सूचनाको शक्ति - The Power Of Information

        

शैक्षिक समृद्धि

डुडुवा बन्यो साक्षर गाउँपालिका

बाँके जिल्लाका आठ वटै पालिका साक्षर घोषणा भइसकेकाले अब दुई तीन दिनभित्रै जिल्लालाई नै साक्षर घोषणाको तयारी भइरहेको छ ।

बाँकेको डुडुवा साक्षर गाउँपालिका घोषणा भएको छ । पालिकाका ९६.२५ प्रतिशत नागरिक साक्षर भएपछि गाउँपालिका साक्षर घोषणा भएको हो । नेपाल सरकारको निर्णय नेपाललाई पूर्ण साक्षर देश घोषणा गर्ने नीति तथा साक्षर नेपाल वर्ष २०७६ अवधारणा अनुसार गाउँपालिका ६ वटा वडासँगै साक्षर गाउँपालिका घोषणा भएको हो ।

बिहीबार आयोजित समारोहमा जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले घोषणा गर्दै बाँके जिल्लाका आठ वटै पालिका साक्षर घोषणा भइसकेकाले अब दुई तीन दिनभित्रै जिल्लालाई नै साक्षर घोषणाको तयारी भइरहेको बताए । उनले मानिसको पहिलो आवश्यकता भनेको शिक्षा नै भएकाले शिक्षाविना मानिस पशु सामान भएकाले सबैलाई साक्षर हुनुपर्नेमा जोड दिदै शिक्षाको ज्योती बढेमा समाजको विकास हुने बताए ।

सभामा बोल्दै डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले स्वास्थ्य क्षेत्रमा जिल्लामै पहिलो पालिका भइसकेकोले यो वर्षदेखि अब शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको भन्दै शिक्षा क्षेत्रमा थुप्रै समस्या भए पनि त्यसलाई समाधानको पहल गरि शिक्षामा नमुना पालिका बनाउने लक्ष्य लिएको बताए ।

प्रमुख चौधरीले शिक्षालाई राष्ट्रिय सम्पत्तीको रुपमा लिइएको र यो शिक्षा कहिले पनि नमर्ने भएकाले यसको आश्यकता हरेक नागरिकलाई रहेको बताए । उनले सबै कुराको परिवर्तन गर्ने शिक्षा नै भएकोले यसको महत्व बढदै गएको र अहिले सूचना प्रविधीको विकास भएसंगै त्यसको मागका आधारमा शिक्षालाई अघि बढाउनुपर्नेमा जोड दिए ।

घोषणा कार्यक्रममा जिल्ला शिक्षा समन्वय इकाइ बाँकेका निमित्त प्रमुख उद्धव श्रेष्ठ, गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, डुडुवा गाउँपालिका वडा नं. १ वडाध्यक्ष पटेश्वर कुर्मी, प्रमुख प्रशासकिय अधिकृत परशुराम उपाध्याय लगायतले बोलेका थिए । कार्यक्रममा शिक्षा शाखा प्रमुख सञ्जय कर्णले साक्षर प्रतिवेदन प्रस्तुत गरेका थिए ।

गाउँपालिकामा १५ वर्षदेखि ६० वर्ष उमेर समूहका ९६.२५ प्रतिशत जनसंख्या साक्षर भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले बताए । वि.सं. २०७५ को सर्वेक्षण अनुसार पालिकाको कुल जनसंख्या ४५ हजार १९ मा १५ देखि ६० वर्ष उमेर समुहका २६ हजार १० जनामध्ये १५ हजार ६२४ जना पहिलै नै साक्षर रहेको तथ्यांक प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदन अनुसार १० हजार २८९ जना निरक्षर रहेकोमा हाल ९ हजार ९०३ जना साक्षर भएकोका मध्ये ४ हजार ३६२ जना पुरुष र ५ हजार ५४१ जना महिला साक्षर भएको शिक्षा शाखा प्रमुख सञ्जय कर्णले बताए । गाउँपालिकाको वडा नं. १ मा ९५.८ प्रतिशत, २ मा ९५.११ प्रतिशत, ३ मा ९६.९० प्रतिशत, ४ मा ९६.०८ प्रतिशत, ५ मा ९६.०८ प्रतिशत र ६ मा ९८.५३ प्रतिशत नागरिक साक्षर भएको प्रतिवेदनमा उल्लेख छ ।

तथ्याक अनुसार सबैभन्दा बढी साक्षर प्रतिशत वडा नंं ६ मा रहेको भने सबैभन्दा कम वडा नं. १ रहेको छ । साक्षर पालिका घोषणा गर्नका लागि घरधुरी सर्वेक्षण, प्रचार प्रसार अभियान, कार्यपालिका तथा शिक्षा समितिको नीतिगत निर्णय, अभियान अन्तरगत गाउँपालिकाभित्र रहेका सम्पूर्ण बाल विकास केन्द्रका सहयोगी कार्यकर्ताहरुमार्फत कार्यरत क्षेत्रभित्रका टोलहरुमा साक्षरता कार्यक्रम सञ्चालन, साक्षर अभियान जिल्ला समन्वय समितिबाट अनुगमन, मूल्यांकन तथा सुझाव प्रदान लगायतका कार्यक्रम तथा अभियान संचालन गरिएको थियो ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार ०८:२२