सूचनाको शक्ति - The Power Of Information

        

साक्षरता अभियान

साक्षर जिल्ला घोषणापछि बाँकेलाई पूर्ण साक्षर बनाउने अभियान

बाँके जिल्लाको साक्षरता प्रतिशत ९६.५६ रहेको छ ।

विभिन्न १२ वटा सूचकका आधारमा बाँके जिल्लालाई साक्षर घोषणा गरिएको छ । बाँके जिल्ला देशकै ६१ औं र लुम्बिनी प्रदेशको ११ औं साक्षर जिल्ला घोषणा भएको हो ।

जिल्लाका ८ वटै स्थानीय तह साक्षर घोषणा भएपछि शनिबार जिल्लालाई नै साक्षर घोषणा गरिएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले शनिबार बाँकेलाई साक्षर जिल्ला घोषणा गरेका थिए ।

कार्यक्रममा बाँकेलाई साक्षर जिल्लाका रुपमा घोषणा गर्न पाउँदा धेरै खुशी लागेको भन्दै मन्त्री अथकले जिल्लालाई पूर्ण साक्षर बनाउन सबै लाग्नुपर्ने बताए । उनले बाँकेलाई पूर्ण साक्षर जिल्ला घोषणा गर्न बाँकी रहेकाले अब त्यसतर्फ लाग्नुपर्ने पनि बताए ।

मन्त्री अथकले भने, ‘अझैं ३.४४ प्रतिशत साक्षर हुन बाँकी छन्, त्यसैले सम्बन्धित सबैलाई पूर्ण साक्षर अभियानमा लाग्न आग्रह गर्दछु ।’ उनले जिल्लालाई पूर्ण साक्षर बनाउन सबै स्थानीय तहले आवश्यक बजेट विनियोजन गरी साक्षरता अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

जिल्लाको साक्षरता प्रतिशत ९६.५६ रहेको समन्वय इकाई बाँकेका प्रमुख रामसुरेश यादवले जानकारी दिए । यादवका अनुसार २०७६ सालमा कोहलपुर नगरपालिका ९६.४२ प्रतिशतसहित जिल्लाको पहिलो साक्षर पालिका घोषणा भएको थियो ।

त्यस्तै नेपालगन्ज उपहमानगरले ९८.३९ प्रतिशत, खजुरा गाउँपालिका ९६.९९ प्रतिशत, जानकी ९८.६७ प्रतिशत, राप्तीसोनारी ९५.११ प्रतिशत, नरैनापुर ९६.१९, बैजनाथ ९७.५ प्रतिशत र डुडुवा गाउँपालिकाले ९६.२५ प्रतिशतसहित साक्षर भएको घोषणा भएका थिए ।

साक्षर घोषणा भएको स्थानीय तहहरुले जिल्ला समन्वय समितिमार्फत पुरस्कार स्वरुप जनही ५० लाख रुपैयाँ प्राप्त गरेको समन्वय इकाई प्रमुख यादवले बताए । विभिन्न १२ वटा सूचकका आधारमा बाँकेका ८ वटा स्थानीय तहलाई विभिन्न समयमा साक्षर घोषणा गरिएको थियो ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतवार १५:०६