सूचनाको शक्ति - The Power Of Information

        

विचार

पार्कर खेल्ने ठाउँ होइनन् ‘सम्पदास्थल’

नेपालमा भने ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाहरू बारेको बुझाइ ज्यादै संकुचित छ ।

सम्पदा पार्करजस्तो खेल खेल्ने ठाउँ होइन भनेर सम्झाउन आउने जेष्ठ नागरिक कहींकतैबाट नियुक्त कर्मचारी होइनन् । सोही क्षेत्रमा जन्मेका र हुर्केका ती स्थानीयले अवाञ्छित क्रियाकलापमा आपत्ति जनाउनुलाई संरक्षणका लागि गरिएको सकारात्मक प्रयास भनेर बुझ्नुपर्छ ।

विश्व सम्पदा सूचीमा रहेको काठमाडौं उपत्यकाका सातै सम्पदास्थल अलि खुला केन्द्रको रूपमा रहेका छन् । सातमध्ये तीन मध्यकालीन ऐतिहासिक दरबार क्षेत्र भए पनि ती मन्दिर तथा कलाकृतिले भरिपूर्ण छन् । मानव बस्तीभित्रै रहेका यी सम्पदा स्थलमा एकाबिहानैदेखि स्थानीय जनजीवनको चहलपहल सुरु हुन्छ र यो क्रम राति अबेरसम्म कायम रहन्छ । स्वदेशी तथा विदेशीहरूको घुमफिर तथा अध्येताहरूको अध्ययनले यी स्थलहरूको महत्व दर्साउँछ ।

यी सम्पदा स्थलमा अनेक क्रियाकलाप भइरहेका हुन्छन् जसले सम्पदा क्षेत्रलाई जीवन्त राख्छन्, तर कतिपय क्रियाकलाप अवाञ्छनीय हुन्छन्, तिनलाई रोक्नु अति आवश्यक छ । पाटन दरबार क्षेत्रमा (२०७९ साल असार १४ गते मंगलबार) केही किशोरहरूको एउटा समूह पार्कर गर्न आए । दौडधुप गर्ने, एक ठाउँबाट अर्को ठाउँमा हामफाल्ने तथा हावामै शारीरिक कला देखाउने एक खालको विधिलाई पार्कर भनिँदो रहेछ ।

उनीहरूकै अनुसार कतै यसको प्रतियोगिता हुँदै रहेछ र त्यसमा सहभागी हुनका लागि दृश्य छायांकन गर्न उनीहरूले पाटन दरबार क्षेत्रलाई छानेका रहेछन् । यी पार्करले दरबार क्षेत्रमा अस्वाभाविक स्थिति सिर्जना गरे । उनीहरूले मूर्ति तथा अन्य पुरातात्विक सम्पदा माथि चढ्ने टेक्नेलगायतका आपत्तिजनक कार्य गर्न थाले । यस्तैमा स्थानीय एक वृद्धले तिनीहरूलाई सम्पदा क्षेत्रमा यस्तो नगर्न भन्दा तीमाथि अभद्र व्यवहार गर्नुका साथै जेल हालिदिने धम्कीसमेत दिए ।

उनीहरूको यो हर्कत सामाजिक सञ्जालमा व्यापक आलोचनाको विषय भयो । यही कारण स्थानीयले त्यहाँ पार्कर गर्नेहरूलाई प्रहरी समक्ष पु¥याए । प्राचीन स्मारक संरक्षण ऐन–२०१३ आकर्षित हुने यो घटनामा ती किशोरहरू थुनिने र जरिवाना हुनसक्ने सम्मको व्यवस्था छ । तर स्थानीय सम्पदा प्रेमीहरूले उनीहरूलाई सार्वजनिक माफी मगाएर छाडिदिए । अहिले यस सम्बन्धमा खासै चर्चा छैन, तर कुरा यत्तिमै टुंगिँदैन ।

यसले अनेक प्रश्न उठाइदिएको छ जसको जवाफ खोज्नु जरुरी छ । पार्कर गर्ने किशोरहरूले सो दिन पाटन दरबार क्षेत्रमा मात्रै नभएर ललितपुर महानगरपालिकाको कार्यालय अगाडिको सम्पदा क्षेत्रमा पनि गरेका रहेछन् । बुझ्दै जाँदा उनीहरूबाहेक अरूले पनि यस्ता सम्पदा क्षेत्रमा पार्कर गर्ने गरेको पाइयो । पार्कर मात्रै होइन, ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदासँग नसुहाउँदो गतिविधि गर्ने गरेको पनि पाइन्छ ।

उदाहरणका लागि गौतम बुद्धको जन्मस्थल लुम्बिनीको मुख्य ठाउँ मायादेवी मन्दिरको परिसरमा केही वर्षअघि सुन्दरी प्रतियोगिताका लागि समूहगत नाचगान गरिएको थियो । आफूखुशी क्रियाकलाप गर्नेहरूको नजरमा ती ठाउँ चर्चित र खुल्ला भएकाले त्यसको उपयोग गरेको मात्रै हो, तर यसले सम्बन्धित ठाउँको मानमर्यादा र मूल्य मान्यतालाई हदैसम्मको बेवास्ता गरेको भनेर नै बुझ्नुपर्छ । यसमा सम्बन्धित निकाय आफ्नो काम र कर्तव्यबाट च्युत भएको मान्नुपर्छ ।

ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाहरू मानव सभ्यताको धरोहर हुन् । यो एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुँदै आइरहेको निधि हो । सम्पदाहरू पुर्खाबाट पाएको र भविष्यका सन्ततिलाई सुरक्षितसाथ सुम्पनुपर्ने नासो पनि हुन् । सम्पदालाई यो अर्थमा बुझेपछि यसलाई मास्नुहुँदैन, संरक्षण गर्नुपर्दछ र यो आफ्नो गौरव पनि भएकाले प्रचारप्रसार गरेर आफ्नो पहिचानलाई फराकिलो पार्नुपर्छ भन्ने चेत स्वतः खुल्छ ।

यो स्तरको बुझाइका लागि सम्पदा क्षेत्रमा काम गर्ने व्यक्ति तथा संघसंस्थाले केही मेहनत त गर्नै पर्दछ । उनीहरूले सम्पदाहरू के हुन् वा के होइनन् ? के कुरालाई सम्पदा भन्ने तथा किन यसको संरक्षण गर्ने ? यसको संरक्षणले आफू र अरुलाई के कस्ता फाइदा हुन्छन् भन्नेको उत्तर दिनुपर्दछ । नेपालमा भने ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाहरू बारेको बुझाइ ज्यादै संकुचित छ । यी सम्पदाहरू विभिन्न कालखण्डका छन् ।

यस्ता सम्पदाहरू संख्यात्मक रूपमा काठमाडौं उपत्यकामा छन् । जसरी काठमाडौंका सम्पदा नेवार सभ्यताको द्योतक हुन् त्यसैगरी अन्यत्रका सम्पदाहरू अन्य समुदायको सभ्यताको द्योतक हुन् । सम्पदाहरू कुनै न कुनै समाजसँग सम्बन्धित हुन्छन्, यसलाई अन्यथा लिनुपर्दैन । कुनै बौद्ध सम्पदा होला, कुनै हिन्दू सम्पदा । यो भनेको सम्पदाको पहिचान पनि हो तर यी सबै सम्पदाहरूलाई संकुचित आँखाले हेरुञ्जेल कुनै पनि हालतमा सम्पदालाई बुुझ्न सकिन्न ।

यसलाई मानव सभ्यतासँग सम्बन्धित गरेर हेर्ने बृहत्तर मन चाहिन्छ । नेपाली सम्पदाहरूको वस्तुस्थिति हेर्दा अलि टीठ लाग्दो छ र यसो हुनाका कारण जाति, धर्म, समुदाय विशेषको नजरबाट सोहीअनुसार हेर्ने गरेर हो कि भन्ने लाग्दछ । यो दृष्टिकोण सर्वथा गलत हो र त्याग्नु पर्दछ । सम्पदा सम्बन्धी ज्ञान वा सरोकार बौद्धिक तथा प्राज्ञिकवृत्तमा सीमित राख्न खोज्नु अर्को समस्या हो । जुन सम्पदामाथि बौद्धिक तथा प्राज्ञिक वर्गको आँखा पर्छ त्यसबाट जनसाधारण टाढिँदै गएको पनि देखिएको छ ।

उदाहरणका लागि स्थानीय नागरिकको जीवनदर्शनसँग सम्बन्धित भएकाले संरक्षण गर्दै ल्याइएका सम्पदाका बारेमा सरोकार र चासो किन हुनुपर्छ भन्ने नबुझेका तर हालिमुहाली गरिरहेका नीतिनिर्माण तह र अन्य केही सीमित व्यक्तिले तिनै स्थानीय जनसाधारणलाई त्यहाँबाट बेदखल गरिरहेका छन् । विश्वविद्यालयबाट पाइने शैक्षिक प्रमाणपत्र र विभिन्न सरकारी तथा गैरसरकारी निकायसँगको निकटताको आडमा कतिपय बौद्धिक तथा प्राज्ञिकहरू सम्बन्धित सम्पदासँग सम्बन्धित जनसाधारण अगाडि रौब जमाएर बसेका हुन्छन् ।

अझ यही सम्पदाको नाममा तिनीहरू देशविदेश घुम्ने तथा वृत्ति विकास गरिरहेका हुन्छन् । मानौं, सम्पदा भनेको जनसाधारणको सम्पत्ति नभएर सरकारी कर्मचारी, बौद्धिक, प्राज्ञिक र प्राध्यापक तथा केही लेखकहरूको मात्रै पेवा हो । यस अवस्थामा सांस्कृतिक सम्पदासँग जनसाधारणको अपनत्व वा ममत्वमा आघात पर्नु स्वाभाविक हो । वास्तवमा यो स्थिति सम्पदा संरक्षणका लागि ठूलो विपद् हो ।

सम्पदा संरक्षणमा राज्यले अभिभावकत्व ग्रहण गर्नुपर्दछ । सम्बन्धित जनसाधारणलाई यसबाट विमुख बनाउने होइन तिनीहरू आकर्षित हुने वातावरण तयार गर्नुपर्दछ । आफ्नो सम्पदाप्रति गौरव गर्न सकिने र प्रोत्साहन मिल्ने कार्यक्रमहरू ल्याउनुपर्दछ । यस काममा बौद्धिक, प्राज्ञिक तथा लेखकहरूले सघाउने हो । यसप्रकार अगाडि बढ्ने हो भने बल्ल सम्पदाको दीगो संरक्षण हुन्छ ।

हाल हामीले अपनाएको पारा सम्पदालाई जनसाधारणबाट विमुख पारेर मृत सम्पदा बनाउने र ‘म्युजिमय पीस’ को रूपमा परिणत गर्ने खालको छ । विश्व सम्पदा क्षेत्रमा मात्रै नभएर अन्य सम्पदा क्षेत्रहरूमा समेत हुने गरेका अवाञ्छित कृयाकलापलाई स्वाभाविक मान्नुपर्ने हो कि भन्ने भएको छ किनभने सम्बन्धित निकायमा सम्पदासँग सरोकार नै नराख्ने व्यक्ति कर्मचारीका रूपमा नियुक्त भएर आउने र तालुकदार मात्रै हुने गर्नाले यी अवाञ्छित क्रियाकलापलाई निषेध गर्न सक्दैन ।

लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा बुद्ध र बौद्ध धर्मसँग कुनै सम्बन्ध नै नभएको बरु सो स्थलको मर्ममा नै आघात पुग्ने गरी सुन्दरी प्रतियोगिताका लागि नाचगानको आयोजना गर्न भ्याउनुलाई लुम्बिनी विकास कोषका कर्मचारी तथा पदाधिकारीहरूको लुम्बिनीसम्बन्धी गलत बुझाइ र उदासीनता नै मान्नुपर्छ । काठमाडौं उपत्यकाको विश्वसम्पदा क्षेत्रमा पनि यस्तै गलत बुझाइ र उदासीनताको परिणामस्वरुप विभिन्न समयमा अनेकौं अवाञ्छित कृयाकलापहरू भइरहेका छन् ।

पाटन दरबार क्षेत्रमा पार्कर गर्नेलाई रोक्न एक जेष्ठ नागरिक अघि बढ्दा पार्करहरूले उनको खिल्लीमात्रै उडाएनन्, उनीहरूको क्रियाकलापमा बाधा हाले पाँच वर्ष जेल हाल्दिनेसम्मको धम्की दिन भ्याए । उनीहरूले त्यहाँ आफ्नो क्रियाकलापलाई निरन्तरता दिइरहे । त्यसपछि पनि तिनीहरू त्यहाँ समय बिताएर गए । यति धेरै हुँदा पनि त्यहाँ कोही सुरक्षाकर्मीले केही गरेनन् । यसबाट बुझिन्छ, पार्करहरूले मात्रै नभएर सम्बन्धित कर्मचारीहरूले समेत सम्पदा क्षेत्रलाई बुझेनन् वा कर्तव्यबाट च्यूत हुनपुगे ।

सम्पदा पार्करजस्तो खेल खेल्ने ठाउँ होइन भनेर सम्झाउन आउने जेष्ठ नागरिक कहींकतैबाट नियुक्त कर्मचारी होइनन् । सोही क्षेत्रमा जन्मेका र हुर्केका ती स्थानीयले अवाञ्छित क्रियाकलापमा आपत्ति जनाउनुलाई संरक्षणका लागि गरिएको सकारात्मक प्रयास भनेर बुझ्नुपर्छ । सम्पदा सम्बन्धी शिक्षा दिनसक्ने हो भने जो कोही नागरिक ती वृद्धजस्तै सम्पदाको पक्षमा उभिनेछन् ।

 

 

 

आइएनएस–स्वतन्त्र समाचार

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार १६:१२