बिहान घरबाट निस्किसकेपछि बेलुका सध्धे फर्किन्छ कि बाटोमै केही हुने हो यस्तो चिन्ता बोकेर हिँड्नुपर्ने बाध्यता छ, काठमाडौंमा । न ठाउँठाउँमा जेब्राक्रस छ । भएका जेब्राक्रसको पनि सेतो धर्को सबै मेटिसकेको छ । आकाशे पुल पनि धेरै छैनन् । भएका पनि अधिकांश जीर्ण छन् । पसल पनि पुलमै छ । आकाशे पुलमा दिसापिसाब गन्हाएर हिँडिसाध्य छैन । फुटपाथमा भएको मोटरसाइकल पार्किङ्ग र पसलले आवतजावत गर्न सक्ने स्थिति छैन ।
अव्यवस्थित पोल पनि सबै फुटपाथमै छन् । खम्बाले टेलिफोन, नेटलगायतका तार थेग्न नसकेर लुङगिसकेको देखिन्छन् । आफूमाथि नै पो खस्ने हो कि भनेर त्रासमा हिँड्नुपर्छ । योसँगै अर्को समस्या हो घरको छतमा राखेको गमला । कतिखेर खसेर कसको टाउको फुट्ने हो अत्तोपत्तो छैन । यता, पानी पर्दा छतमा जमेको पानी फुटपाथमा खसाल्ने प्रवृत्ति हामी कहाँ छ । यसले धेरै सर्वसाधारण प्रभावित बनेका छन् । सार्वजनिक शौचालयको समस्या काठमाडौंमा उस्तै छ ।
एउटै घरमा दर्जनसम्म होर्टिङ बोर्ड झुन्डयाइएको छ । यसले गर्दा शहर कुरुप बनेको छ । काठमाडौंबासीलाई यो सबै बानी परिसकेको छ । तर, बाहिरी जिल्ला र विदेशी नागरिकलाई यसले निकै नै सताइरहेको छ । बाटो कताबाट काट्ने भनेर घण्टौं अलमल्ल परेर हेर्नुपर्ने बाध्यता छ । राजधानी भने पनि यहाँको हाल बेहाल छ । सडकमा खाल्डाखुल्डी अनगिन्ती छन् । फोहर व्यवस्थापनको किचिलो अझै समाधान हुन सकेको छैन । बाटोमा मागेर खानेलाई व्यवस्थित गर्न महानगर चुकेको छ ।
बाहिरी जिल्ला र विदेशी नागरिकले यस्तो पनि शहर हुन्छ ? भनेर सोच्छन् । कहीकतै व्यवस्थापन छैन । यो माग्नेको शहर हो भन्ने छाप सबैमा परेको छ । काठमाडौंमा खुल्ला ठाउँ छैन् । चारैतिर घर जोडिएको छ । ताजा हावा खान पनि यहाँ धौधौ छ । प्रदुषणका कारण महानगरवासी रोगी बन्दै गएका छन् । यहाँ हेरी गाउँ निकै नै सुःखी, खुसी र समृद्धि छ । आफ्नो हातका नङग्रा खियाएर सन्तुष्टि र निरोगी जीवन बाचिरहेका छन् । तर, काठमाडौंमा ठ्याक्कै यसको उल्टो छ ।
यहाँका बासिन्दाका एउटै आम्दानीको स्रोत भनेको घरभाडा हो । खेतीपाती गर्ने जग्गा यिनीहरुसँग छैन । घरभाडामा लायो महिनैपिच्छे सुतिसुति भाडा खायो । बहालमा बस्नेले सडकमा चिया बेचेर हुन्छ कि चट्पटे भाडा तिरिरहेका छन् । धुँवाधुलो र फोहर परेका यस्ता खानेकुराले कति रोग निम्त्याइरहेको छ । बेच्नेले सर्वसाधारण मारेर बेच्छ यता घरधनीलाई लगेर पोस्छ । बाहिरी जिल्लाका जनता आएर शहर अव्यवस्थित बनाइदिएका छन् । सडकमा फुटपाथ पसल थाप्ने पनि उनीहरु नै हुन् ।
सडकपेटी ढाँकेर पैदलयात्रीलाई सडकको बीचबाट हिँड्न बाध्य पार्ने पनि तिनै हुन् । शहर अस्तव्यस्त बनाउन उनीहरुको ठूलो योगदान छ । तर, यसको फाइदा राज्यले होइन घरधनीले उठाइरहेका छन् । काठमाडौंमा रोजगारी छ, सेवासुविधा छ भनेर गाउँघरबाट काठमाडौं भित्रिन्छन् । तर, यहाँ आएपछि ठगिन्छन् । काठमाडौंलाई राम्रो र व्यवस्थित शहर बनाउन २०६९ सालमा तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईले शहरी विकास मन्त्रालय खडा गरे ।
शहरी विकास मन्त्रालय स्थापना भएको पनि एक दशक बित्यो । यतिधेरै वर्षमा धेरै जना मन्त्री भए । तर, कसैले पनि काठमाडौंलाई सुन्दर र व्यवस्थित शहर बनाउन सकेनन् । साधारण मापदण्ड र ऐन कानूनसमेत पनि बन्न सकेन । मन्त्रीहरुलाई तलबभत्ता र सेवासुविधा लिँदै ठिक्क भयो । मन्त्रालयका कर्मचारीहरुले केही काम नै गर्न चाहेनन् । मन्त्रालयले उपत्यका विकास प्राधिकरणसमेत स्थापना गर्यो । तर, त्यहा पनि तलबभत्ता र सरकारी गाडी चढ्ने काममात्र भयो ।
अहिले पनि एक–दुई आनामा घर बनाउनका लागि महानगरपालिका र वडाले स्वीकृति दिइरहेको छ । धमाधम नक्सा पास गर्ने कार्य भइरहेको छ । पुरानै मापदण्डमा टेकेर भकाभक भवनहरु ठडिरहेको छ । मन्त्रालयले नयाँ ऐनकानूनको निर्माण गर्न चासो देखाएको छैन । सडकको संरचना कस्तो हुनुपर्ने हो ? सम्बन्धित निकायलाई नै ज्ञान छैन । बाटोमा हिँड्दा कतिखेर सवारी साधन ठक्करमा परेर घाइते हुनुपर्ने हो टुङ्गो छैन । कतिखेर पछाडिबाट आएर कुकुरले टोक्ने हो भन्ने त्रास छ ।
काठमाडौंको अवस्था झनझन नाजुक बन्दै गएपछि महानगरवासीको अपेक्षा बालेन्द्र शाहमा आएर अड्डियो । भारी मतका साथ मेयरमा उनलाई निर्वाचित गराउने महानगरवासी हुन् । तर, मेयरले महानगरवासीको अपेक्षामा खडा हुन सकेनन् । उनले महानगरवासीले सोचेभन्दा ठ्याक्कै उल्टो काम गरेका छन् । मेयर बालेनले आफ्नो तलबबाट काठमाडौंमा गायक यमबुद्धको शालिक बनाउने घोषणा गरेका छन् । उता, जनताले तिरेको करबाट एक करोड रुपैंया ई–स्पोर्टसमा लगानी गर्ने उनको योजना छ ।
भोट माग्ने बेलामा उनले तलबभत्ता लिदैन, सरकारी गाडी चाहिँदैन भनेर बाचा गरेका थिए । तर, अहिले आएर उनले केही पनि छोडेनन् । काम केही नगर्ने, सरकारी गाडी चढ्ने र तलब भत्ता लिने । यतिमात्र नभएर जनताले तिरेको कर कसैको नाममा शालिक बनाउने, कसैलाई करोड रुपैंयाँ दिने । मेयर पदमा छु भनेर जे पनि गर्न पाइन्छ ? मेयरको यस्तो पाराले काठमाडौंवासी वाक्कदिक्क भएका छन् । हामीले बालेनलाई कि भोट दियौं भनेर अहिले धक्धकाइरहेका छन् । मेयरले राजीनामा दिनुपर्छ भनेर मागसमेत उठ्न थालिसकेको छ ।
पप–गीत गाउने व्यक्तिले त्यही नै ठिक थियो भनेर बहस चलेको छ । उनको क्षमतामा यतिबेला प्रश्नसमेत उठ्न थालिसकेको छ । काठमाडौं पट्टीको जिम्मेवारी र गरेको बाचा मेयरले सबै बिर्सिएका छन् । काठमाडौंलाई राम्रो बनाउन न मन्त्रालयले ध्यान दिन्छ न प्राधिकरणले । महानगर आफ्नो मनोमानी चलाउँदै हिँडेको छ । भन्नलाई शहर भनिन्छ, तर काठमाडौंबासीसँग अलिकति पनि चेतना छैन । आफू सुकिला बन्छन्, घरभित्रको फोहोर सडकमा ल्याएर फ्याँक्छन् । यस्तालाई पनि बुद्धिजीवी भन्ने ?
पढ्न लेख्न जानेको छ, तर कर्तव्य भनेको थाहा छैन । आफ्नो कारणले अरुलाई कति अप्ठ्यारो परेको छ, अलिकति पनि मतलब छैन । काठमाडौं फोहोर शहर हो भनेर विदेशीहरुमा परिसकेको छ । घुम्न आएका पनि हतारहतार फर्किन्छन् । प्रदुषण नदेखेका विदेशीहरु यहाँ आएर अचम्मित पर्छन् । गाउँबाट आएकाहरु यता दुई दिन पनि टिक्न सक्दैनन् । यहाँको धुँवाधुलोलाई यहाँ बस्न हम्मेहम्मे पर्छ । यस्तो गएगुज्रिएको ठाउँलाई सरकारले राजधानी घोषणा गरेको छ । राजधानीको हालत यस्तो हुन्छ र ? प्रश्न उठ्न थालेको छ ।
काठमाडौं सिटी भनिएको छ, तर कताबाट सिटी भन्ने ? जिल्लाको सदरमुकाम पनि यहाँभन्दा सफासुग्घर छ । यो ठाउँ शोषकीहरु बस्ने ठाउँ हो । बिहान एउटै सडकमा दुईथरीका मानिसहरु भेटिन्छन् । एकथरी टन्न खाएर मर्निङ वाकमा निस्किएका हुन्छन् । अर्कोथरी बिहान बेलुका छाक टार्नका लागि कामको खोजीमा हिँडेका हुन्छन् । बाउ हेर्ने छोराले खाने ठाउँ हो यो, काठमाडौंमा मानवता छैन । भाडामा बस्नेको समस्या घरधनीले बुझ्दैनन् । बहालमा बस्नेलाई रोजगारीको व्यवस्था महानगरले गर्न सकेको छैन ।
घरधनीलाई करको दायरामा ल्याउन पनि महानगर चुकेको छ । साँझ परेपछि फुटपाथमा हाटबजार लाग्छ । सटर बहालमा लिएर व्यापार गर्नेले सडकमै ल्याएर सामान तेर्स्याउँछन् । कि काठमाडौंमा अन्य जिल्लाका जनतालाई आउनबाट रोक लगाउनुपर्यो । कि त रोजगारीको प्रबन्ध मिलाएर फुटपाथ व्यवसाय हटाउनुपर्यो । मेयर बालेन्द्र शाहबाट महानगरका जनताले धेरै आशा गरेका थिए जुन निराशामा बदलिसकेको छ । ६१ हजार ७६७ भोट खेर गएको छ । मेयर बालेनको विरोधमा आवाज उठ्न थालिसकेको छ ।
युवा पुस्ता भनेर भोट त दिइयो, तर नतिजा शुन्य देखिँदैछ । जनताको गुनासो नसुन्ने, सञ्चार माध्यमदेखि टाढा बस्ने अनि काठमाडौं महानगरका लागि केही काम नगर्ने । सुःख पाइन्छ भनेर भोट दिए, तर दुःख पाएको महशुस गरेका छन्, काठमाडौं महानगरवासीले । स्वतन्त्रले चुनाव जितेको देखेर रवि लामिछानेले पार्टी खोले । केही गरी लामिछानेले चुनाव जिते पनि जनताले दुःखबाहेक केही पाउँदैनन् ।
अनुसा थापा ।