सूचनाको शक्ति - The Power Of Information

        

सरकारी बेवास्ता

जीर्ण कारागारमा कैदीबन्दी कोचाकोच, जीवनयापन कष्टकर

३०० जना क्षमताको कारागारमा ८०० जना कैदीबन्दी राखिएको छ ।

बाँके जिल्ला कारागारमा क्षमताभन्दा करिब तीन गुणा बढी कैदीबन्दी रहेका छन् । जीर्ण र साँघुरो कारागारभित्र कैदीबन्दीलाई कोचाकोच गरी राखिएको छ ।

वर्षायामसँगै ४० डिग्रीको चर्को गर्मीमा कैदीबन्दीलाई कोचाकोच गरी राख्दा अधिकांशको दैनिक जीवनयापन कष्टकर बन्दै गएको छ । यहाँ क्षमताभन्दा करिब तेब्बर कैदीबन्दीलाई राखिएको कारागार व्यवस्थापनले नै स्वीकारेको छ ।

कारागार व्यवस्थापन विभागका अनुसार बाँके कारागार करिब ३०० जना क्षमताको हो । तर यहाँ करिब ८०० जना कैदीबन्दी राखिएको छ । अधिकांशलाई कोचाकोच गरी राखिएको कारागारका जेलर रामकुमार सोनकरले बताए ।

कारागारमा दुई आश्रित नाबालकसमेत रहेका छन् । उनका अनुसार क्षमताभन्दा बढी कैदीबन्दी राख्दा समय–समयमा बिरामी पर्ने समस्या आउने गरेको छ । कारागार प्रमुख सोनकर अब थेग्न नसकिने अवस्था आएको बताउँछन् ।

कारागारभित्र अब अस्थायी संरचना निर्माणका लागि ठाउँको अभाव छ । मानव अधिकारकर्मी संस्थाहरुले कारागारको अनुगमन गरी क्षमता अनुसार मात्र कैदीबन्दी राख्न र तत्काल आवश्यक व्यवस्थापनको निर्देशन दिने गरेका छन्, तर कारागार प्रशासनले चासो दिन सकेको छैन ।

‘कैदीबन्दीको बाँच्न पाउने अधिकार छ, यसका लागि कानुनी मापदण्ड अनुसार कारागार सञ्चालन हुनुपर्छ,’ मानव अधिकारकर्मी वसन्त गौतमले भने, ‘कैदीबन्दीलाई पशुसरहको होइन, मानवताको व्यवहार हुनुपर्छ । सोहीअनुसारको सुविधा उपलब्ध गराउनुपर्छ ।’

कारागार बस्तीको बीचमा रहेकाले स्थानीय नागरिकमा सुरक्षा चुनौतीसमेत बढेको गुनासो आउने गरेको छ । विभिन्न रोगबाट सङ्क्रमित कैदीबन्दीलाई उपचारका लागि भेरी अस्पताल लैजान पनि सुरक्षा चुनौती बढेको सम्बद्ध अधिकारी बताउँछन् ।

अर्कोतर्फ कारागारको भौतिक संरचना निकै जीर्ण बन्दै गएको छ । सात दशकअघि स्थापना हुँदा बनेका दुई भवन र पर्खाल जीर्ण बनेको छ । यी भवन तथा पर्खालहरूको विगत लामो समयदेखि मर्मतसम्भार हुन सकेको छैन ।

कारागार खण्डहरमा परिणत हुँदै गएको कैदीबन्दी बताउँछन् । सरसफाइको अभावमा कारागार वरिपरिको वातावरण दुर्गन्धित बन्दै गएको छ । कारागारबाट निस्केको फोहो र त्यही वरपर फाल्ने, ढल निकास नहुँदा दुर्गन्धित बनेको हो ।

प्रकाशित मिति : २८ असार २०७९, मंगलवार १२:४२