सूचनाको शक्ति - The Power Of Information

        

प्रदेश विश्वविद्यालय खजुरामा

बाँकेको खजुरामा लुम्बिनी प्रदेश विश्वविद्यालय स्थापनाका लागि कार्यालय भवनको खोजी हुन थालेको छ । खजुरा गाउँपालिका–८ मा विश्वविद्यालय निर्माणका लागि जग्गासमेत छुट्याइएको छ ।

प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीले विश्वविद्यालय सञ्चालनका लागि तत्काल पुरानो भवनमा केन्द्रीय कार्यालय राखेर काम अघि बढाउने तयारी भइरहेको जानकारी दिए । प्रदेश योजना आयोगको टोलीले विश्वविद्यालय स्थापनाका लागि छुट्याइएको रनियापुर जग्गाको स्थलगत अनुगमन पनि गरेको छ ।

तत्काललाई जनक शिक्षा सामग्री केन्द्रको भवनलाई केन्द्रीय कार्यालय भवनका रूपमा प्रयोग गर्न सकिने जनाइएको छ । खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विकले जनक शिक्षाको सामग्री केन्द्र प्रस्तावित विश्वविद्यालय नजिक हुनुका साथै प्रयोगविहीन भएकाले पनि कार्यालय सञ्चालनका लागि उपयुक्त भएको बताए ।

‘अब केन्द्रीय कार्यालयको खोजी भएपछि प्रदेश विश्वविद्यालय खजुरामै निर्माण हुने सुनिश्चित भएको छ,’ गाउँपालिकाका अध्यक्ष विकले भने, ‘केन्द्रीय कार्यालय सञ्चालनमा आएपछि भवन निर्माण कार्य पनि तत्कालै अघि बढ्नेछ ।’ जनक शिक्षा सामग्री केन्द्रले पश्चिम नेपालमा छिटो छरितो पाठ्यपुस्तक पुर्याउनका लागि छापाखाना सञ्चालनमा ल्याउने भन्दै केही वर्षअघि भवन निर्माण गरेको थियो ।

जनक शिक्षा केन्द्रको छापाखाना राख्न निर्माण भएको भवनमा तत्कालका लागि गाउँपालिकाले आवश्यक पूर्वाधार बनाइदिने र जनक शिक्षासँग अस्थायी कार्यालय राखिनेछ । विश्वविद्यालयका लागि प्रदेश सरकारले १०० बिघा जग्गा आवश्यक पर्ने बताए पनि उक्त गाउँपालिकाले ११० बिघा जग्गा छुट्याएर हक हस्तान्तरण गर्न सिफारिस गरिसकेको छ ।

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रममा आर्थिक वर्ष २०७९–०८० मा प्रदेश विश्वविद्यालयको काम थाल्ने घोषणा गरेको थियो भने यसअघिको सरकारले पनि नीति तथा कार्यक्रममा पार्नाका साथै विश्व विद्यालयका लागि बजेट विनियोजन गरे पनि कार्यविधि नबनेका कारण फ्रिज भएको थियो ।

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार १४:२४