सूचनाको शक्ति - The Power Of Information

        

बर्षा नहुँदा जनजीवन अस्तव्यस्त

तराईमा उच्च गर्मी, अस्पतालमा बिरामीको चाप

बर्षा नहुँदासम्म तराईको तापक्रम घट्ने सम्भावना छैन । असार सकिएर साउन महिना सुरु हुनै लाग्दा पनि वर्षा नहुँदा नागरिकहरु गर्मीले आक्रान्त छन् ।

असार महिना सकिनै लाग्दा पनि पानी नपरेपछि गर्मीले तराई क्षेत्रको जनजीवन अस्तव्यस्त बनेको छ । तराईबासीले तातो हावा र चर्को गर्मी झेलिरहेका छन् । घरभित्र बस्न सक्ने अवस्था छैन । गर्मीका कारण सर्वसाधारण बिरामी पर्न थालेका छन् ।

जिल्लाका स्वास्थ्य संस्थामा बिरामीको चाप ह्वात्तै बढेको छ । औसतमा यहाँको तापक्रम ४२ डिग्रीभन्दा माथि छ । बर्षा नहुँदासम्म तराईको तापक्रम घट्ने सम्भावना छैन । असार सकिएर साउन महिना सुरु हुनै लाग्दा पनि वर्षा नहुँदा नागरिकहरु गर्मीले आक्रान्त छन् ।

गर्मीका कारण आवश्यक कामबाहेक मध्य दिउँसो सडकमा मानिसको चहलपहल पातलिएको छ । बाहिर हिँड्दा गर्मी र त्यसमा पनि ‘लु’ चल्ने भएपछि सडकमा मानिसको आवतजावत कम भएको छ । दैनिक मजदुरी गरेर खानेहरुका लागि गर्मीयाम निकै कष्टकर बन्न पुगेको छ ।

प्रायःजसो युवायुवती गर्मी छल्न विभिन्न पार्क, हरियाली स्थानमा पुग्ने गरेका छन् । अस्पताल तथा निजी क्लिनिकमा बिरामीको चाप बढेको छ । अन्य मौसमको तुलनामा गर्मी मौसममा ५० प्रतिशतले बिरामीको संख्या वृद्धि भएको विभिन्न अस्पतालले जनाएका छन् ।

गर्मीसँगै हावाहुरी र धूलो, सडक पेटी तथा फुटपाथको खाना र फोहोर पानीका कारण बिरामीको सङख्या बढ्दै गएको चिकित्सकले बताएका छन् । गर्मी बढेसँगै बिरामी चाप पनि बढ्दै गएको नेपालगन्ज मेडिकल कलेजले जनाएको छ ।

भाइरल, झाडापखाला, रुघाखोकी, पिसाब संक्रमण, जलवियोजन लगायतका बिरामीको संख्या बढेको अस्पतालले जनाएको छ । अस्पतालका चिकित्सक प्रकाश गुप्ताले गर्मीसँगै वर्षायाम सुरु हुन लागेकोले सवाधानी नअपनाइए मलेरिया, डेंगुजस्ता रोगले प्रभावित पार्न सक्ने बताए ।

ओपिडी सेवाको लागि मात्र दैनिक १५० भन्दा बढी बिरामी आउने गरेको अस्पताल प्रशासनले जनाएको छ । बाँकेको भेरी अस्पताल, कोहलपुर मेडिकल कलेज, बैष्णवी, वस्टर्न लगायतका दर्जनबढी अस्पताल तथा निजी क्लिनिकमा पनि बिरामीको चाप उस्तै छ ।

चिकित्सकका अनुसार बाटो तथा फुटपाथको खाजा नास्ता नखाने, पानी उमालेर अथवा फिल्टर गरेर पिउने, दिसापिसाब गरिसकेपछि सावुन पानीले हात धुने, सफा सुग्घर गर्ने बानीको विकास गरेमा बिरामी हुनबाट जोगिन सकिन्छ ।

भेरी अस्पतालमा सरुवा रोगका बिरामीहरुको संख्या धेरै रहेको भेरी अस्पतालका डा.रुपानन्द अधिकारीले बताए । ‘तीमध्ये अधिकांश भाइरल र टाइफाइडका छन्,’ डा.अधिकारीले भने, ‘भर्ना भएका बिरामीमा पनि आधाभन्दा बढी भाइरल ज्वरो र टाइफाइडकै छन् ।’

उनका अनुसार बालबालिकादेखि युवायुवती र वृद्धवृद्धासमेत प्रभावित भएका छन् । गर्मी बढ्दै जानु र पानी नपरेका कारण बिरामीको चाप बढेको हो । मानिसको चहलपहल बढ्दै जानु, खानपानमा बेवास्ता गर्नु लगायतका कारण बिरामीको चाप बढेको डा.अधिकारीले बताए ।

गर्मीमा पुरै शरीर ढाक्ने गरी लुगा लगाउन र अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किन चिकित्सकहरुको सुझाव छ । बाँकेका विभिन्न अस्पतालमा लुम्बिनी, सुदूर र कर्णाली प्रदेशका साथै भारतका विभिन्न स्थानबाट पनि दैनिक विरामी उपचारका लागि आउने गरेका छन् ।

दिनहुँ उपचार गर्न आउने बिरामीको सङ्ख्या बढ्दै गएको बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.बद्री चपागाई बताउँछन् । अहिले ज्वरो, रुघाखोकी, टाइफाइड, निमोनिया र जिउ दुख्ने समस्या बढी छ ।

पसिना अत्यधिक आउने तर पर्याप्त पानी सेवन नगर्दा बिरामी हुने क्रम बढेको डा.चापागाईको भनाइ छ । अत्यधिक गर्मीकै कारण लामखुट्टे पनि ह्वात्तै बढेका छन् । ज्वरो, टाइफाइड लगायतका बिरामी बढेको विभिन्न अस्पतालमा कार्यरत चिकित्सकहरु बताउँछन् ।

अत्यधिक गर्मीले बालबालिकामा खटिराको समस्या देखिएको छ । घामसँगैको तातो हावाका कारण सर्वसाधारण काम गर्न निस्कन छाडेका छन् । गर्मी मौसममा सरुवा रोगको जोखिम धेरै हुने भएकाले सचेत हुन पनि डाक्टरले आग्रह गरेका छन् ।

अत्यधिक गर्मीका कारण भाइरल ज्वरो लगायतका सङ्क्रामक रोगको जोखिम धेरै हुने भएकाले स्वास्थ्यको ख्याल गर्न डाक्टरले सुझाव दिएका हुन् । सरुवा रोगको जोखिमबाट बच्न व्यक्तिगत सरसफाइका साथै खानपिनमा ध्यान दिन डाक्टरहरुको सुझाव छ ।

सडक आसपासमा बेच्न राखेका खानेकुरा नखाइ घरभित्रै बनाइएको स्वस्थ खाना खाए र शुद्धीकरण गरेको पानी पिउने गरे सरुवा रोगबाट बच्न सकिने डाक्टरले बताएका छन् । घाममा बाहिर ननिस्कन, जीउ ढाक्ने लुगा लगाउन, सफा र स्वच्छ पानी खान तथा ताजा र झोलिलो खानेकुरा खान स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार १३:४२