सूचनाको शक्ति - The Power Of Information

        

जयेन्दु बाल सुधार गृहको ५ दिने नव चेतना योग शिविर सम्पन्न

बाँकेको डुडुवा गाउँपालिका–६ आसमानपुरस्थित जयेन्दु बाल सुधार गृहमा सञ्चालन गरिएको ५ दिने नव चेतना योग शिविर सम्पन्न भएको छ ।

द आर्ट अफ लिभिङ नेपालगन्जले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र प्रिजन फाउण्डेसनको सहयोगमा सञ्चानल गरेको पाँच दिने शिविरको जिल्ला न्यायाधीश षडानन्द तिवारीले मंगलबार समापन गरेका हुन् ।

न्यायाधीश तिवारीले सकारात्मक सोच र सकारात्मक कर्म हुने हो भने कहिल्यै पनि तनाव नहुने बताए । उनले भने, ‘सुधार गृहमा बस्दा केही स्वतन्त्रताहरु मात्र खुम्चिए पनि अरु कुराहरु नरोकिएकाले राम्रो काम गरेर समाजमा पुनस्र्थापित हुनुहोस् ।’

सुधार गृहमा योग शिविर सञ्चालन गर्नु अत्यन्तै सह्रानीय काम भएको बताउँदै उनले सहभागीहरुलाई सिकेको कुरालाई हरेक दिन व्यवहारमा उतार्न आग्रह गरे ।

सोही कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बाल सुधार गृहका बालकलाई भविष्यमा सक्षम, योग्य र असल बनेर घर, परिवार र समाजमा उदाहरणीय बन्न आग्रह गरे ।

जयेन्दु बाल सुधार गृहलाई साढे ४ बिगाह जग्गा दान दिने जयकिशन सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बाँके प्रहरीका प्रवक्ता डीएसपी मधुसुधन न्यौपाने, जिल्ला हुलाक कार्यालय बाँकेका प्रमुख गोविन्दप्रसाद पाण्डे, द आर्ट अफ लिभिङ नेपालगन्जका संयोजक सञ्जय थापा, अधिवक्ता वसन्त गौतम, हरित अभियन्ता हेमन्त कर्माचार्य, सुधार गृहका इन्चार्ज विमला काउचा मगर, शिविरका सहजकर्ता शंकरप्रसाद खनाल, तालिमका सहभागी लगायतले योग ध्यान र यसको फाइदाका विषयमा धारणा राखेका थिए ।

शिविरमा द आर्ट अफ लिभिङका स्वयंसेवकद्वय शंकरप्रसाद खनाल र सुधीर गौतमले सहजीकरण गरेका थिए । शिविरमा योग, ध्यान, प्राणायाम, अध्यात्मिक ज्ञान, मनोरञ्जनमूलक खेल, सत्सङ, सेवाका कार्यक्रमहरु सञ्चालन गरिएको सहजकर्ता गौतमले जानकारी दिए । शिविरमा १२–१८ वर्ष उमेर समूहका ६८ जना बालकहरु सहभागी भएका थिए ।

प्रकाशित मिति : २८ असार २०७९, मंगलवार १९:२३