सूचनाको शक्ति - The Power Of Information

        

जंगली च्याउ खाँदा एकै घरका पाँच जना बिरामी

रुकुम पश्चिममा जंगली च्याउ खाँदा बाँफिकोट गाउँपालिका ७ मग्मा नदुवाका आशिराम खत्रीको घरका पाँच जना बिरामी भएका छन् ।

घरमुली आशिरामले मंगलबार बेलुका जंगलबाट च्याउ ल्याएर खाँदा परिवारका पाँच जना बिरामी भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।

प्रहरी नायब उपरिक्षक बिष्णुकुमार सोतीले ३६ वर्षीय आशिराम खत्रीसहित श्रीमती ३१ बर्षीया कुमारी खत्री, छोरा ६ बर्षीय शेरबहादुर खत्री, छोरी ३ बर्षीया धनमाया खत्री र भान्जा १४ बर्षीय निमबहादुर खत्री बिरामी भएको जानकारी दिए ।

खत्रीका अनुसार बिरामी पाँचै जनालाई बुधबार बिहान जिल्ला अस्पताल सल्लेमा उपचारका लागि ल्याएको प्रहरीले जनाएको छ । घाइतेमध्ये घरमूली आशिराम र छोरी धनमाया बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जानकारी दिएको छ ।

अन्य तीन जना भने बोल्न सक्ने अवस्थामा छन् । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले वर्षायाममा जंगली विषालु च्याउ खाएर विभिन्न स्थानमा मान्छे बिरामी परेको भन्दै यसतर्फ सचेत रहन आग्रहसमेत गरेको छ ।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार १०:०४