सूचनाको शक्ति - The Power Of Information

        

लुम्बिनी प्रदेश प्रमुख शेरचनद्वारा बकर इदको शुभकामना

 लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले समाजवादोन्मुख व्यवस्था निर्माण गर्नेे संविधानको सङ्कल्प रहेको तथा संविधानले विविध जाति, धर्म, संस्कृति र समुदायको संरक्षण र संवद्र्धनका लागि अधिकार प्रदान गरेको बताउनुभएको छ ।

प्रदेश प्रमुख शेरचनले मुस्लिम समुदायको दोस्रो ठूलो पर्व बकर इद अर्थात् ‘इद उल अज्हा’का अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा संविधानले विगतमा राज्य व्यवस्थाले गरेको वर्गीय, जातीय, लिङ्गीय, भाषिक, क्षेत्रीयलगायत सबै प्रकारका उत्पीडनको अन्त्य गरी आर्थिक समानता र सामाजिक न्यायलाई स्थापित गर्दै सामानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समाजवादोन्मुख व्यवस्था निर्माण गर्ने सङ्कल्प बोकेको उल्लेख गर्नुभएको छ ।

शुभकामना सन्देशमा उहाँले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहुसांस्कृतिक विशेषताले भरिपूर्ण रहेको जनाउँदै मुस्लिम समुदायको यस पर्वले नयाँ उमङ्ग र उत्साहका साथ एकापसमा एकता र भाइचारा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख गर्नुभएको छ ।

मुस्लिम समुदायमा एकापसमा खुसीयाली साटासाट गरी मनाइने यो पर्वले सम्पूर्ण नेपालीबीच बन्धुत्व, एकता र सद्भाव कायम राख्न मद्दत पु¥याएको समेत उहाँले उल्लेख गर्नुभएको छ ।

प्रमुख शेरचनले बकर इद अर्थात् ‘इद उल अज्हा’ पर्वका अवसरमा सम्पूर्ण नेपालीहरूमा शान्ति, एकता, समृद्धि र सहिष्णुता कायम राख्दै स्वच्छ, सुखी, समुन्नत राष्ट्र निर्माणमा थप प्रेरित गर्ने आशा र विश्वासका साथ यो पर्वले राष्ट्रिय एकता कायम गर्ने छ भन्ने विश्वाससमेत व्यक्त गर्नुभएको छ ।

प्रकाशित मिति : २६ असार २०७९, आइतवार १०:१६