तपाईहरु बिरामी लिएर अस्पताल जानका लागि वा हतार भएर ट्याक्सी चढ्न खोज्दै हुनुहुन्छ । ट्याक्सी पाइयो भनेर मख्ख परेर चढ्नुहुन्छ । तर, ट्याक्सी चालकसँगको चुरोकुरो मिलेन भने उसले ट्याक्सीबाट ओर्लिन लगाउछ । चढिसकेको यात्रु ओर्लिदा कस्तो महशुस हुन्छ ? यस्तो अनुभव अधिकांशसंग होला । स्वदेशी मात्र नभई विदेशीलाई पनि बेइज्जत महशुस गराइएको छ । हिजोकै कुरा हो काठमाडौंको भीमसेनगोला, कात्तिके मन्दिरमा बिहान ११ बजे एक जना बिरामीलाई दुई जनाले समातेर ल्याए । कात्तिके मन्दिरबाट सिभिल अस्पताल जानका निम्ति चालकले ५०० रुपैंया मागे । दुरीको हिसाब गर्ने हो भने जम्मा डेढदेखि दुई किलोमिटर होला । मिटरमा जाने हो भने बढीमा १५० रुपैंयाँ पर्छ । सरकारले तोकेअनुसार फ्लो डाउन ५० र प्रतिकिलोमिटर ५० रुपैंयाँ छ ।
सरकारले वर्षौदेखि ट्याक्सीको भाडा बढाएको छैन भनेर पटकपटक रमिता देखाएपछि २०७९ वैशाख १ गतेदेखि लागु हुने गरी भाडा बढायो । त्यसअघि फ्लगडाउन १४ र प्रतिकिलोमिटर भाडादर ३९ थियो । भाडा बढे पनि ट्याक्सी व्यवसायीले मिटरमा यात्रु बोक्दैनन् । मिटर नै खोल्दैनन् । सरकारले तोकिदियो यात्रुले सोहीअनुसार भाडा दिन्छौं भनिरहेका छन् । कालो प्लेटमा दर्ता भएका ट्याक्सीमा सरकारले नै मिटर जडान गरेको छ । त्यो मिटर देखाउनका लागि जोडेको हो ? यातायात ऐनमै मिटरजडित ट्याक्सीले अनिवार्यरुपमा मिटरमा यात्रु बोक्नुपर्ने उल्लेख छ । यात्रुले भनेको ठाउँमा उनीहरु जानैपर्छ । सरकारको ऐन कानुन मान्छौं, मिटरमा यात्रु बोक्छौं, जनतालाई सेवा दिन्छौं भनेर यातायात कार्यालयमा दर्ता भएका ट्याक्सीले कुनै पनि कुराको पालना गरेका छैनन् ।
अहिले पनि ट्याक्सी मिटरमा यात्रु बोक्न अटेर गर्छ । नजिक जाँदै जाँदैनन् । मिटरमा यात्रु नबोक्ने ट्याक्सीलाई न यातायात व्यवस्था विभागले कारबाही गर्छ न ट्राफिक प्रहरी महाशाखाले । प्रदेशको यातायात कार्यालय पनि हात बाँधेर बसेको छ । जनताको सेवासुविधाका लागि सरकारले मिटर जडान गरेको हो । तर, ट्याक्सी व्यवसायीको उद्देश्य, जनता कसरी ठग्न र लुट्न सकिन्छ ? सिण्डिकेट कसरी दह्रो पार्ने ? मात्र छ । विगतदेखि अहिलेसम्म हेर्ने हो भने सरकारभन्दा ट्याक्सी व्यवसायी शक्तिशाली छन् भनेर साबित हुन्छ । पछिल्लो समय नेपालीमा मानवता हराउँदै गएको छ । माथि उल्लेखित घटना एउटा प्रतिनिधिमूलक पात्र मात्र हो । आफूले भनेजति रकम पाएन भने चढिसकेको यात्रुलाई पनि झारिदिन्छन् । बिरामी, वृद्धवृद्धालाई कहिलेकाहीँ मानवताकै नाताले पनि अस्पताल लैजाँदा के बिग्रिन्छ ?
एकै ठाँउमा भेला भएर गफिँदै बस्छन्, ट्याक्सी चालक । ट्याक्सी पार्कमा राखेर क्याराम बोर्ड र लुडो खेलेर बस्छन् । तर, यात्रु बोक्दैनन् । जुनै पनि अस्पतालको गेटबाहिर दर्जनौं ट्याक्सी पार्किङमा बसेको देखिन्छ । डिस्चार्ज भएर घर फर्किन लागेका बिरामीलाई पैसाको कुरा नमिलेसम्म पुर्याउँदैनन् । हरेक पार्किङमा ट्याक्सी चालक र यात्रुबीच गलफत्ती भइरहेको हुन्छ । बाटो हिँड्ने यात्रुले भाडाको विषयमा गलफत्ती भएको भनेर राम्ररी बुझ्छन् । तर, ट्राफिक प्रहरी देखे पनि नदेखेझैं गरिदिन्छन् । ट्राफिक महाशाखा प्रमुख मीरा चौधरी र यातायात मन्त्री मोहम्मद इस्तियाक राईलाई जनताको प्रश्न, नयाँ ट्याक्सीको दर्ता पनि नखोल्ने र मिटरमा यात्रु नबोक्ने ट्याक्सीलाई कारबाहीको निर्देशन पनि नदिने ? ट्राफिक प्रमुखले पनि आफैं जानेर अनुगमन गर्नुपर्दैन ? के ट्राफिक प्रहरी सडकमा बस्ने मात्रै हो ?
लामो समयदेखि नयाँ ट्याक्सीको दर्ता खोलेको छैन । ३३ वर्षअघि बन्द भएको दर्ता अहिले पनि यथावत नै छ । सबै प्रदेशमा ट्याक्सीको दर्ता बन्द छ । पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य निरन्तर उकालो लागिरहेको छ । नेपाल आयल निगम टाट पल्टेको कुरा सबैलाई थाहा नै छ । सरकारले विस्तारै विद्युतीय बस भित्र्याउँदैछ, तर विद्युतीय ट्याक्सीको दर्ता खोल्दैन । एउटा ट्याक्सीले दैनिक दुई हजारको पेट्रोल खपत गर्छ । विद्युतीय ट्याक्सीको दर्ता खुला गरिदिने हो भने चार्ज गरेको १५० रुपैंयाँ पनि नेपालमै बस्छ । पेट्रोल आयात गरेर नाफा होइन, झन् घाटा हुँदै गइरहेको छ । १ हजार ८५० रुपैंयाँ दैनिक फाइदा भयो भने यात्रुलाई पनि भाडामा केही हदसम्म राहत होला । अहिले सञ्चालित ट्याक्सीहरुले प्रदुषण गरिरहेको छ । महंगो शुल्क तिरेर स्वेदशी र विदेशीले राम्रो सेवा पाएका छैनन् । यहाँ पनि हानाथाप भएको कारण नयाँ ट्याक्सीको दर्ता नखुलेको बुझिन्छ ।
संघीयले प्रदेशलाई प्रदेशले संघीय देखाउँछ । एकअर्कातिर औला देखाएर यात्रुलाई कतिञ्जेल सास्तीको भारी बोकाउने ? बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री घनश्याम दाहाल फोन उठाउँदैनन् । ट्याक्सीको दर्ता किन नखोलेको भनेर जिज्ञासा र यात्रुका गुनासा राख्न खोज्दा उनको फोन उठ्दैन । ट्याक्सी चालकका अनुसार यातायात मन्त्री दाहालको पनि ट्याक्सीमा लगानी छ । दैनिक कमाइ र ट्याक्सीको खरिदबिक्री मूल्य घट्ने भएकाले दर्ता नखोलेको बताइन्छ । जनता र राष्ट्रका लागि काम गर्छु भनेर शपथ खाएका व्यक्तिले आफ्नो व्यक्तिगत फाइदा हेर्न मिल्छ ? मेरो लगानी डुब्छ भनेर जनतालाई दुःख दिन मिल्छ ? सरकारले नयाँ ट्याक्सीको दर्ता नखोलिदिदा राज्यको ढुकुटीमा राजस्व आएन् । यात्रुले पनि भनेको बेलामा ट्याक्सी चढ्न पाएनन् । सर्वसुलभ मूल्यमा नयाँ ट्याक्सी चढ्ने उनीहरुको अधिकार खोसियो । ट्याक्सीमा भएको सिण्डिकेटको जरा उखाल्न मन्त्री चासो दिँदैनन् ।
सञ्चारकर्मीहरु आफूलाई नपरेसम्म कलम चलाउँदैनन् । यात्रु मँहगो भाडा तिरिरहने, ट्याक्सी व्यवसायी ठगिरहने । यदि अहिले कसैले सरकारले सोध्यो भने सिण्डिकेट छैन भनेर दाबी गर्छन् । सिण्डिकेट हटेको भए खोइ त नयाँ ट्याक्सी ? जनताले त चढ्न पाएका छैनन् । सरकारले नयाँ ट्याक्सीको दर्ता खोल्यो भने हामी पुराना ट्याक्सी ल्याएर सडकमा तेर्स्याउँछौं । ट्याक्सीको चाबी सरकारलाई बुझाउछौं । आन्दोलन गछौं भनेपछि सरकार पनि डरायो । उनीहरुको विरोधले सञ्चारकर्मीले कला चलाए भने ट्याक्सी व्यवसायीले फोन गरेर थर्काउछन् । कार्यालय घेर्न पनि बेर लगाउँदैनन् । ट्याक्सी व्यवसायीले जनता र राष्ट्र ठगेको विषयमा अझै पनि कडा भएर कलम चलाउन जरुरी देखिएको छ । टुलुटुलु हेरेर बसे भने जनताले कहिले राहतको सास फेर्न पाउँदैनन् । आफु पनि जनतालाई सस्तोमा सेवासुविधा नदिने, नयाँ व्यवसाय भित्रिन पनि नदिने अनि रोड कब्जा गरेर जनता लुटिरहने । सरकारले निर्माण गरेको बाटोमा ट्याक्सी व्यवसायीले राज गरेका छन् । जनताहरु महंगो भाडा तिरेर थोत्रा ट्याक्सी चढ्न बाध्य छन् ।
एक्काइसौं शताब्दीमा आइपुग्दा त ट्याक्सी व्यवसायीको यत्रो दादागिरी छ । यो दादागिरी चिर्नलाई जनताले आवाज बुलन्द बनाउनुपर्छ । हरेक सञ्चारकर्मीले कलम चलाउनुपर्छ । अनि बल्ल सरकार तात्ला र सरकारले नयाँ ट्याक्सीको नयाँ दर्ता खुला गरिदेला । ट्याक्सीमा भएको सिण्डिकेट र ठगीको विषयमा सदनमा आजसम्म आवाज उठेको छैन । संघीय र प्रदेश सांसदले नयाँ ट्याक्सीको दर्ता खोल्नुपर्छ भनेर आवाज उठाएका छैनन् । ट्याक्सीमा गएर यात्रु बस्नेबित्तिकै लुगा बिग्रिन्छ । सिटका खोलहरु पनि सफा गरिएका हुँदैनन् । पुराना ट्याक्सीका सिटमा त जुम्रा पनि भेटिन्छन् । भन्नलाई ट्याक्सी तर ट्याक्टरको जस्तो आवाज आउँछ । ट्याक्सीमा बस्दा खुट्टा सिधा पार्न मिल्दैन । टाउको माथि गर्यो कि ठोक्किन्छ । सलाईका बट्टा जस्ता ट्याक्सी छन् । मोटामोटा तीन जना यात्रु बस्यो भने उकालोमा ट्याक्सीले तान्दैन । ट्याक्सीबाट यात्रु ओर्लिएर ठेल्नुपर्छ । ट्याक्सीमा यस्तो बेतिथि हुँदा पनि कसैको ध्यान गएको छैन ।
ट्याक्सी व्यवसायीहरु यति शक्तिशाली हुनुमा जनता पनि कहीकतै दोषी छन् । पैसा तिरिसकेपछि त्यसअनुसारको गुणस्तर खोज्नु हाम्रो अधिकार हो । तर, नेपाली जे जस्तो भएर पनि सहेर बस्छन् । जसको कारण सक्नेले जहिले पनि थिचोमिचो गर्न खोज्छन् । जनताले आवाज नउठाउँदा ट्याक्सी व्यवसायीको मनोबल बढ्दै गएको हो । बाटो सबैको साझा हो, तर ट्याक्सी व्यवसायी आफुमात्र व्यवसायी गर्न खोज्छन् । थप नयाँ व्यवसायी आउन दिँदैनन् । ट्याक्सीमा खुला प्रतिस्पर्धा कहिले हुन्छ सरकार ? नयाँ व्यवसायी कहिले आउँछन् ? आन्दोलन गर्ने ट्याक्सीको दर्ता र रोड परमिट खारेज गरेर अघि बढ्ने हो कि ? उपत्यकाभित्र मात्र ट्याक्सीको परमिट छ, यसलाई देशभर बनाऔं । उपत्यकाबाहिर पनि जनता छन् भनेर नबिर्सिऔं । यसमा हरेकको भूमिका छ । सबैले आफ्नो भूमिका निर्वाह गर्दा जनताले सुख पाउँलान् ।
अनुसा थापा ।