सालिकको इतिहास लामो छ । लिच्छविकालमै सालिक तथा मूर्ति बनाउने गरेको पाइन्छ । सालिक इतिहासमा कलाकार अरनिको (सन् १२४५–१३०६) पनि समेटिन्छन् । अहिले हामी अरनिको पदचापलाई पछ्याइरहेका छौँ । सार्वजनिक स्थलमा सालिक ठड्याइरहेका छौँ । सालिक निमार्ण गर्ने होड नै छ । सहिदका सालिक । नेताका सालिक । समाजसेवीका सालिक । सहित्यकारका सालिक । कलाकारका सालिक । आफन्तका सालिक । सालिक नै सालिक ।
सत्तामा पुगेपछि शक्तिको दुरूपयोग गर्दै नेताहरु आफ्ना आफन्तका सालिक र पार्क बनाउँछन् । यहाँ जबरजस्ती सालिक थोपारिँदैछ । सालिक थोपार्ने प्रवृतिलाई काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) पनि पछ्याएका छन् । २०७३ माघ १ गते ¥यापर यमबुद्ध (अनिल अधिकारी)ले आत्महत्या गरे । उनी बेलायतको साउथ ह्यारोस्थित घरको बाथरूममा मृत अवस्थामा भेटिएका थिए । उनले आत्महत्या गर्नुलाई लागूऔषध कारक ठानिएको थियो ।
यद्यपि, पोस्टमार्टम रिपोर्टले अल्कोहल देखायो । देख्ने, चिन्ने र सुन्नेहरुका अनुसार उनी लागूऔषध धेरै नै सेवन गर्थे । उनै आत्महत्या गरेका साथी तथा गुरु यमबुद्धको सालिक बनाउन बालेन तम्सिएका छन् । त्यसका लागि काठमाडौं महानगरले १५ लाख बजेट विनियोजन गरेको छ । सालिक निर्माणका लागि महानगरले बजेट छुट्याएसँगै मेयर बालेनको चर्को विरोध भयो । व्यक्तिगत चाहनाको योजनामा बजेट राखेको भन्दै उनको आलोचना भइरहेको छ ।
जनताको करले यमबुद्धको सालिक निमार्ण गर्नुहुँदैन भन्नेहरुको जमातले सामाजिक सञ्जाल तरंगित भयो । बालेनले आलोचना थेग्न सकेनन् । ब्याक हुँदै ‘महानगरको बजेटले होइन, आफ्नै पारिश्रमिकबाट यमबुद्धको सालिक बनाउने’ उनले घोषणा गरे । यो आलोचनाबाट बच्ने उनको कुटिल चालमात्रै हो भन्नेमा दुईमत छैन । अर्को कुरा, कानुनीरुपमा कुनै पनि जनप्रतिनिधिको तलव वा पारिश्रमिक तोकिएको हुँदैन ।
अर्कोतिर पारिश्रमिकबाट यमबुद्धको सालिक बनाउने उनको निर्णयको आलोचना हुन छाडेको छैन । महानगरको फोहोर, ढल, ट्राफिक व्यवस्थापनजस्ता महत्वपूर्ण काममा ध्यान दिनुपर्ने अवस्थामा एक जना कलाकारको सालिक बनाउन लागेको भन्दै उनकै सर्मथक समेत असन्तुष्ट छन् । प्रश्न गरिरहेका छन्, यमबुद्धको सालिक किन बनाउने ? महानगरमा उनको सालिक किन आवश्यक ? यमबुद्धले महानगरका लागि के गरे ? उनलाई सालिकमा सम्मान गर्नुपर्ने कारण के ?
अधिकांश सामाजिक सञ्जाल प्रयोगकर्ताले आफ्नो तलबले यमबुद्धको सालिक बनाए पनि सार्वजनिक स्थलमा राख्न नहुने आवाज उठाउँदै आएका छन् । नेपालमा आत्महत्या गम्भीर चुनौती बनिरहेको छ । विश्व स्वास्थ्य संगठनको तथ्याङ्कअनुसार आत्महत्या गरिने मुलुकको सूचीमा नेपाल ७ औँ स्थानमा पर्छ । प्रहरी प्रधान कार्यलयका तथ्याङ्कअनुसार नेपालमा प्रत्येक दिन १९ जनाले आत्महत्या गर्छन् । आत्महत्या गर्ने सबैभन्दा बढी युवायुवतीको संख्या छ ।
आत्महत्या गर्नुअघि यमबुद्ध अत्यन्त सम्भावना बोकेका ¥यापर थिए । उनी लाखौँ युवाको मन जित्दै थिए । धेरैको आइडल बन्दै थिए । तर, त्यसैबेला उनले आत्महत्या गरे । उनले मानिसलाई जिउन सिकाउनुपथ्र्यो । तर, आफ्नै जिन्दगी सकाए । त्यसैले उनीबाट सिक्नुपर्ने कुरा खाश छैन । ¥याप गायनमा उनले पुर्याएको योग्दान भुल्न नसकिएला तर जीवनदेखि हार मानेर आत्महत्या गर्ने कलाकारबाटै सिक्ने कुरा पनि छैन ।
समस्याको समाधान आत्महत्या रोज्नेको सालिकको युवालाई कुनै प्रेरणा दिन्छ र ? विषय व्यक्तिको होइन । यमबुद्धको सालिकको मात्रै पनि होइन । समस्या प्रवृत्तिको हो । अक्सर मान्छेले बाँच्ने उपाय खोजिरहेका हुन्छन् । बाँच्नका लागि लाखौं खर्च गर्छन् । करोडौं खर्च गरिरहेका हुन्छन् । यतिधेरै अस्पताल खुलेका छन् । जतिसुकै जटिल रोग लागे पनि बाँच्ने आशा हुन्छ । सकेसम्म मृत्युलाई धकेल्दै जीवन लम्बाउने प्रयत्न सबैको हुन्छ ।
त्यसैले आत्महत्या गरेका यमबुद्धको सालिका भन्दा उनका नाममा ‘मनोचिकित्सा केन्द्र’ स्थापना गर्दा राम्रो हुनेछ । जहाँ युवाले आत्महत्याको विरूद्धमा लड्न मनोवैज्ञानिक परामर्श पाउनेछन् । ‘लागूऔषध पुनस्र्थापना केन्द्र’ खोल्दा राम्रो । जहाँ युवाले लागूऔषधविरूद्धको जनचेतना पाउने छन् । मेयर बन्नुअघि धरहरालाई ‘कंक्रिटको सेतो टावर’ भन्ने बालेनले आफ्नो साथी तथा गुरुको सालिक बनाउनु तम्सिनु व्यक्तिगत रुपमा सकारात्मक नै हो ।
तर, सार्वजनिक पदमा बसेर महानगरको सुधार र विकास गर्ने बेलामा ‘काम कुरा एकातिर, कुम्लो बोकी ठिमीतिर’ भनेझैं सालिक बनाउन तम्सिएपछि आलोचना गरिएको हो । नातागोताका सालिक र भ्यू टावर बनाउने शासकदेखि वाक्का भएर बालेनलाई रोजेका होइनन् ? उक्त शासक र बालेनमा फरक के ? हुन त अहिले नै बालेको कामको मूल्यांकन गर्ने समय होइन । तर, भन्छन् नि, ‘हुनेबेलाको चिल्लो पात ।’
चुनावअघि सजिलैसँग काठमाडौंको फुटपाथ व्यापार व्यवस्थित गर्ने र फुटपाथ ठूलो समस्या नरहेको बताउने बालेन नेतृत्वकै निर्देशनमा नगर प्रहरीले मकै बेच्नेमाथि लछारपछार हुन्छ । निवार्चनअघि, ‘गाई त बाँध्यो ढुंग्रोमा मोही छैन, गरिबको चमेली बोल्दिने कोही छैन ।’ जितेपछि, ‘सडकमा मकै पोलेर बेच्ने ठाउँ छैन ।’ सालिक यसअघि शासकले बनाए । यमबुद्धको सम्झनामा बनाउने नै भए नेपालको हिपहप ‘नेपहप’ स्कुल बनाउँदा राम्रो । जहाँ उदाउँदै गरेका कलाकारलाई अझ प्रगतिशील बनाओस् । नेपाली गीतसंगीत संरक्षण गर्नतिर ध्यान दिँदा राम्रो हुनेछ ।
नवीन राई ।