प्रदेश १ का कृषि तथा सहकारी मन्त्री झलकबहादुर मगरसँगको नेदरल्याण्डका एक ब्यक्तिको भेटघाटले चर्चा पाएको छ । बुधबार मन्त्रालयमा भेटका लागि पुगेका नेदरल्याण्डका कृषि तथा पशु विज्ञ हाबेल क्लेंग्स्टा र मन्त्रालय पदाधिकारीको भेटले चर्चा पाएको हो ।
विराटनगरमा कृषि सम्बन्धी काम गर्दै आएको एक निजी कृषि फर्ममा गाईपालनको विषयमा सेवा उपलब्ध गराउन आएका हाबेल मन्त्री मगरसँगको भेटमा अशोभनीय पहिरन (कट्टु)मा पुगेका थिए । उनीसँगै मन्त्रालयका कर्मचारीसमेत सँगै रहेका थिए । कृषि मन्त्री मगरले अनौपचारिक भेटका क्रममा उनी मन्त्रालय आएको जानकारी दिए ।
मन्त्री मगरले भने, ‘विराटनगरको एक निजी फर्ममा आउँदा मन्त्रालयसँग अनुभव साटासाटका लागि आउनु भएको हो । उहाँलाई मन्त्रालयमा देख्दा मलाई पनि संकोच लागेको थियो । तर, अतिथिलाई झट्ट भनिहाल्न पनि सकिएन । मन्त्रालयका कर्मचारी र उहाँ आउने विषयमा समन्वयन नभएको हो कि ?’
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मेयर भीम पराजुलीले जिम्मेवार ब्यक्तिको लज्जास्पद हर्कतले प्रदेश सरकारको बेइज्जत भएको बताए । प्रदेश बलियो नभए खारेजी समेतको अभिब्यक्ति दिँदै आएका पराजुलीले विदेशी नागरिक कट्टुमा मन्त्रीसँग भेट गर्नुले निर्लज्जता प्रदर्शन गरेको बताए ।
उनले भने, ‘आफनो स्तर बुझ्न नसक्नेहरुको कारण नै प्रदेशको खारेजीको माग गरेको हो । हाम्रो प्रदेशको मन्त्रीको भेट यसप्रकार हुन्छ भन्दा कस्तो सन्देश गएको छ । आफैं बुझ्ने कुरा हो । मन्त्रालयले आफ्नो मर्यादा कायम राख्न सकेन ।’ मुख्यमन्त्री कार्यालयका प्रवक्ता उद्धवप्रसाद रिजालले मन्त्रालयभित्र पहिरनको विषयमा समन्वय गर्दै सबैलाई जानकारी गराउने बताए ।
संघीय सरकारका मन्त्रालय प्रवेशका लागि मुलद्धारमा रोकिने गरिएको भए पनि ‘पहुँच र भेटि हालुँ न’ भन्ने प्रकृतिबाट सहजता खोजिँदा कमीकमजोरी हुने गरेको उनको भनाइ छ । ‘सार्वजनिक स्थानमा हुने भेटमा कसरी प्रस्तुत हुने सबै जानकारी नै हुनुपर्ने हो । तर पनि यसविषयमा मन्त्रालयमा पनि हामी कुरा गर्नेछौँ,’ प्रवक्ता रिजालले भने ।
मन्त्रालयले यस भेटलाई अनुभव आदानप्रदानको रुपमा लिएको जनाएको छ । यद्धपी, विदेशी नागरिक मन्त्रालयमा पुग्दा कुन अवस्थामा पुग्ने र कस्तो अवस्थामा भेट गर्ने हेक्का समेत मन्त्रालयले राख्न नसकेको देखिएको छ । मन्त्रालयमा हाबेलको पहिरनलाई लिएर आपत्ति नदेखिएको मन्त्रालयका एक कर्मचारीले बताएका छन् ।
उनले भने, ‘भेटघाट औपचारिक थियो । तर विदेशीले मन्त्रीलाई भेट्न आउँदा मर्यादा कायम राख्न नसकेको हो । र मन्त्रालय आफैँ पनि यसप्रकारको घटनामा जिम्मेवार रहन नसकेको हो । अशोभनीय पहिरनमा मन्त्रालयकै गरिमालाई असर पुराउने देखिन्छ ।’ हाबेल नेदरल्याण्डको पुम नामक संस्थाबाट केहीसाता अघि नेपाल आएका हुन् । कृषि तथा पशुको विषयमा अनुसन्धान र अनुमगनका लागि उनीसँगै तीन जना छन् । जसमध्ये हावेल विराटनगर आएका हुन् ।
सत्यपाटी । विराटनगर ।