सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा एकसाथ १४ पक्की पुल निर्माण हुँदै

लुम्बिनी प्रदेश सरकारको बजेटबाट बाँकेमा एकसाथ १४ वटा ठूला पक्की पुलको निर्माण कार्य भइरहेको छ ।

सडक पूर्वाधार विकास कार्यालय बाँकेका निमित्त कार्यालय प्रमुख शरदकुमार अधिकारीका अनुसार तीमध्ये दुई वटा पुलको निर्माण कार्य चालू आर्थिक वर्ष २०७८–०७९ मा सम्पन्न भएको छ भने सातवटा पुलको निर्माण कार्य जारी छ ।

थप पाँच वटा पुल निर्माणका लागि डीपीआरको काम भइरहेको छ । सडक पूर्वाधार विकास कार्यालयका अनुसार प्रदेश सरकारले बाँकेलाई पुल निर्माणमा प्राथमिकता दिएको छ । निर्माण सम्पन्न भएका र निर्माणाधीन गरी सात वटा पुलको कुल बजेट करिब ३७ करो ड ५० लाख रुपैयाँ छ ।

अन्य पाँच वटा पुलको लागत भने डीपीआर स्वीकृत भएपछि मात्रै यकिन हुनेछ । डुडुवा गाउँपालिकाको बेतहनीस्थित डुडुवा नाला पुल र जानकी गाउँपालिकाको साइगाउँस्थित दोन्द्रा नाला पुल निर्माण कार्य सम्पन्न भएको छ ।

आव २०७८–०७९ मा सम्झौता भई निर्माण सुरु भएका खजुरा गाउँपालिका–२, सीतापुरस्थित किरण नाला पुल, खजुरा र जानकी गाउँपालिका जोड्ने खजुरा–४, चल्तुवास्थित किरण नाला पुल र बैजनाथ गाउँपालिकाको जिगाउँस्थित वनखेतमा जेठी नाला पुलको काम भइरहेको छ ।

चालू आवमा सम्झौता भएका खजुरा–४ सिर्जनाटोलस्थित किरण नाला पुल, खजुरा–१, सैनिक रामपुरेडाँडास्थित किरण नाला पुल, कोहलपुर नगरपालिकास्थित रोहिणी खोला पुल र राप्तीसो नारी गाउँपालिकास्थित गौरीखोला पुलको निर्माण सुरु भएको छ ।

‘पुल निर्माण कार्य चालू आवमा सन्तोषजनकरूपमा अघि बढ्न सकेनन्,’ सडक पूर्वाधार विकास कार्यालय बाँकेका निमित्त प्रमुख अधिकारीले भने, ‘निर्माण व्यवसायीले होलिडे (बिदा), निर्माण सामग्रीको मूल्य वृद्धि भएको लगायतका कारण देखाउँदै काम गरेनन् ।’

निर्माण व्यवसायीले समयमै काम नगरिदिँदा गत आवमा सम्झौता भएका तीन वटा पुल यस वर्ष पनि सम्पन्न हुन नसकेको कार्यालयका प्राविधिक अधिकृत ओमप्रकाश पौडेलले बताए । खजुरा–२, सीतापुरमा पुरानो पुल भत्काएको र नयाँ पुल समयमै निर्माण सम्पन्न हुन नसक्दा नागरिकले सास्ती पाएका छन् ।

कार्यालयका अनुसार अन्य पाँच वटा पुल निर्माणका लागि डीपीआर भइरहेको छ । खजुरा गाउँपालिकाको बीगाउँस्थित गरैचा नाला, खजुराकै सिमलघारीस्थित जेठी नाला, खजुरा–४, भण्डरियास्थित किरण नाला, खजुरा जानकी जोड्ने बकसपुरस्थित मुर्गिया नाला र बैजनाथ गाउँपालिकाको चिसापानीस्थित जेठीनालामा पुल निर्माणका लागि डीपीआर भइरहेको छ ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार १५:२५