सूचनाको शक्ति - The Power Of Information

        

गर्भनरले ढाँटे शैक्षिक योग्यता, अख्तियारमा उजुरी (उजूरीसहित)

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरेको छ ।

आफ्नो शैक्षिक योग्यता ढाँटेर राष्ट्रसेवक भई भष्ट्राचारजन्य कसुर गरेको भन्दै नेकपा (माओवादी केन्द्र)को युवा संगठन योङ कम्युनिष्ट लिग (वाइसीएल)ले बिहीबार आयोगमा उजुरी दर्ता गरेको हो ।

कुनै पनि विषयमा कम्तिमा स्नातकोत्तर प्राप्त गरेको व्यक्ति गर्भनर हुनुपर्ने भए पनि अधिकारी अहिलेसम्म कुनै पनि विषयमा र कुनै पनि विश्वविद्यालयबाट स्नातकोतर तह उर्तिण नगरेको भन्दै वाइसीएका संयोजक सुमन देवकोटाले आयोगमा दर्ता गरेको उजुरीमा उल्लेख छ ।

गर्भनर अधिकारीले राष्ट्र बैंकमा पेश गरेको विवरण अनुसार सन् १९८९ मा नेपाल कमर्स क्याम्पसबाट स्नातक तह उर्तिण गरेको र भारतबाट सन् १९९३ मा ‘सीए’ पढाईलाई आधारमाथि नियुक्ति लिएको देखिन्छ ।

तर, त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रका अनुसार सीए अध्ययनलाई अहिलेसम्म कुनै पनि रुपमा स्नातकोत्तर सरह हुने भनि कहिँकतै व्यवस्था गरेको वा निर्णय नगरिएको उजुरीमा उल्लेख छ ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार ०७:१३