सूचनाको शक्ति - The Power Of Information

        

व्यक्तित्व

अनुकरणीय व्यक्तित्व : निर्मलजंग पाण्डे

भुईँबाट पलाएका नेताले ऐस आरामले जनतालाई झन् गरिब बनाएको उहाँलाई पटक्कै मन पर्दैनथ्यो ।

दुनियाँमा धेरै चिनिन्छन्, तर मनमा थोरै मान्छे बस्छन् । मनमा बस्नेले गहिरो छाप छोडेर गएका हुन्छन् । आज म मनमा बस्ने मान्छेको कुरा गर्दैछु, जसले जीवन देखाएको हुन्छ, जीवनप्रतिको उत्साह बताएको हुन्छ । अनि, आफूले संगालेको अनुभवको पाठशाला छोडेर गएको हुन्छ । हो, म आज तिनै दिग्गज व्यक्तित्वको सम्झना गर्दैछु । उहाँ हुनुहुन्छ, मेरो हजुरबुवा अर्थात धर्मबुवा । सन्दर्भः साउन, पहिलो साता । हो, यही समयमा सँधैको लागि टाढिनु भएका धर्मबुवालाई म यसरी सम्झन्छु,

बि.सं. १९९६ साउन ९ गते नुवाकोटको दरवार मण्डलामा जन्मनुभएका निर्मलजंग पाण्डेले प्राथमिक शिक्षा हाँसिल गर्नुभएको थियो । सानै उमेरमा सामाजिक सेवामा लाग्नुभएको थियो । उहाँ तत्कालीन श्री भैरवी गाउँ पञ्चायतको पूर्वप्रधानपञ्च हुनुहुन्थ्यो, साथै श्री भैरवी माध्यामिक विद्यालयका अध्यक्ष पनि । यस विद्यालयको स्थापनामा उहाँको ठूलो भूमिका रहेको स्वर्गीय गुरु श्यामसुन्दर श्रेष्ठ बताउनुहुन्थ्यो । आफ्नो कर्मथलोलाई औधी माया गर्ने पाण्डे बिभिन्न सामाजिक संस्थाहरुमा क्रियाशील हुनुहुन्थ्यो । समाजप्रति उहाँको गहिरो लगाव थियो । समाजको भलो गर्न सँधै तम्तयार अवस्थामा रहनुहुन्थ्यो । उहाँ शैक्षिक, राजनीतिक, सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय हुनुहुन्थ्यो ।

पाण्डेले बि.सं. २०५० देखि ‘हरियो बन नेपालको धन’ भन्ने राष्ट्रिय नारालाई आत्मसात गरी सामुदायिक बनको अध्यक्षको भूमिका निर्वाह गर्नुभएको थियो । जलवायु परिवर्तनले वातावरणमा पारेको प्रतिकूल प्रभावबारे उहाँ चिन्तित हुनुहुन्थ्यो । यही कार्यको प्रशंसा गर्दै जिल्ला बन कार्यालय नुवाकोटले उहाँलाई सम्मान पनि गरेको थियो । उहाँ कसैको आँखामा नबिझाउने सँधै सबैको भलो चाहने ब्यक्तिको रुपमा परिचित हुनुहुन्थ्यो । स्वर्गीय राजा बिरेन्द्र शाहबाट शुभराज्याभिषेक पदकसमेत प्राप्त गर्नुभएको थियो । उहाँले समाजको विकासको लागि ब्यक्तिगत रुपमा पनि धेरै प्रयन्त गर्नुभयो ।

उहाँको निधनले एउटा समाजको मात्र नभई एक राष्ट्रबादी ब्यक्तित्व गुमाएको महसुस हामी सबैले गरेका छौँ । उहाँ निर्भिक, निडर ब्यक्ति हुनुहुन्थ्यो । समाजको सकारात्मक हितको लागि आफ्नो ज्यान बाजी राख्नु परे पनि पछि नहट्ने ब्यक्तित्व हुनुहुन्थ्यो । गाउँफर्क अभियान भन्दाअघि जिसिङ खड्कालाई हराएर उहाँले दुईपटक प्रधानपञ्च जित्नुभएको थियो । राष्ट्रियस्तरका नेतालाई हराउनु चानचुने कुरा थिएन त्यो बखत । त्यतिबेला उहाँलाई जिल्लामै बरिष्ठ प्रधानपञ्चको रुपमा चिनिने गरिएको पाण्डेका सहपाठीहरु बताउँछन् । पाण्डेले स्थानीयस्तरमा जिसिङ खड्कालाई हराए पनि उहाँको अञ्चल तहमा ठूलो प्रभाव रहेको मान्नेहरु पनि छन् । पहिलो कार्यकालमा आफ्नो जग्गा जमिन लगायत अन्य सम्पत्ति सकेपछि परिवारसहित उहाँ चितवन जानुभएको थियो ।

केही समयपश्चात नुवाकोटे नागरिकको अग्रसरतामा तकालीन जिल्ला पञ्चायत प्रमुख होमबहादुर महतसहितका टोली पुगेर उहाँसहित परिवारलाई नुवाकोटमा नै फर्काएका थिए । उहाँलाई फर्काउनुमा जिसिङ खड्काको पनि महत्वपूर्ण हात रहेको पाइन्छ । यस पश्चात पुनः निर्विरोध प्रधानपञ्च निर्वाचित हुनुभएको थियो । असल, परोपकारीका साथै उहाँ जिल्लामा हक्की स्वभाव र प्रतिष्ठित ब्यक्तिको रुपमा अन्तिम अवस्थासम्म परिचित हुनु हुन्थ्यो । कसैको प्रलोभनमा नपर्ने ब्यक्ति हुनुहुन्थ्यो । अरुको दुःख देख्नै नसक्ने, आफूसँग जे छ त्यही वा आफूसँग नभए अरुसँग सापट लिएर भए पनि दिने उहाँको बानी थियो । यसकारण उहाँ आर्थिकरुपमा टाट नै पल्टिनुभएको थियो । अरुको दुःखमा आफ्नै जग्गाजमिन समेत रजिष्ट्र«ेसन गरिदिने उहाँको बानी थियो । आर्थिकरुपमा कमजोर बन्दै गएपछि राजनीतिक करियर पनि समाप्त हुन पुग्यो उहाँको ।

नेताहरुले जनतालाई दिएका दुःख, हेलचेक्र्याई उहाँलाई कदापी मन पर्दैनथ्यो । भुईँबाट पलाएका नेताले ऐस आरामले जनतालाई झन् गरिब बनाएको उहाँलाई पटक्कै मन पर्दैनथ्यो । जुन भूमिकामा रहे पनि उहाँले इमान्दारिपूर्वक आफ्नो दायित्व निर्वाह गर्नुभयो । कहिल्यै बिचलित नहुने दृढताकै कारण उहाँले आफ्नो छुट्टै छवी निर्माण गर्नुभएको थियो । विभिन्न सामाजिक संस्थामा आवद्ध पाण्डे सबैको भरोसा र विश्वासको धरोहर बनेर बाँच्नुभयो । यिनै सत्यकर्मका कारण उहाँ आज मरेर पनि हामीबीच जीवितै हुनुहुन्छ । गरिब तथा दिनदुःखीको हमेसा साथमा रहनुपर्छ भन्ने उहाँको दृढता थियो । तपाईप्रति सम्मान अर्पण गर्ने धेरै ब्यक्ति छन् ।

कुनै नयाँ गाउँमा जाँदा हजुरलाई बुवा भनेर चिनाउन पाउँदा त्यसै गर्ब महसुस हुन्छ । हजुरको नाम लिँदा हाम्रा प्रधानपञ्च काजीका सन्तान’पो हुन भन्ने गरिन्छ । हजुरले असल कार्य गर्न सिकाउनु भएको छ । सँगसँंगै हजुरले घुँयत्रो हान्न सिकाएको आजै जस्तो लाग्छ । म पनि अहिले हजुरले जत्तिकै हान्न सक्ने भएको छु । हजुरले देखाउनुभएको बाटोमै छु, रहिरहनेछु । मेरो लागि पाण्डे हजुरबुवा मात्र होइन, आदर्श ब्यक्तित्व पनि हुनुहुन्छ । बुवा मेरो लागि साथी जस्तै हुनुहुन्थ्यो । बुवाको त्याग र समर्पण सदैव समाजको हीतको लागि हुन्थ्यो । यस्तै हीतकारी बाटोमा हिँड्न तपाईँ मेरो प्रेरणाको स्रोत हुनुहुन्छ । तपाईले नै देखाएको बाटोमा हिँड्न सकूँ, सम्झनासहित हार्दिक श्रद्धाञ्जली पाण्डे हजुरबुवा ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार १०:२१

सिफारिस