नेपालका प्रायजसो सबै कम्युनिस्ट पार्टीले अबको नेपालको यात्रा समाजवादतर्फ हो भन्दैछन् । बेला मौकामा कांग्रेस पनि यो भन्न छुटाउँदैन । नेपालको संविधानमै समाजवाद उन्मुख लेखिएको पनि छ । अर्थात्, अबको नेपाल समाजवाद उन्मुख छ भन्ने कुरामा एक प्रकारको राष्ट्रिय सहमति नै देखिन्छ । तर, नेपालको समाजवाद कस्तो हुने हो ? यसको राजनीतिक, आर्थिक र सामाजिक प्रणाली कसरी व्यवस्थित हुन्छ ? र, यसतर्फ जानका लागि आजैबाट गरिने कामहरू के के हुन् ? यसतर्फ भने सबै कुहिरो कागझैं हराइरहेका देखिन्छन् ।
समाजवादतर्फको यात्रामा नेतृत्व गर्ने सबैभन्दा भरपर्दो शक्ति कम्युनिस्ट पार्टीहरू नै हुन्, यसमा शंका छैन । तर, के अहिले अस्तित्वमा रहेका नेपालका कम्युनिस्ट पार्टीहरू यसका लागि तयार छन् ? अथवा उनीहरूका आजका क्रियाकलापहरू त्यसतर्फ उन्मुख देखिन्छन् ? आजका मितिमा यो ज्वलन्त प्रश्न हो । यी प्रश्नहरूको समुचित उत्तर नखोजिकन संविधानमा जे लेखे पनि वा पार्टीका घोषणाहरूमा जति फूलबुट्टा भरिए पनि समाजवाद उन्मुख यात्रा एक कदम पनि अगाडि बढ्न सक्दैन । कम्युनिस्ट पार्टीहरूभित्र विद्वानहरू नभएका होइनन् ।
उनीहरूले समाजवादको गाथा गाउन छोडेका पनि छैनन् । उनीहरू समक्ष समाजवादतर्फको यात्राको बारेमा जिज्ञासा राख्ने हो भने हतार–हतारमा कार्ल मार्क्स, लेनिन र माओका रचनाहरूको कण्ठस्थ पाठ पढाउन उद्यत हुन्छन् । अर्कोतर्फ एमालेको कुरा गर्ने हो भने उसले त जबज र मदन भण्डारीको संकलित रचनाहरू देखाएर सबै समस्याको औषधि त्यहिँ खोज्न सुझाउँछ । अहिलेको नेपाली समाजको चेतना, हाम्रो भौतिक परिस्थिति र अबको बाटोको सन्दर्भमा विचारका हिसाबले नेतृत्व गर्ने नेताको ठूलो खडेरी देखापरेको छ ।
माथिका पंक्तिहरू उदाहरण हुनसक्छन् । केही विद्वानहरू अहिले वाम गठबन्धन वा वाम एकताको कुरा जोडतोडका साथ उठाइरहेका छन् । त्यसो नभएमा वाम आन्दोलन सत्यानाश हुने उनीहरूको तर्क छ । यो नितान्त चुनाव जित्ने मेलो हो । मानौं चुनाव त जितौंला, सरकार पनि बनाउँला, तर त्यो वाम सरकारले समाजवादतर्फको यात्रामा इँटा थप्छ कि थप्दैन ? यो महत्वपूर्ण प्रश्न हो । यसका सन्दर्भमा निःशर्त एकतावादीहरूसँग कुनै जवाफ छैन । किनकि, यस्तो प्रकारको गठबन्धन वा एकताबाट नेपालको कम्युनिस्ट आन्दोलन गुज्रिसकेको छ ।
परिणाम सबैको सामुन्ने छ । त्यो कालखण्डमा नेपाली जनता सबैभन्दा धेरै निराश भएका थिए । त्यो वाम एकताको सरकारले समाजवाद निर्माणका लागि काम नगरेको मात्रै होइन, लोकतन्त्र नै धरापमा पारेको तथ्यलाई कसरी भुल्न सकिन्छ र ! तसर्थ एकचोटी असफल भएको काम फेरि त्यही ढंगले दोहो¥याउनु भनेको पुनः दोस्रोचोटी असफल हुने अभ्यास मात्र हो । वाम एकताबाट नेपालमा केन्द्रीय र प्रादेशिक सरकारहरू नबनेको होइन । ती सरकारहरूले समाजवाद उन्मुख व्यवस्था निर्माणमा कति योगदान गरे ?
यसको समुचित समीक्षा भएर तथ्य र समस्याहरू उजागर बनाइनुपर्छ । र, ती समस्याहरू समाधान गर्ने अर्को नयाँ सूत्र विकसित गरिनुपर्छ । अन्यथा गठबन्धन वा एकताले चुनाव त जित्ला, फेरि अर्को केपी ओली पनि जन्मेला तर समाज विकासमा कुनै योगदान गर्न सक्दैन । सबैले मानेको यथार्थ के हो भने नेपालको सेवा वा वस्तुको उत्पादन प्रणाली र उत्पादक शक्तिको विकासमा दलाल पुँजीवाद बाधक छ । यस्तो प्रकारको दलाल पुँजीवादी व्यवस्थाको संरक्षणका लागि राज्यका सबै अंगमा उनीहरूको जबरजस्त प्रभाव र नियन्त्रण पनि देखिन्छ ।
यसलाई समाप्त नपारी राष्ट्रिय पुँजीको विकास हुन सक्दैन । राष्ट्रिय पुँजीले निर्माण गर्ने रोजगारीको विशाल संरचनाभित्र मात्र उत्पादक शक्तिको विकास हुने हो । समाजवाद निर्माणको महत्त्वपूर्ण आधार भनेको उत्पादक शक्तिको विकास नै हो । तर, दलाल पुँजीवादको कब्जाबाट मुलुकलाई मुक्त पारी समाजवादको आधार निर्माण गर्न कम्मर कसेर लागेका कम्युनिस्ट पार्टीहरू चाहीं दलाल पुँजीवादीहरूबाट कति स्वतन्त्र छन् ?
कतै कम्युनिस्ट पार्टीहरू नै त उनीहरूको प्रभावमा छैनन् ? शंका गर्नुपर्ने थुप्रै आधारहरू देखिँदै छन् । वाम एकताबाट निर्मित ओली सरकार सञ्चालनमा यती, ओम्नी र बतासहरूको भूमिका सबैलाई थाहा नै छ । कम्युनिस्ट पार्टीहरूको विभाजनमा उनीहरूको भूमिका के थियो ? व्यापारीको भेषमा प्रसाईं र दुगडहरू, कलाकारका भेषमा करिश्मा र कोमलहरू अहिले पनि एमाले नेतृत्वमा छन् । के तिनीहरू कम्युनिस्ट हुन् ? यस्तो अरू कम्युनिस्ट पार्टीहरूमा पनि होलान् । शंका लाग्नु स्वाभाविकै हो, कतै दलाल पुँजीवादका प्रतिनिधिहरूले हामीलाई मार्क्सवाद सिकाइरहेका त छैनन् ?
यी यावत प्रश्नहरूको उत्तर खोजिनु पनि जरुरी छ । माथिका कुराहरूलाई मनन गर्ने हो भने कम्युनिस्ट आन्दोलनभित्र व्यापक शुद्धीकरणको खाँचो छ । यो वा त्यो कम्युनिस्ट पार्टी होइन, सबै कम्युनिस्ट पार्टीहरूमा धेर वा थोर दलाल पुँजीवादको प्रभाव छ । त्यो प्रभाववाट मुक्त कम्युनिस्ट पार्टीहरू र ती कम्युनिस्ट पार्टीहरूको एकता आजको आवश्यकता हो । यस्तो प्रकारको एकताले मात्र मुलुकलाई समाजवादतर्फको यात्रामा नेतृत्व गर्न सक्छ । अब कम्युनिस्ट पार्टीहरूले चुनाव जित्नैपर्ने अनिवार्यताबाट आफूलाई मुक्त नगरिकन धरै छैन ।
चुनाव जित्नैपर्ने आवश्यकताबाट निर्मित संगठनले दलाल पँुजीवादसँग कसरी जुध्न सक्छ ? त्यति मात्र होइन, त्यसबाहेक जनताका आजका आवश्यकताहरू र चाहना बमोजिमको सुधारका कामहरू पनि गर्न सक्दैन । यथास्थितिवाद र प्रतिक्रियावादका विरुद्धमा हुने विद्रोहले सामाजिक विकास भएजस्तै कम्युनिस्ट पार्टीभित्र देखापरेको यथास्थितिवाद र दक्षिणपन्थका विरुद्धमा हुने विद्रोहले कम्युनिस्ट पार्टीलाई झन् विकसित हुन मद्दत पुर्याउँछ । विकसित कम्युनिस्ट पार्टीले मात्रै नयाँ चेतनाको सम्प्रेषण गर्न सक्ने हो ।
नयाँ परिस्थितिले नयाँ चेतना जन्माउँछ, त्यही चेतना समाजवादको अर्को आधार स्तम्भ हो । समाजवाद निर्माण शब्दको खेल होइन । यो चुनाव जित्ने रणनीति पनि होइन । यो कष्टसाध्य युगिन दायित्व हो । तसर्थ समाजवाद हतारोको विषयवस्तु बन्नहुँदैन । वैज्ञानिक समाजवाद विज्ञानसम्मत नै प्राप्त हुन्छ । त्यसका लागि कम्युनिस्टहरूले वैचारिक र सांगठनिक हिसाबले आफूलाई तयार पार्दै, समाजवादका बाधकहरूबाट आफूलाई मुक्त बनाउनु पहिलो दायित्व हो । त्यसबाहेक समाजवाद निर्माण भएपछि के के हुन्छ ? भनेर सपनाहरूको वितरण गर्ने होइन, त्यो प्राप्तिका लागि आजको काम के हो ? त्यसको रूपरेखा कोरिनु दोस्रो काम हुन सक्छ ।
राज्य र समाजमा समाजवाद निर्माणको युगिन दायित्व बोकेका कम्युनिस्ट पार्टीहरूले आफ्ना संगठनहरूमा समाजवादी संकेतहरू देखिने समाजवादी भु्रणहरू कसरी विकसित गर्छन् ? यो तेस्रो काम होला । तसर्थ समतामुलक समाज निर्माण गर्ने अभियानमा लागेका कम्युनिस्ट अभियन्ताहरूले तदनुकुलकै पूर्वतयारी गर्नु आजको आवश्यकता हो । अन्यथा समाजवाद मागिखाने माध्यम हुने तथ्यमा कुनै शंका छैन । धन्यवाद । (लेखक अर्याल नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका केन्द्रीय सदस्य हुन् ।)
दामोदर अर्याल ।