडि बढाउन आग्रह गरेको अख्तियार स्रोतले बताएको छ ।
यस विषयमा एक वर्ष अगाडिदेखि अख्तियारले छानबिन गर्ने भने पनि सर्वोच्च अदालतका तत्कालीन रजिस्टारले प्रधानन्यायाधीश राणामाथि छानबिन गर्न संविधानले मिल्दैन भनेर रोकेका थिए । अब, महालेखाको प्रतिवेदन सार्वजनिक भएपछि अख्तियारलाई भ्रष्टाचारको आरोपमा निलम्बित प्रधानन्यायाधीश राणामाथि छानबिन गरेर मुद्धा चलाउने बाटो खुलेको छ । पाँच अर्ब ८७ लाख ६ हजार रुपैयाँको सो ठेक्का ०७७ को चैतमा बिनापुरी–कालिका–समानान्तर जेभीलाई दिइएको थियो ।
प्रतिस्पर्धा हुन नसक्दा स्वीकृत लागत अनुमानको ०.३९ प्रतिशत मात्र न्यून रकममा ठेक्का स्वीकृत भएकाले खरिद प्रक्रिया प्रतिस्पर्धी र पारदर्शी नभएको महालेखाको ५९औँ प्रतिवेदनमा उल्लेख छ । निर्माण व्यवसायीका अनुसार स्वतन्त्र रुपमा प्रतिस्पर्धा हुँदा लागत अनुमानभन्दा करिब २५ प्रतिशत कममा ठेक्का लाग्ने गर्दछ । जसअनुसार यो ठेक्कामा सवा अर्ब रुपैयाँ बढी खर्च भएको छ । त्यो पैसा सेटिङमा खर्च भएको थियो । सेटिङका नाइके राणा आफैं थिए ।
भक्तपुर जिल्ला अदालतको भवन निर्माणमा पनि त्यस्तै सेटिङ भएको थियो । दुई वटा ठेक्कामा पनि डेढ अर्ब रुपैयाँ नोक्सान भएको महालेखाको प्रतिवेदनले समेत देखाएको छ । अचम्म के छ भने, कानूनको ठाडो उल्लंघन गरेर भएको यो ठेक्काको अझै विस्तृत छानबिन हुन सकेको छैन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वाेच्चसँग यसबारे कागजपत्र मगाएपछि चलखेलकै कारण छानबिन रोक्ने प्रयास भइरहेको छ ।
जबकी, काठमाडौं महानगरपालिकाको भवन निर्माणको ठेक्कामा आयोगले पाँच महिनाभित्रै मुद्दा दायर गरेको थियो । सर्वाेच्चको ठेक्कामा त भ्रष्टाचारमा मुछिएको कम्पनीलाई ठेक्का दिएरै सिधैं कानुनको उल्लंघन भएको छ । तर, पनि राज्यका निकायहरू मौन छन् । सर्वाेच्च अदालत आफैंले पनि यो विषयमा छानबिन गरिरहेको भए पनि तीव्रता पाउन सकेको छैन । एउटा कम्पनीलाई मात्र मिल्ने प्रावधान राखेर ठेक्का दिएको र यसबाट खरिद कार्य प्रतिस्पर्धात्मक र मितव्ययी हुन नसकेको महालेखाको निचोडले ठेक्का रद्द गर्ने बाटो पनि खुलेको छ ।
‘निर्माण व्यवसायीसँग विद्यमान रहेका कागजातसमेत विद्युतीय खरिद प्रणालीमा पेस नगरेका कारण निजहरूको बोलपत्र अप्रभावग्राही भई प्रतिस्पर्धा संकुचित भएकाले खरिद कार्य मितव्ययी भएको मान्न सकिने आधार भएन,’ प्रतिवेदनमा भनिएको छ, ‘एकमात्र बोलपत्र न्यूनतम मूल्यांकित सारभूत रूपमा प्रभावग्राही मानेर स्वीकृत गर्दा प्रतिस्पर्धा सीमित भई निर्माण कार्यको स्वीकृत लागत अनुमानको हाराहारी अर्थात् ०.३९ प्रतिशत मात्र न्यून रकमको ठेक्का स्वीकृत भएकाले खरिद कार्य प्रतिस्पर्धी एवं मितव्ययी भन्न सकिने अवस्था रहेन ।’
सर्वाेच्चको भवन ठेक्कामा तीनवटा कम्पनी अन्तिम प्रतिस्पर्धामा थिए । उनीहरूमध्ये दुई वटालाई प्राविधिकरूपमै अयोग्य बनाई बिनापुरी–कालिका–समानान्तर जेभीलाई मात्र मिल्ने प्रावधान राखिएको थियो । विदेशी साझेदारको पाँच वर्षको वित्तीय विवरण पेस गर्नुपर्ने तथा वार्षिक टर्नओभरको प्रावधानमा दुईवटा बोलपत्रदाता फालिएपछि सो कम्पनीले लागत अनुमान बराबर नै प्रस्ताव गर्दा पनि ठेक्का पाएको हो । उसलाई महंगो रेटमा ठेक्का दिएर गरिब देशको ढुकुटीमा राणा र उनी निकट गिरोहले धावा बोलेको हो ।
सर्वोच्चको नयाँ भवन निर्माणका लागि १९ चैत ०७७ मा ठेक्का लगाइएपछि यसविरुद्ध अख्तियारमा पनि उजुरी परेको थियो । अख्तियारले कागजपत्र मगाएर छानबिन गरिरहेको प्रवक्ता श्यामप्रसाद भण्डारी बताउँछन् । एक अर्बभन्दा बढीको ठेक्का प्रकाशित गर्दा ३० दिनको मात्र समय दिएको, चार अर्बमा निर्माण हुन सक्ने भनी सर्वोच्चकै समितिले दिएको प्रतिवेदन लुकाई पाँच अर्बको लागत प्रस्ताव स्वीकृत गरेको, पाँच अर्बभन्दा बढी लागत अनुमान हुँदा ठेक्काका लागि सीधै अन्तर्राष्ट्रिय बोलपत्रमा जानुपर्नेमा ज्वाइन्ट भेन्चर कम्पनीलाई जिम्मा दिइएकोजस्ता विविध व्यवस्था मिचेर निश्चित कम्पनीलाई छानिएको थियो ।
यो ठेक्काभन्दा अघि सर्वोच्च अदालत व्यवस्थापन समिति (भौतिक निर्माण)का अध्यक्ष हरिकृष्ण कार्की र सदस्यमा सपना प्रधान मल्ल थिए । यही ठेक्काका लागि राणाले दुवै जनाको जिम्मेवारी खोसेर त्यसको सबै अधिकार आफैं लिएका थिए । यसमा मुख्य रजिस्ट्रार लालबहादुर कुँवरलाई राणाले हातमा लिएका थिए । त्यसकारण कुँवरमाथि पनि छानबिनको माग यतिबेला उठिरहेको छ । तर, उनलाई कारबाही नगरी उच्च अदालतको न्यायाधीश बनाइएकोमा उनी मुख्य न्यायाधीश नै पद बार्गेनिङ गरी हाजिर भएका छैनन् ।
महिनौंदेखि बिदामा रहेका उनलाई अख्तियारले पनि बयानमा बोलाउने तयारी गरेको छ । यो ठेक्कामा जग खन्ने विषयमा पनि करोडौं गोलमाल भएको छ । ठेक्का दिँदा कामदारबाट खनाउने प्रावधान थियो । सिंहदरबार क्षेत्रभित्र भएकाले एक्साभेटर प्रयोग गर्दा अन्य भवनलाई समेत असर पर्न सक्ने भनेर परामर्शदाताले त्यस्तो प्रावधान राखेका थिए । तर, पछि जग खन्दा एक्साभेटर नै प्रयोग भएको छ । यसमा मात्रै करिब पाँच करोड रुपैयाँ तलमाथि पर्ने स्रोत बताउँछ ।
त्यसो त शहरी विकास विभागबाट गराउन सकिने परामर्शको काम पनि राणाले आफैं परामर्शदाता नियुक्त गरेका थिए । जसअनुसार आफु अनुकुल स्पेशिफिकेसन बनाएर न्यायलयको मन्दिर भनिने सर्वाेच्चबाटै राज्यको ढुकुटी लुट्ने काम भएको थियो । परामर्श नियुक्तिमा पनि महालेखाले प्रश्न उठाएको छ । जिल्ला अदालत भक्तपुरको भवन निर्माणमा पनि महालेखाले अनियमितता औंल्याएको छ । यो ठेक्का पनि सर्वाेच्चमा ठेक्का पाएको समानान्तरले पाएको थियो ।
सो कम्पनीलाई मात्र मिल्ने प्रावधान राखेर अनियमितता भएको आरोप लागेको छ । सो ठेक्का पनि लागत अनुमानभन्दा ०.१९ प्रतिशत मात्र न्यून रकममा लागेको थियो । प्रतिस्पर्धा नहुँदा एक अर्ब २१ करोड २८ लाख रुपैयाँ बराबरको यो ठेक्कामा पनि राज्यलाई करोडौँ नोक्सानी भएको निर्माण व्यवसायीले बताएका छन् । समानान्तरका सञ्चालक अच्युत खरेल र कालिका कन्ट्रक्सनका सञ्चालक बिक्रम पाण्डे पनि यो सेटिङकोे छानबिनमा तानिएका छन् ।
भ्रष्टाचार लगायत घटनामा संलग्न भएको आरोपमा राणामाथि १ फागुनमा संसदमा महाअभियोग दर्ता भएको थियो । भ्रष्टाचार आरोपमा महाअभियोग दर्ता हुँदा पनि राणा अझै सरकारी निवासमै बसेर चलखेल गरिरहेका छन् । पदमा हुँदा कमाएको अरबौं परिचालन गरी उनी चलखेलमा लागेको स्रोत बताउँछ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले राणा र उनको गिरोहको सम्पत्ति छानबिन थालेपछि उनले पैसा विदेशमा लगिरहेको स्रोतको दाबी छ ।
सत्यपाटी । काठमाडौं ।