सूचनाको शक्ति - The Power Of Information

        

कांग्रेसले भातृ र शुभेच्छुक संस्थाको विधान मस्यौदा टुंग्यायो

नेपाली कांग्रेसले पार्टीका भ्रातृ र शुभेच्छुक संस्थाको विधानको मस्यौदा टुंगो लगाएको छ ।

पार्टी उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा पार्टी कार्यालय सानेपामा आइतबार बसेको पदाधिकारी बैठकले भ्रातृ र शुभेच्छुक संस्थाको विधानको मस्यौदा टुंग्याएको हो ।

पदाधिकारी बैठकले टुंगो लगाएको भ्रातृ र शुभेच्छुक संस्थाको विधान मस्यौदालाई सोमबार बस्ने केन्द्रीय समितिको बैठकमा पेस गर्ने तयारी छ ।

केन्द्रीय समितिबाट विधान मस्यौदाको प्रस्ताव निर्णय हुने र सोही अनुसार भ्रातृ तथा शुुभेच्छुक संस्था थपघट हुने बताइएको छ ।

पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले करिब एक दर्जन संख्यामा भातृ\शुभेच्छुक संस्था थप्ने प्रस्ताव गर्ने निर्णय पदाधिकारी बैठकले गरेको जानकारी दिनुभयो ।

विभिन्न क्लस्टर, जात र भूगोल विशेषबाट आबद्धता खोजिएको प्रवक्ता डा.महतले जानकारी दिनुभयो । कांग्रेसमा हाल १३ वटा भातृ र १९ वटा शुभेच्छुक संस्था रहेका छन् ।

जसमा केही थपघट हुने गरी मंस्यौदा तयार गरिएको बताइएको छ । गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षा र भ्रातृ तथा शुभेच्छुक संस्थाका सम्बन्धमा निर्णय गर्न कांग्रेसको केन्द्रीय समिति बैठक सोमबार दिउँसो १ बजे बोलाइएको छ ।

प्रकाशित मिति : २६ असार २०७९, आइतवार २०:१६