सूचनाको शक्ति - The Power Of Information

        

समाचार

११ महिनामा मनसुनजन्य विपदबाट नेपालमा २३६२ ले ज्यान गुमाए

यस वर्षको मनसुनजन्य प्रकोपबाट नेपालमा अनुमानित २० लाख जनसंख्या प्रभावित हुन सक्ने प्राधिकरणको भनाइ छ ।

मनसुनजन्य प्रकोपका कारण विगत ११ वर्षको अवधिमा नेपालमा २ हजारभन्दा धेरैले ज्यान गुमाएका छन । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विसं. २०६८ चैत १ देखि २०७८ चैत ३१ गतेसम्मको अवधिमा बाढी, पहिरो र भारी वर्षाका कारण २ हजार ३६२ सर्वसाधारणको मृत्यु भएको हो ।

यस अवधिमा ५ हजार ८२५ वटा पहिरो र भारी वर्षाका घटना भएका छन् । यी घटनामा ८८० जना बेपत्ता भएका छन् भने ६१ हजार ४३२ वटा घरमा क्षति भएको छ । यसरी ११ वर्षको अवधिमा मात्रै विभिन्न विपदबाट १९ अर्बभन्दा बढीको आर्थिक क्षति भएको प्राधिकरणले तयार पारेको मनसुन पूर्वतयारी र प्रतिकार्य राष्ट्रिय कार्ययोजना–२०७९ मा उल्लेख छ ।

त्यसैगरी पछिल्लो तीन महिनाको अवधिमा बाढी, पहिरो, चट्याङ, आगलागीका कारण १२१ जनाले ज्यान गुमाएका छन् । वि.सं. २०७९ साल वैशाख १ गतेदेखि ३२ असारसम्म विपद्का घटनाबाट १२१ जनाको मृत्यु भएको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ । वैशाख, जेठ र असार गरी तीन महिनाको अवधिमा चट्याङका कारण मात्रै ५० जनाको मृत्यु भएको छ ।

यस्तै सोही अवधिमा आगलागीबाट १९ र पहिरोबाट १७ जनाको मृत्यु भएको प्राधिकरणको भनाइ छ । यसवर्ष भएका विपदजन्य घटनाका कारण २ जना बेपत्ता भएका छन् भने २९९ जना घाइते भएका छन् । तीन महिनाको समयमा विपदमा परी १ हजार ४०३ परिवार प्रभावित भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले बाढी पहिरो, भारी वर्षा, चट्याङ, सर्पदंश, आगलागी, हावाहुरी, जनावर आतंक आदिलाई विपदका घटनामा राखेको छ । राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रको निर्माण भएपश्चात् विसं.२०६८ सालबाट नेपालमा विपद्का घटनाहरूको व्यवस्थित रूपमा अभिलेखीकरण गर्न शुरु भएको थियो ।

प्राधिकरणका प्रवक्ता डिजन भट्टराई सम्भावित विपद्को जोखिमलाई न्यूनीकरण गर्नका लागि मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०७९ तयार पारी सबै विषयगत निकायहरुलाई प्रतिकार्यमा लाग्न निर्देशन दिइएको बताउँछन् । उनले विपद्जन्य घटनाको न्यूनीकरणमा काम गर्नका लागि सरोकारवाला निकायलाई कार्ययोजना मार्फत स्पष्ट रूपमा जिम्मेवारीसमेत बाँडफाँट गरिएको बताए ।

‘स्थानीयस्तरमा समेत विपद्बाट बच्न जनचेतना अभिवृद्धि गर्नेदेखि सबै सरकारी निकायलाई विपद् प्रतिकार्यमा लगानी गर्न समेत पे्ररित गर्न थालिएको छ,’ उनले भने, ‘यसमा निजी क्षेत्रलाई पनि सहकार्यका लागि आह्वान गरेका छौं ।’ यस वर्षको मनसुनजन्य प्रकोपबाट नेपालमा अनुमानित २० लाख जनसंख्या प्रभावित हुन सक्ने प्राधिकरणको भनाइ छ ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतवार १२:२०