सूचनाको शक्ति - The Power Of Information

        

कृषिमा समृद्धि

सिक्टाको पूर्वी नहरमा पानी, किसानमा छायो खुशीयाली

पूर्वी नहरको २४ किलोमिटर क्षेत्रमा पहिलो पटक पानी छोडेपछि उक्त नहरबाट अब यस क्षेत्रका किसानलाई १२ महिना नै खेती गर्न सहज हुनेछ ।

बाँकेको सिक्टा सिँचाइ आयोजनाको पूर्वी नहरको २४ किलोमिटर क्षेत्रमा पहिलो पटक पानी छोडिएको छ ।

असारको महिना बितिसक्दासमेत पर्याप्त वर्षा नभइरहेको अवस्थामा बाँकेको पूर्वी क्षेत्रका किसानका लागि सिक्टा सिँचाइ आयोजनाले पानी दिएको हो । नहरमा पानी छाडेपछि त्यस क्षेत्रका किसानमा खुशीयाली छाएको छ ।

आयोजनाको मूल बाँध अगैयाबाट निर्माणाधीन पूर्वी मूल नहरको २४ किलोमिटरमा शुक्रबारदेखि पानी बगाएपछि सो क्षेत्रका दुई हजार हेक्टरमा सिँचाइ सुविधा पुगेको आयोजनाका निर्देशक डा.सन्तोष कैनीले बताए ।

उनले यसअघि पश्चिम मूल नहरबाट १६ हजार हेक्टर र राजकुलोबाट एक हजार हेक्टर गरेर १७ हजार हेक्टरमा सिँचाइ सुविधा पुगेकामा अब पूर्वी मूल नहरमा पानी दिएपछि यस जिल्लाको १९ हजार हेक्टरमा सिँचाइ सुविधा पुगेको बताए ।

समयमा वर्षा नभएर धानको ब्याडसमेत सुक्न थालेको र बोरिङ गरेर रोपेको धानसमेत सुक्न थालेपछि किसानको मागलाई ध्यानमा राखेर पूर्वी मूल नहरको २४ किलोमिटरमा चार क्यूमेक पानी प्रवाह गरिएको आयोजनाले जनाएको छ ।

यसबाट राप्तीसोनारीको वडा नं.६ र ७ मा सिँचाइ हुनेगरी फत्तेपुरतर्फको सिँचाइ प्रणाली अन्तरगतका सातवटै शाखा नहरमा पानी पुग्ने गरी डाइभर्ट गरेपछि सो क्षेत्रका १९ हजार ५२१ जनसङ्ख्या प्रत्यक्ष लाभान्वित हुनेछन् ।

राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलका अनुसार पूर्वी नहरको २४ किलोमिटर क्षेत्रमा पहिलो पटक पानी छोडेपछि उक्त नहरबाट अब यस क्षेत्रका किसानलाई १२ महिना नै खेती गर्न सहज हुनेछ ।

सिक्टा सिँचाइ आयोजनाको अगैयादेखि ४४ किलोमिटर क्षेत्रको नहरको ८६ प्रतिशत कार्य सम्पन्न भइसकेको र बाँकी काम तीव्र गतिमा चलिरहेको जनाउँदै बाँकी काम पनि ठेक्का सम्झौता सकिने मिति २०७९ माघ २९ सम्ममा पूरा गरिने ठेकेदार कम्पनी कुमार कन्स्ट्रक्सनका निर्देशक सुजित श्रेष्ठले बताए ।

बाँकेको अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी बनाइएको सिक्टा सिँचाइ आयोजनाबाट जिल्लाको ४२ हजार ७६६ हेक्टर भूमिमा भरपर्दो सिँचाइ सुविधा उपलब्ध गराउने उद्देश्य रहेको छ । पश्चिम भेगको ३३ हजार ७६६ हेक्टर र पूर्वी भेगको नौ हजार हेक्टरमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य रहेकामा १९ हजार हेक्टरमा सिँचाइ सुविधा पुगिसकेको छ ।

पूर्वी नहरमा पानी छोडेको अनुगमन, निरीक्षणका लागि शुक्रबार बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेल, सिक्टा सिँचाइ आयोजना नेपालगन्जका निर्देशक डा.सन्तोष कैनी, सिक्टा सिँचाइ आयोजना जल उपभोक्ता समितिका अध्यक्ष शालिकराम डाँगी र आयोजनाका डीईहरू अगैयादेखि फत्तेपुरसम्म पुगेका थिए ।

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार ११:३७