सूचनाको शक्ति - The Power Of Information

        

श्रीलंकाका राष्ट्रपति राजपाक्षेले दिए राजीनामा

श्रीलंकाका राष्ट्रपति गोताबाया राजपाक्षेले सिंगापुर पुगेर इमेल मार्फत राजीनामा दिनुभएकाे छ।

उहाँ मंगलबार राति देश छाडेर माल्दिभ्स पुग्नुभएकाे थियाे । बुधबार बिहान माल्दिभ्स पुग्नुभएका राष्ट्रपति राजपाक्षे बिहीबार त्यहाँबाट साउदी एअरलाइन्सको विमानबाट सिंगापुर पुग्नुभएकाे थियाे ।

सिंगापुर पुगेर राष्ट्रपति राजपाक्षेले श्रीलंकाली संसदका सभामुख महिन्दा यापा अभयवद्र्धनेलाई इमेलमार्फत राजीनामा पठाउनुभएकाे हाे।

यद्यपी उहाँले शुक्रबार औपचारिक रूपमा राजीनामा घोषणा गर्ने बताइएको छ । उता, सिंगापुरका विदेशमन्त्रीले राष्ट्रपति राजपाक्षे सिंगापुर पुगेको पुष्टि गरेका छन् ।

तर राष्ट्रपति राजपाक्षेले राजनीतिक शरण नमागेको र सिंगापुरले सामान्यत: राजनीतिक शरण नदिने पनि सिंगापुरका विदेशमन्त्रीले बताएका छन् । राष्ट्रपति राजपाक्षेको राजीनामाले श्रीलंकाली संसदलाई नयाँ राष्ट्रपति चयन गर्ने बाटो खुलेको छ ।

देश छाेड्नु अघि राष्ट्रपति राजपाक्षेले प्रधानमन्त्री रनिल विक्रमासिंगेलाई कार्यबाहक राष्ट्रपति नियुक्त गर्नुभएकाे थियाे । तर प्रधानमन्त्री विक्रमसिंगेले पनि उक्त पदको सपथ नलिएकाले उहाँको पनि हैसियत भने स्पष्ट छैन् । नयाँ राष्ट्रपतिको दावी गर्नेमा विपक्षी दलका नेता सजित प्रेमदासा अग्रपंक्तिमा देखिएका छन् ।

देश चरम आर्थिक संकटमा फसेपछि श्रीलंकामा लामो समयदेखि सरकार विरोधी प्रदर्शन हुँदै आएको छ । त्यसै क्रममा गत मंगलबार प्रदर्शनकारीहरू राष्ट्रपति भवनमै प्रवेश गरेपछि राष्ट्रपति राजपाक्षे भवनबाट भागेका थिए । सोही राति उहाँ सैनिक विमानबाट माल्दिभ्स पुग्नुभएकाे थियाे ।

यसैबीच, श्रीलंकाको केन्द्रीय बैंकका गभर्नर नन्दलाल वीरसिंगेले देशमा स्थिर सरकार नबने श्रीलंका असफल राष्ट्र बन्ने चेनावनी दिएका छन् ।

पेट्रोलिय पदार्थलगायत अत्यावश्यक वस्तुको आपूर्ति गर्न नसक्ने अवस्थामा देश असफल हुने भन्दै गभर्नर वीरसिंगेले तत्काल स्थिर सरकार र चुस्त प्रशासन पुनर्वहाली गर्नेतर्फ राजनीतिकर्मीहरूको ध्यान जानुपर्ने बताएका छन् ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार ०८:५४