सूचनाको शक्ति - The Power Of Information

        

किसानलाई खडेरीको सकस

बर्षा नहुँदा बाँकेमा ५५ प्रतिशत खेत बाँझै, किसान चिन्तित

जिल्लामा ४५ प्रतिशत धान रोपाइँ भए पनि मनसुनी वर्षा नहुँदा अधिकांश खेतमा धाँजा पर्न थालेको छ ।

साउन महिनाको पहिलो सातासम्ममा पनि बाँकेमा मनसुन सक्रिय नहुँदा बियाड सुक्ने र खेतबारीमा धाँजा फाँट्न थालेको छ । साउन शुरु भैसक्दा समेत वर्षा नहुँदा बाँकेमा हालसम्म ५५ प्रतिशतभन्दा बढी खेत बाँझै छन् ।

जिल्लामा हालसम्म ४५ प्रतिशत मात्रै रोपाई सकिएको कृषि ज्ञान केन्द्र नेपालगन्जले जनाएको छ । सबैभन्दा बढी रोपाई सिक्टाको नहरले धेरै ठाउँ छोएको राप्तीसोनारी गाउँपालिकामा भएको केन्द्रले जनाएको छ ।

नहरका कारण राप्तीसोनारीमा सबैभन्दा बढी ८५ प्रतिशत रोपाई भएको र नरैनापुर गाउँपालिकामा सिँचाइ सुविधा नहुँदा हालसम्म ५ प्रतिशत मात्रै रोपाई भएको केन्द्र नेपालगन्जका प्रमुख सागर ढकालले बताए ।

उनले गतवर्ष यो समयमा बाँकेमा करिब ९७ प्रतिशत रोपाइँ सम्पन्न भैसकेकोमा अहिले ४५ प्रतिशत रोपाइँ भएको बताए । प्रमुख ढकालका अनुसार जिल्लामा ४५ प्रतिशत धान रोपाइँ भए पनि मनसुनी वर्षा नहुँदा अधिकांश खेतमा धाँजा पर्न थालेको छ ।

जसोतसो रोपाइँ गरेको धान खेत सुक्दै गएपछि धाँजा परेको हो । वर्षा नहुँदा नरैनापुर ४ का नरेश बर्माको बोरिङ गरेर रोपाइँ भएको खेत पनि धाँजा फाटेर चिरिएको छ । आकाशे पानी नपरेसम्म धान उत्पादन हुन नसक्ने बर्माले गुनासो गरे ।

उनले बियाड समेत सुकेर कामै नलाग्ने हुन लागेको बताए । केहीदिन वर्षा नभए धान उत्पादन धेरै कम हुने उनको भनाइ छ । साउनको पहिलो सातासम्म पानी नपरेकाले करिब १५ प्रतिशत धान उत्पादनमा कमी आउने केन्द्र नेपालगन्जको अनुमान छ । सो कार्यालयका अनुसार किसानले लगाएको धान मर्न थालेकोले लगानी खेर जाने देखिएको उनले बताए ।

आकाशे पानीको भरमा रोपाइ गर्ने किसान चिन्तामा छन् । धान खेतीका लागि पर्याप्त पानी चाहिने बेलामै वर्षा नभएपछि जिल्लाका अधिकांश स्थानको रोपाइँ प्रभावित भएको जनाउँदै डुडुवाका किसान जगदीश मौर्यले अत्यधिक गर्मी र पानी अभावका कारण जेनतेन लगाएको धान पनि सुक्न थालेको बताए ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलवार ०९:४३