सूचनाको शक्ति - The Power Of Information

        

सामान ढुवानी गर्न कर्णालीका दुर्गम क्षेत्रमा खच्चडकै भर

कर्णालीका दुर्गम क्षेत्रमा मालसामान ढुवानी गर्न अहिले पनि खच्चडकै भर पर्नुपर्छ । यद्यपी दक्षिणी हुम्लाबाट खच्चडबाट ढुवानी गर्नले मालसमानको दरभाउसमेत सस्तिएको छ ।

नेपालगन्ज र सुर्खेतबाट गाडीमा आएको सामान त्यसपछि खच्चडबाट ढुवानी गर्दा दरभाउ पनि सस्तो भएको हो । निर्माण ब्यवसायी सरोज रावतले सर्केगार्ड र चङ्खेली गाउँपालिकाको सिमाना सलीसल्लाबाट सिमकोटसम्म खच्चडको ढुवानीदर सस्तो पर्ने गरेको बताए ।

उनले उक्त स्थानबाट ६० रुपियाँमा प्रतिकेजी सामान ढुवानी गर्ने गरेको बताए । यसअघि मुुगुुको गमगढी र हुुम्लाको बालुु कुनाबाट सामाग्री ढुवानी गर्दा प्रतिकेजी ९० देखि १०० रुपैयाँ ब्यवसायीले तिर्नुपर्ने बाध्यता रहेको थियो ।

सलीसल्लासम्म १२ रुपैयाँ तिरेर गाडीमा ढुवानी गरेको सामाग्री त्यसपछि खच्चडको सहयोगमा ढुवानी हुने गर्छ । पैदल मार्गबाट खच्चडमा ढुवानी भएर आएको सामानको मुल्य पनि पसल अनुुसार सस्तो पर्ने गरेको उद्योग वाणिज्य संघका उपाध्यक्ष रामबहादुुर भण्डारीले बताए ।

उनले भने, ‘विकासले सकरात्मक प्रभाव पारेको छ ।’ उनले तर खच्चडमा टुटफुट हुने सामान ढुवानी हुने सामान भने अहिले पनि हवाई मार्गकै महङ्गो दरमा ढुवानी गर्नुपरेको उपाध्यक्ष भण्डारीले बताए ।

खच्चडलाई भ्याईनभ्याई

माथिल्लो हुुम्लामा खच्चडबाट ढुवानी गर्न ब्यवसायीलाई भ्याईनभ्याई भएको छ । सडक सञ्चालन नजोडिएको कारण सलीसल्लाबाट सामान ढुवानी गर्ने कार्य दैनिक भइरहेको हो । मनसुुन सुुरु भए पनि पानी पर्न सुुरु नभएको कारण यतिबेला ढुवाँनीको भरपर्दो साधन खच्चड देखिएको छ ।

तल्लो दक्षिणी हुम्ला राष्ट्रिय सडक सञ्जाल जोडिएको अबस्थामा त्यहाँसम्म गाडीमा ढुवाँनी भएको सामान माथिल्लो हुम्लामा भने खच्चडबाट ढुवानी गरेको हो । खच्चड ब्यवसायी लोकेन्द्र शाहीले हाल सलीसल्लाबाट माथिल्लो हुम्लाका लागि दैनिक १०० भन्दा बढी खच्चडबाट सामाग्री ढुवानी भइरहेको बताए ।

यसका लागि खच्चड ब्यवसायी भने हुुम्लादेखि जुम्ला, मुुगुु र बाजुुराबाट आउने गर्छन् । सलीसल्लाबाट हाल सर्केगार्ड, खार्पुनाथ, सिमकोट र नाम्खा गाउँपालिकाका लागि सामान ढुवानी हुने गर्छ । यसमा दैनिक उपभोग्य सामान तेल, चिनी, साबुनदेखि विकास निर्माणका सामानहरु सबै र इन्धन समेत ढुवानी खच्चडमा हुने गरेको छ ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार १५:१९