नेपालमा महिलाको विवाहको उमेर घटाउनका लागि सडकदेखि सदनसम्म बहस भइरहेको बेलामा संयुक्त राष्ट्र सङ्घीय जनसंख्या कोष (यूएनएफपीए)को एक प्रतिवेदन संसारभरका किशोरी आमाहरूको बिजोग स्थितिलाई उजागर गरेको छ । विकासोन्मुख देशहरूमा बस्ने करिब एक तिहाइ महिलाहरू किशोरावस्थामा मातृत्वको भार वहन गर्न बाध्य छन् । यी विकासोन्मुख देशहरूमध्ये नेपाल पनि एक हो ।
प्रत्येक वर्ष जन्मने कूल शिशुमध्ये १६ प्रतिशत १९ वर्ष वा सोभन्दा कम उमेरका आमाबाट जन्मिने अनुमान छ । प्रतिवेदनका अनुसार सानो उमेरमा आमा बन्दा उनीहरू र जन्मने बच्चाको स्वस्थ, सामाजिक विकासमा प्रत्यक्ष प्रभाव पारेको छ । यतिमात्र होइन, यसबाट उनीहरूको मानवअधिकार हननको जोखिम पनि निकै बढेको छ । संयुक्त राष्ट्रसङ्घीय जनसंख्या कोष (यूएनएफपीए) ले मंगलबार ५ जुलाई २०२२ मा जारी गरेको ‘मदरहुड इन चाइल्डहुडः द अनटोल्ड स्टोरी’ प्रतिवेदनमा यो जानकारी आएको हो ।
आमा बन्दाखेरी यी किशोरीहरूको उमेर १९ वर्ष वा धेरै अवस्थामा यो भन्दा कम छ । यो त्यो उमेर हो जब यी बालिकाहरूले आफ्नो राम्रो भविष्यको सपना बुनिरहेका हुन्छन् । यस्तो अवस्थामा मातृत्वको बोझले उनीहरूलाई शारीरिक र मानसिक रुपमा कमजोर बनाउन सक्छ । प्रतिवेदनका अनुसार यी किशोरीहरूको मृत्यु र स्वास्थ्यमा हुने क्षतिको प्रमुख कारण सानै उमेरमा आमा बन्दाखेरी आएका जटिलताहरू जनाएको छ । यसैगरी बालविवाह, हिंसा र मानसिक स्वास्थ्यमा पर्ने असर गम्भीर समस्याका रूपमा अगाडि आएको छ ।
उल्लेखनीय कुरा के छ भने सानै उमेरमा आमा बन्ने बालिकाहरूमा यी सबैखाले जोखिम सबैभन्दा बढी हुन्छ । तथ्याङ्कले न्यून र मध्यम आय भएका देशहरूमा प्रत्येक वर्ष किशोरी (१५ देखि १९ वर्ष) बाट २१ करोड गर्भधारण हुने गरेको देखाएको छ । जसमध्ये करिब आधा अर्थात् १० करोड अनपेक्षित हुन्छ । यी २१ करोड गर्भधारणहरूमध्ये लगभग एक चौथाई, वा ५७ लाख किशोरीको गर्भपतन गराइन्छ । ती मध्ये अधिकांश असुरक्षित गर्भपतन हुन्छ । यो किशोरीहरूको स्वास्थ्यको लागि ठूलो खतरा हो ।
४० वर्षको उमेरमा पुग्दा पाँच सन्तानकी आमा
संयुक्त राष्ट्रसङ्घीय जनसंख्या कोष (यूएनएफपीए)को यो प्रतिवेदनका अनुसार कम उमेरमा बच्चा जन्माउने महिलामा किशोरावस्थामा बढी बच्चा जन्माउनु सामान्य कुरा हो । १४ वर्ष वा सोभन्दा कम उमेरमा पहिलो पटक आमा बन्ने तीन चौथाइ बालिकाको दोस्रो सन्तान पनि किशोरावस्थामा नै जन्मिएको पाइएको छ । त्यस्तै, करिब ४० प्रतिशत बालिकाहरू किशोरावस्था पूरा हुनुअघि नै तेस्रो सन्तानको आमा बन्छन् ।
अर्कोतर्फ सन् २०१५ देखि २०१९ सम्मको तथ्यांक हेर्दा ४० वर्ष पुग्दासम्म यी बालिका करिब पाँच सन्तानका आमा बनिसकेका छन् । प्रतिवेदनका अनुसार, यदि हामीले विश्वव्यापी अवस्थालाई हेर्ने हझ भने, सब–सहारा अफ्रिकामा किशोरी आमाहरूको संख्या सबैभन्दा बढी छ । यस क्षेत्रका करिब ४६ प्रतिशत महिला किशोरावस्थामा नै मातृत्वको भार वहन गर्न बाध्य हुने अनुमान गरिएको छ । विगत केही दशकहरूमा यो अवस्थामा खासै परिवर्तन भएको छैन ।
बंगलादेशकी किशोरी आमा : आफ्नो डेढ वर्षीय छोराका साथमा १६ वर्षीय नरगिस । तस्वीर सौजन्य : संयुक्त राष्ट्रसङ्घीय जनसंख्या कोष (यूएनएफपीए)को प्रतिवेदन
अफ्रिकी देशहरूमा स्थिति खराब
यससँगै अफ्रिकी देश नाइजर, मोजाम्बिक र सेन्ट्रल अफ्रिकन रिपब्लिकको अवस्था सबैभन्दा खराब रहेको तथ्यांक विश्लेषण गरिएको छ । जहाँ नाइजरका ७३ प्रतिशत महिला आफ्नो २० औं जन्मदिनअघि नै आमा बन्छन् । जबकि मोजाम्बिकमा यो संख्या ६७ प्रतिशत र मध्य अफ्रिकी गणतन्त्रमा ६६ प्रतिशत छ । विश्वका १८ देशमा आधाभन्दा बढी महिला किशोरावस्थामा नै आमा हुने गरेको पाइएको छ ।
यो संख्या ६ दशक अघिको न्यून र मध्यम आय भएका देशहरूको औसतभन्दा बढी हो । उल्लेखनीय कुरा के छ भने, यी सबै १८ देश सब–सहारा अफ्रिकाका हुन् । अर्कोतर्फ, यस क्षेत्र बाहिर बंगलादेशको अवस्था सबैभन्दा खराब छ, जहाँ करिब ४८ प्रतिशत महिलाले किशोरावस्थामा मातृत्वको जिम्मेवारी निर्वाह गरिरहेका छन् । विश्वभर युवा र किशोरी महिलामा मातृत्वको घटना कम हुँदै गएको संकेत उत्साहजनक रहेको भनिएको छ तर यो दिशामा प्रगतिको गति अझै चिन्ताजनक छ ।
६० वर्षअघिको तथ्यांकको कुरा गर्ने हो भने करिब ५० प्रतिशत महिला २० वर्ष वा सोभन्दा कम उमेरमा आमा बन्ने गरेका थिए । यूएनएफपीएका अनुसार यी केसहरू प्रत्येक दशकमा करिब तीन प्रतिशतको दरले घट्दै गएका छन् । युएनएफपीएका कार्यकारी निर्देशक डा नतालिया कानेम भन्छिन्, ‘विकासोन्मुख देशहरूमा महिला जनसङ्ख्याको झन्डै एक तिहाइ किशोरावस्थामा आमा बन्न थालेपछि विश्वले किशोरकिशोरीहरूलाई सहयोग गर्न असफल भएको प्रष्ट हुन्छ । यस्तो अवस्थामा, यससम्बन्धी जानकारी र सेवाहरूमा उनीहरूको पहुँच सकेसम्म चाँडो सुनिश्चित गरिनुपर्छ ।’
कार्यकारी निर्देशक डा नतालिया कानेमका अनुसार यस्तो अवस्थामा सरकारले किशोरीहरूका लागि अवसर, स्रोत र सीपको विस्तार गर्दै किशोरीहरू र अनिच्छित गर्भधारणबाट बच्नका लागि सरकारले लगानी गर्नुपर्नेमा जोड दिएका छन् । कार्यकारी निर्देशक डा. नतालिया भन्छिन्, ‘यी किशोरीहरूले कहिले आफ्नो जीवनको बाटो आफैं निर्णय गर्ने मौका पाउनेछन् । त्यसपछि बाल्यकालमा आमा बन्ने केसहरू पनि लगातार घट्दै जानेछन् ।’
सत्यपाटी । ।