सूचनाको शक्ति - The Power Of Information

        

स्वास्थ्य

बाँकेमा बढ्दैछन् सिकलसेलका बिरामी

यदि वाहक–वाहक छ वा रोगी–रोगी छ भने पनि बिहे नगर्न सुझाव ।

सिकलसेल एनिमिया जाँच गरिँदै । फाइल तस्वीर

थारू समुदायमा जनस्वास्थ्य समस्याका रूपमा देखिएको सिकलसेल तथा बढ्दै गएको थालेसेमिया रोगका बिरामी पत्ता लगाउने अभियान बाँकेमा जारी छ ।

सिकलसेलका कारण उपचार गराउँदा गराउँदै सयौँ परिवारको उठिबास भएको र थालेसेमियाका रोगी पनि बढ्दै गएकाले थारू बाहुल्य पालिकाहरूमा उपचार तथा परामर्श स्वास्थ्य शिविरको आयोजना गर्न थालिएको हो ।

सो क्रममा बाँकेको राप्तीसोनारी गाउँपालिका–४, बैजापुरमा रहेको राप्तीसोनारी अस्पतालमा सिकलसेल तथा थालेसेमियाका रोगी र वाहकहरूको पहिचान, उपचार तथा परामर्शका लागि आयोजना गरिएको स्वास्थ्य शिविरमा एक हजार ५८० जनाको परीक्षण गरिएको छ ।

परीक्षणमा २२४ जना सिकलसेल र थालसेमियाका रोगी र वाहक भेटिएको स्वास्थ्य कार्यालय बाँकेका अधिकृत नरेश श्रेष्ठले जानकारी दिए । उनले राप्तीसोनारी ३ र ४ का दुई हजार ५८० जनाको र गत सङ्कलन गरिएकोमा एक हजार ५८० जनाको परीक्षण गर्दा २२४ जना वाहक र रो गी भेटिएको बताए ।

तीमध्ये पाँच जना सिकलसेलका बिरामी, एक जना विटा थालसेमियाका रोगी र १३२ जना सिकलसेलका वाहक तथा ८६ जना विटा थालसेमियाका वाहक भेटिएको श्रेष्ठले बताए । शिविरमा विज्ञ डा.राजन पाण्डेले सिकलसेल तथा थालसेमियाका रोगी र वाहकहरूलाई उपचार तथा परामर्श सेवा दिए ।

उनले रोगीलाई उपचार गर्नैपर्ने तर सिकलसेल र थालसेमिया वाहकलाई भने उपचार गर्नु नपर्ने बताए । तर उनीहरूले आफ्नो भावी सन्तान निरोगी बनाउन बिहेबारीमा विशेष ख्याल गर्नुपर्ने जनाउँदै डा.पाण्डेले यदि वाहक–वाहक छ वा रोगी–रोगी छ भने पनि बिहे नगर्न सुझाव दिए ।

उनले रोगी वा वाहकले स्वस्थ व्यक्तिसँग बिहे गरेपछि मात्रै भावी सन्तति निरोगी जन्मने र सिकलसेल र थालसेमियाजस्तो वंशाणुगत रोगलाई न्यूनीकरण गर्न सकिने बताए । सिकलसेल तथा थालसेमियाका बिरामी तथा वाहक पत्ता लगाउन थारू बाहुल्य पालिकाहरूमा आगामी दिनमा पनि शिविर आयोजना गरिने स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजङ्ग शाहले बताए ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतवार ०७:५२