सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्ज उपमहानगरमा महिनाको पहिलो दिन सरकारी गाडी नचल्ने

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट आईतबार विद्युतीय अटोरिक्सामा कार्यालय जाँदै ।

इन्धनमा मितब्ययिता कायम राख्ने उद्देश्यले नेपालगन्ज उपमहानगरपालिकाले हरेक महिनाको १ गते जनप्रतिनिधी र कर्मचारीले इन्धन प्रयोग हुने सवारी साधन प्रयोग नगर्ने नीति कार्यान्वयनमा ल्याएको छ ।

उपमहानगरपालिकाको नगरसभाले हालै गरेको निर्णय कार्यान्वयनका लागि नगर प्रमुख प्रशान्त विष्टले साउन १ गते आइतबार विद्युतीय अटोरिक्सा प्रयोग गरेर निवासबाट कार्यालय तथा विभिन्न कार्यक्रममा सहभागी भए ।

‘महिनाको एक दिन इन्धन प्रयोग हुने सवारी साधन प्रयोग नगर्ने हो भने थोरै भए पनि इन्धनको बचत गर्न सकिन्छ,’ नगर प्रमुख विष्टले भने, ‘यसबाट वातावरण संरक्षणमा समेत सानै भएपनि योगदान दिन सकिन्छ भनेर नगरसभाबाट यो निर्णय गरिएको हो ।’

नगरसभाको निर्णय कार्यान्वयनका लागि पहिलो दिन नगर प्रमुख नै सवारी साधन प्रयोग नगरेपछि यसलाई नगरबासीले समेत सकारात्मक रुपमा लिएका छन् । नगरसभाको निर्णयपछि साउन १ गते पहिलो दिन भएको र बिस्तारै सम्पूर्ण रुपमा निर्णय कार्यान्वयनमा आउने उनले बताए ।

नगर प्रमुख विष्टले आम नगरबासीलाई समेत अत्यावश्यक बाहेक इन्धन प्रयोग हुने सवारी साधन प्रयोग नगरी इन्धन बचत तथा वातावरणीय सरसफाईको अभियानमा साथ दिन आग्रह गरे । नेपालगन्जको बार्षिक नीति तथा कार्यक्रममा हरेक महिनाको १ गते जनप्रतिनिधी र कर्मचारीले इन्धन प्रयोग हुने सवारी साधन प्रयोग गरिन छैन भन्ने उल्लेख छ । नगर प्रमुख विष्टले जनप्रतिनिधि र कर्मचारीमात्रै नभएर आमनगरबासीलाई समेत यो अभियानमा जोड्न खोजिएको बताए ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार ०८:०२