सूचनाको शक्ति - The Power Of Information

        

भागेर माल्दिभ्स पुगे श्रीलंकाका राष्ट्रपति राजपाक्षे

श्रीलंकाका राष्ट्रपति गोताबाय राजपाक्षे देश छाडेर भागेका छन् । परिवारवादले मुलुकको आर्थिक अवस्था डामाडोल बनाएका राजपाक्षे सेनाको विमानमार्फत् भागेर माल्दिभ्स पुगेको जनाएको छ ।

मुलुकमा आर्थिक संकटको विषयलाई लिएर चर्किइरहेको आन्दोलनकाबीच उनी भागेका हुन् । उनी सोमबार राति ३ बजे स्थानीय माल्दिभ्स पुगेको बीबीसीले जनाएको छ । गत शनिबार प्रदर्शनकारीले राष्ट्रपति निवासमा प्रवेश गरेसँगै उनी त्यहीबाट गायब भएका थिए ।

उनले राजीनामा दिइसकेको र आज संसदमा उनको राजीनामा पत्र पढेर सुनाइने सभामुखले जनाएका छन् । यसअघि राष्ट्रपति राजापाक्षेको श्रीलंकाबाट दुबई भाग्ने प्रयास गरे पनि सफल भने हुन सकेको थिएन ।

राष्ट्रपतिका भाइ तथा पूर्व अर्थमन्त्री बासिल राजपाक्षे पनि देश छाडेर भागेको जनाइएको छ । उनी अमेरिका पुगेका छन् । राजपाक्षेको बहिर्गमनसँगै श्रीलंकामा एक दशकभन्दा लामो समयदेखिको एक परिवारको शासन अन्त्य भएको छ ।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार ०७:३६