एआइजी विश्वराज पोखरेलले दायर गरेको रिट खारेज भएको छ । सर्वोच्च अदालतले शुक्रबार आइजीपी नियुक्तिविरुद्ध पोखरेलले दायर गरेको रिट खारेज गर्ने फैसला गरेको हो ।
यससँगै पोखरेलको आइजीपी बन्ने सपना चकनाचुर भएको छ । सर्वोच्चका प्रवक्ता विमल पौडेलले पौडेलले कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासले पोखरेलको मुद्दा खारेज गर्ने फैसला गरेको जानकारी दिए ।
यस्तै यसअघि तीन डीआइजीले दायर गरेको मुद्दा पनि खारेज गर्ने फैसला भएको छ । आइजीपी नियुक्तिविरुद्धको मुद्दामा शुक्रबार विश्वराज पोखरेल पक्षका वकिलहरूले जवाफी बहस गरेसँगै फैसला आएको हो ।
मुद्दामा शुक्रबार निवेदक एआइजी पोखरेलको तर्फबाट वकिलहरू शतीशकृष्ण खरेल, रमेश बडाल, राधेश्याम अधिकारी, ललितबहादुर बस्नेत, हरिहर दाहा, सुनिल पोखरेल, पूर्णमान शाक्य र कृष्णप्रसाद भण्डारीले जवाफी बहस गरेका थिए ।
कामु प्रधानन्यायाधीश नेतृत्वको इजलासमा शुक्रबार आइजीपी नियुक्तिसम्बन्धी मुद्दा पाँचौँ पटक सुनुवाइ भएको थियो । संयुक्त इजलासमा जेठ ३०, असार ५, १३ र १९ मा आइजीपी विवादबारे सुनुवाइ भैसकेको थियो ।
वैशाख १८ मा मन्त्रिपरिषद्ले धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । वरिष्ठता मिचेर मन्त्रिपरिषदले सिंहलाई आइजीपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी एआइजी पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।
सत्यपाटी । काठमाडौं ।