सूचनाको शक्ति - The Power Of Information

        

विचार

नेपाल श्रीलंका बन्दैछ या बन्ने छैन

‘नेपाल श्रीलंका बन्दैछ–नेपाल श्रीलंका बन्ने छैन’ आजको नेपाली जनमानस यिनै दुई परस्पर विरोधी अड्कल–अनुमानको भुमरीमा फसेको छ ।

हाम्रो देशमा अहिलेको जस्तै आर्थिक बेथिति अरू केही समय कायम रहने हो भने नेपाल छिट्टै श्रीलंका बन्न सक्छ । सबैका लागि यो चेतावनी हो, सत्तासीन गठबन्धनको सदस्य दल नेकपा माओवादी केन्द्रका नम्बर २ नेता नारायणकाजी श्रेष्ठ प्रकाश । नेपाल छिट्टै श्रीलंका बन्दैछ भनेर एकथरी गैरजिम्मेवार मानिसहरू अनर्गल हल्ला फैलाइरहेका छन् । यथार्थमा त्यस्तो कुनै सम्भावना छैन । ढुक्क हुनुहोस् नेपाल श्रीलंका बन्ने छैन, सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की । ‘नेपाल श्रीलंका बन्दैछ–नेपाल श्रीलंका बन्ने छैन’ आजको नेपाली जनमानस यिनै दुई परस्पर विरोधी अड्कल–अनुमानको भुमरीमा फसेको छ ।

यो अड्कल–अनुमान हल्ला बनेर ट्रोल भएको छ । तथाकथित बौद्धिक वर्गमा पर्ने स्वयम्भू जानिफकारहरू यी दुई किसिमका अनुमानित निष्कर्षलाई लिएर अलग अलग तम्बुमा उभिएका छन् । यिनीहरूका कुरा सुनेर आफ्नो धारणा बनाउने सर्वसाधारण जनताहरू भने खै के ! खै के ! को स्थितिमा छन् र कुनै टुङ्गोमा पुग्न नसकेर अलमलिएका देखिन्छन् । आम र खास दुवैथरी नेपालीहरूका मनमा अब के हुन्छ ? भन्ने गह्रुँगो प्रश्न ढसमस्स बसेको छ र त्यसले जनमानसमा त्रास फैलाइदिएको छ भन्ने कुरा चाहिँ आजको निर्मम सत्य हो । साथै यो पनि सत्य हो कि आज हर वर्ग र तप्काका नेपालीहरूको मनमा आफ्नो भविष्यलाई लिएर गम्भीर आशंका छ र सबैजना एउटा अज्ञात भविताको त्रास बोकेर बाँचिरहेका छन् ।

आर्थिकरूपले टाट पल्टेको श्रीलंकामा जुन त्वरित गतिमा सत्ताको सम्पूर्ण संरचना गर्ल्यामगुर्लुम ढल्यो, जनताहरूले जसरी सजिलैसँग राष्ट्रपति भवन कब्जामा लिए र जसरी सत्तामा रहेका सर्वशक्तिमान् राजपाक्षे घरानाका उच्च ओहोदाधारीहरू एकपछि अर्को गरि राजधानी कोलम्बोबाट भाग्न बाध्य भए त्यो त्यस द्विपराज्यको इतिहासका सन्दर्भमा एउटा अकल्पनिय घटना थियो । श्रीलंकाको इतिहासमा घटित त्यो अद्भूत घटनाको अनुगुञ्ज काठमाडौँको सत्ताका गल्लीगल्छेँडा विचरण गर्ने व्यक्तिहरूको हृदयमा पनि हुन थालेको छ भन्ने कुराको बलियो प्रमाण हो, ज्ञानेन्द्रबहादुर कार्कीको माथि उद्धृत गरिएको त्यो बयान ।

मन्त्री कार्की वर्तमान राजनीतिक पद्धतिबाट सबैभन्दा बढी लाभान्वित हुन सफल शेरबहादुर देउवाले नेतृत्व गर्ने भ्रष्ट सत्ताखोर समूहका एक स्थायी सदस्य हुन् । त्यसैले उनी त्यस द्विपराष्ट्रमा उठेको विद्रोहको बाछिटा यहाँसम्म पनि आइपुग्छ कि भनी मनमनै डराएका छन् । उनको त्यही भयले उनलाई नेपाल श्रीलंका बन्ने कुनै सम्भावना छैन भनेर आफैँलाई सम्झाउन, थुम्थुम्याउन प्रेरित गरेको हुनुपर्दछ । नेपालले श्रीलंकाको नियति भोग्न बाध्य भयो भने जनताको आक्रोशको पहिलो निशानामा नेपाली राजपाक्षेहरू र तिनका आसेपासे नन्दी–भृंगीहरू हुनेछन् भन्ने कुरामा विवाद छैन ।

नेपाली राजपाक्षेहरू र तिनका नन्दीभृंगी को को हुन् ? सबैलाई थाहा छ, यी पङ्क्तिहरूको लेखकले चिनाइरहनु पर्दैन । श्रीलंकाली भ्रष्टाचारीहरूको केन्द्र राजपाक्षे परिवार थियो भने नेपाली भ्रष्टाचारीहरूले एकभन्दा बढी घरानाको प्रतिनिधित्व गर्दछन् । तर मिलिजुली भ्रष्टाचार गर्ने मुद्दामा यिनीहरू सहोदर भाइहरूभन्दा पनि घनिष्ठ छन् । यी हामपन्थीहरूमध्ये कसैको अनुहारमा वामपन्थी मखुन्डो लागेको छ भने कसैको अनुहारमा दक्षिणपन्थी । यिनीहरूमध्ये कुनै कुनै त राजाको नाम जप्ने पनि छन् । भ्रष्टाचारको एउटै पुङ चलाउने यी बहुरङ्गीहरूलाई देख्दा लालची मानिसहरूको कुनै जात र आस्था हुँदो रहेनछ भन्ने तीतो सत्यसँग साक्षात्कार गर्न पुगिन्छ । नेपाली राजपाक्षेहरूको कर्तुत दिन प्रतिदिन, क्षण प्रतिक्षण उदाङ्ग भइरहेको छ ।

यिनीहरूले कसरी लोकतान्त्रिक गणतन्त्रलाई भुइँफुट्टा बिचौलियाहरूको सिन्डिकेट बनाइदिएका छन् भन्ने क्रूर वास्तविकतासँग पनि हामी परिचित भइसकेका छौँ । प्रविधि र सञ्चारको क्षेत्रमा भएको अपरिमित प्रगतिको सहयोगले आजको सचेत नेपाली जनमानस यी राजपाक्षेहरूका कर्तुतको एक एक हिसाब राख्न सफल भएको छ । नेपाली राजपाक्षेहरूले जानिराखे हुन्छ, श्रीलंकामा उठेको जस्तो जनाक्रोशको आँधी–तूफान यहाँ पनि उठ्यो भने त्यतिबेला सिंहदरबारको पटाङ्गिनीमा तिमीहरूका कर्तुतहरूको त्यो हिसाब–किताबको ढड्डा खोलिने छ । त्यतिबेला हिसाब बराबर गर्ने क्रममा तिमीहरूले तिर्नुपर्ने हर्जाना धेरै ठूलो तिम्रो बुताले नभ्याउँने किसिमको हुनसक्छ ।

हामीकहाँ छिट्टै श्रीलंकामा उठेको जस्तो विशाल राजनीतिक आन्दोलनको आँधी– तुफान उठ्ने सम्भावना छ कि छैन भन्ने विषयमा यस विषयका जानकार–अध्येताहरूका बीच नै मतान्तर छ । अहिलेका आर्थिक र मौद्रिक वस्तुतथ्य र परिसूचकलाई पर्गेलेर हेर्दा हालसालै वा एकाध वर्षमै नेपालको अर्थतन्त्रको सम्पूर्ण ढाँचा नै गर्ल्यामगुर्लुम हुने सम्भावना देखिँदैन भन्नेहरू नै बहुमतमा छन् । उनीहरूले प्रस्तुत गर्ने गरेका तथ्य र विचारहरू जायज नै छन् । नेपाल राष्ट्र ब्याङ्कले जारी गरेको पछिल्लो आर्थिक प्रतिवेदनले देशको विदेशी मुद्रा सञ्चिती र सोधानान्तर स्थितिमा थोरै सुधार भएको जनाएको छ । यसले नेपाल खत्तम नै भइसक्यो, कुन दिन सिंहदरबारको सिंहबुर्जा माथि आन्दोलनकारीहरूले कब्जा जमाउनेछन् भन्ने अनर्गल हल्ला र स्वैरकल्पनाको खेती गर्नेहरूलाई थोरै झड्का दिएको हुनु पर्दछ ।

पङ्क्तिकारलाई लाग्दछ, नेपाल निकट भविष्यमै श्रीलंकामार्गमा लागि हालेन भने पनि ढिलोचाँडो यसले समात्ने बाटो त्यही नै हो । आज यस देशको सत्ता समालीरहेकाहरूको नियत, कार्यशैली र क्षमतालाई हेर्दा जसको मनमा पनि चरम निराशाको अनुभूति हुन्छ । आज हामीमाथि शासन गरिरहेको मध्ययुगीन सोचद्वारा डोरिएका कुलाङ्गारहरूको यो भ्रष्ट मण्डली यस सुन्दर देशलाई सुडान वा सोमालिया बनाएरै छोड्न कृतसङ्कल्पित छ जस्तो बुझिन्छ । शीर्षमा प्रधानमन्त्रीदेखि लिएर पिँधमा वडा समिति सदस्यसम्म सबैको ध्याउन्न पैसै कमाउनमा भएपछि सुशासन र कल्याणकारी राज्यको बीउ कहाँ खोज्न जाने हो ? हरेक नेपाली बिलखबन्द परेको अवस्था छ अहिले । यसरी अनाचार र बेथितिको डङ्गुर बढ्दै गएर बेसम्भार भएपछिको नेपाल पुग्ने सिङ्गापुर वा डेनमार्कमा होइन श्रीलंका वा त्यसभन्दा गए गुज्रेको स्थीति मै हो ।

आइएनएस–स्वतन्त्र समाचार

प्रकाशित मिति : २९ असार २०७९, बुधबार ०७:५९