सूचनाको शक्ति - The Power Of Information

        

बाँकेको १७ हजार हेक्टर जमिनमा सिक्टाको पानी

गत वर्षदेखि नै सिक्टाको मूल नहरमा पानी छोडिँदा कोहलपुर–६, रझेनाका मलिराम थारूलाई खेतीमा पानीको कुनै समस्या भोग्नुपरेको छैन ।

आफ्नो खेतको छेउमा नै मूल नहर बगेकाले आवश्यक पानी तानेर बाह्रै महिना खेती गरिरहेको उनले बताए । यसअघि आकाशे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता रहेको सुनाउँदै थारूले अब त जतिबेला जुन खेती मन लाग्यो, त्यो गर्न सकिने बताए ।

दुई साताअघिदेखि नै कोहलपुर–१५ का खड्कबहादुर खड्काले मज्जाले रोपाइँ गरिरहेका छन् । पानी नपरे पनि उनलाई विगतको जस्तो समस्या छैन । खेतको छेउबाटै सिक्टाको नहर बगेकाले समयमै रोपाइँ गरिएको बताए ।

थारू र खड्का मात्र नभई सिक्टाको पश्चिमी मूल नहरको ४५ किलोमिटर र पूर्वी नहर राजकुलोको १२ किलोमिटर वरिपरिका किसानले सिँचाइ सुविधा प्रयोग गरिरहेका छन् । यसले बाँकेका किसानलाई आकाशे पानीकै भर परेर खेती गर्नुपर्ने अवस्था अन्त्य हुँदै गएको छ ।

राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइ आयोजनाको पश्चिमी नहर र पूर्वी नहरको केही क्षेत्रमा पानी दिएपछि अहिले सो नहरकै कारण १७ हजार हेक्टरमा सिँचाइ सुविधा पुगेको सिक्टा सिँचाइ आयोजना नेपालगन्जका निर्देशक डा.सन्तोष कैनीले जानकारी दिए ।

उनले आयोजनाको नहरमा पानी छोडिएपछि बाँके जिल्लाको १७ हजार हेक्टरमा सिँचाइ सुविधा पुगेको र ती क्षेत्रमा केही समयअघिदेखि नै धमाधम रोपाइँ भइरहेको बताए । अहिले यस क्षेत्रका अधिकांश किसानले वर्षा नकुरेर नै खेती गरिरहेको आयोजनाले जनाएको छ ।

अहिले सिक्टाको नहरमा १० क्युबेक पानी छोडिएको छ । ‘नहर र शाखा नहर वरिपरिका किसानले सिक्टाको पानी अहिले पम्प गरी खेतसम्म पुर्याएका छन् । जसले गर्दा नहर पुगेको ठाउँका किसानलाई खेतीका लागि पानीको कुनै पनि समस्या छैन,’ प्रमुख डा.कैनीले भने ।

सो आयोजनाको निर्माण कार्य आव २०६३–०६४ देखि सुरु भएको थियो । बाँकेको अगैयामा राप्ती नदीमा बाँध निर्माण गरी बनाइएको सिक्टा सिँचाइ आयोजनाबाट ४२ हजार ७६६ हेक्टर भूमिमा भरपर्दो सिँचाइका लागि पानी उपलब्ध गराउने उद्देश्य रहेको छ ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार १५:१३