बुधबार दिउँसो करिब सवा ३ बजे काठमाडौंबाट धनगढीका लागि उडेको जहाजमा चुरोट तानेका यात्रु अहिले प्रहरी नियन्त्रणमा छन् । उनलाई अहिले जिल्ला प्रहरी कार्यालय कैलालीको नियन्त्रणमा राखेको छ ।
कैलालीको टीकापुर घर भएका ती २९ वर्षीय युवक नारायण उपाध्यायले आफू पहिलो पटक जहाज चढेको बताएका छन् । उनले प्रहरीसँग आफू पहिलो पटक जहाजमा चढेकाले चुरोट तान्न नमिल्ने कुराबारे जानकार नभएको बताएका हुन् । उनले आफू मदिराको नशामा झ्याप भएकाले अन्जानमा उक्त घटना भएको प्रहरीसमक्ष बयान दिएका छन् ।
‘काठमाडौं विमानस्थलमा चेकिङ्ग हुँदा सुरक्षाकर्मीले मेरो साथबाट चुरोट र लाइटर भेटाएका थिए । उहाँहरुले फाल्न भनेको तर मैले नफाली लुकाएर त्यो चुरोट जहाजभित्र पुगाएको थिए,’ उपाध्यायको बयान उद्धृत गर्दै कैलालीका डिएसपी वेदप्रकाश जोशीले भने, ‘जहाज उडेपछि शौचालय छिर्दा चुरोटको तलतल लागेकाले तानेको हुँ ।’
उडान नं २५३ बाट धनगढी उडेको जहाजको सीट नं ‘११ ए’ मा बसेका उनले जहाजभित्रै चुरोट तानेपछि हंगामा भएको थियो । उडिरहेको जहाजभित्र धुँवा देखेपछि यात्रुहरु आगलागी भएको ठानेर एकछिन आत्तिएका थिए । त्यसपछि उनलाई उडानमा खटिएका कर्मचारीले उडान अवधिभर निगरानीमा राखेका थिए ।
जहान धनगढीमा ल्यान्ड हुनासाथ उनलाई धनगढी विमानस्थलमा रहेका प्रहरीले नियन्त्रणमा लिएर जिल्लामा बुझाएका थिए । अब पक्राउ परेका उपाध्याविरुद्ध सार्वजनिक अभद्र व्यवहारमा मुद्दा चलाइने कैलाली प्रहरीका प्रवक्ता समेत रहेका डिएसपी जोशीले बताए । जहाजमा सलाई, लाइटरसहितका प्रज्वलनशील वस्तु साथमा लैजान पाइँदैन । त्यहाँ चुरोट तान्न पनि निषेध गरिएको हुन्छ ।
सत्यपाटी । धनगढी ।