सूचनाको शक्ति - The Power Of Information

        

सडक बालबालिकाको मृगौला बचेको आरोपमा ५ जना पक्राउ

सडक बालबालिकाको मृगौला बेचबिखनमा संलग्न रहेको आरोपमा पाँच जना पक्राउ परेका छन् । नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान व्यूरोले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सडक बालबालिकालाई प्रलोभनमा पारी मृगौला बेचबिखनमा संलग्न रहेको आरोपमा ५ जनालाई पक्राउ गरेको जानकारी दिएको हो ।

पक्राउ पर्नेमा रामेछापका हिमाल श्रेष्ठ भन्ने धनबहादुर रोका, गुल्मीका विजय कुँवर, दैलेखका भूपेन्द्र शाही, विमलबहादुर शाही र झापाका आशिष तामाङ रहेका छन् ।

भारतमा गएर मृगौला दान गरेवापत जनही ५ लाख नगद र एउटा नयाँ मोबाइल सेट दिने प्रलोभनमा पारी सडक बालबालिकाहरुलाई भारत लैजाने तयारी भइरहेको सुराकी पाएपछि उनीहरुलाई गत असार २८ गते काठमाण्डौको विभिन्न स्थानबाट पक्राउ गरिएको व्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर मल्लले बताए ।

पक्राउ परेका उनीहरुलाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अनुसार कारबाही प्रक्रिया अघि बढाइएको पनि व्यूरोले जनाएको छ ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतवार १७:३४