सूचनाको शक्ति - The Power Of Information

        

कुहिने र नकुहिने फोहोर आजदेखि अलग-अलग संकलन गर्ने

काठमाडौं महानगरपालिकाले आज (आइतबार) देखि कुहिने र नकुहिने फोहोर अलग-अलग संकलन गर्ने भएको छ।

महानगरले ल्याण्डफिल साइटका स्थानीयबासीसँग गरेको सहमति अनुसार फोहोर वर्गीकरण गरेर मात्र व्यवस्थापन गर्ने योजना अनुसार आइतबारदेखि अलग-अलग फोहोर संकलन गर्न लागेको हो ।

काठमाडौंको फोहोर फाल्ने गरिएको ल्याण्डफिल साइट बञ्चरेडाँडा वरपरका बासीन्दाले आन्दोलन गरेपछि वर्गीकरण गरेर मात्र फोहोर व्यवस्थापन गर्न महानगरले पहल गर्न थालेको हो ।

महानगरपालिकाले शनिबार एक सूचना सार्वजनिक गर्दै कुहिने र नकुहिने फोहार आ-आफ्नो घरमै वर्गीकरण गर्न भनेको थियाे। महानगरले कुहिने फोहाेर संकलन गर्ने दिन आइतबार र बुधबार तय गरेको छ ।

साथै नकुहिने फोहाेरका लागि सोमबार र शुक्रबारलाई समय तोकेको छ । वर्गीकरण नगरेर एकै ठाउँमा मिसाईएको फोहोरलाई महानगरले नउठाउने पनि सूचनामा उल्लेख गरिएकाे थियाे ।

महानगरको सूचनालाई वेवास्ता गर्दै एकै ठाउँमा मिसाएर फोहोर फालेको पाईएमा कानून अनुसार कारबाही गर्ने चेतावनी समेत काठमाडौं महानगरपालिकाले दिएको छ ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतवार ०९:०५