सूचनाको शक्ति - The Power Of Information

        

श्रीलंकाका राष्ट्रपति गोताबायाद्वारा राजीनामा दिने घोषणा

श्रीलंकाका राष्ट्रपति गोताबाया राजपाक्षेले पदत्याग गर्ने घोषणा गर्नुभएको छ ।

उहाँले यही जुलाई १३ तारिखमा राजीनामा दिने घोषणा गर्नुभएको हाे । उहाँले आम नागरिकलाई शान्त रहन समेत अपील गर्नुभएको छ। साथै प्रधानमन्त्री रनिल विक्रमासिंघेकाे निवासमा आगजनी भएकाे छ ।

लामो समयदेखि आर्थिक संकटबाट गुज्रिएको श्रीलंकामा शनिबार जनताले राष्ट्रपति भवन र प्रधानमन्त्री निवास कब्जामा लिएपछि राष्ट्रपति गोताबाया राजपाक्षे र प्रधानमन्त्री रनिल विक्रमासिंघे दुवै जना फरार भएका छन् ।

प्रदर्शनकारीले प्रधानमन्त्रीनको निवासमा आगो समेत लगाइदिएका छन् भने राष्ट्रपति भवनका कोठा चोटामा प्रदर्शनकारी प्रवेश गरेर कब्जा गरेका छन् ।

प्रधानमन्त्री बिक्रमासिंघेले त आफूले पदत्याग गरेको घोषणा गर्दै सर्वदलीय सरकार गठनका लागि आह्वान समेत गर्नुभएको छ । सभामुख महिन्दा अबेवर्दनाले राष्ट्रपति राजपाक्षेले राजीनामा दिन तयार भएको भन्दै कानूनको सम्मान गर्न र शान्ति कायम गर्न जनतालाई आग्रह गर्नुभएको छ ।

राष्ट्रपति निवासभित्र प्रवेश गरेका हजारौं प्रदर्शनकारीहरू कोही स्वीमिङ पुलमा पौडी खेलेका थिए त कोही किचनमा गएर चिया पकाएका दृष्य सार्वजनिक भएका छन् ।

प्रदर्शनकारी मध्ये कोही सोफामा बसेको र कोही डाइनिङ टेबलमा बसेर खानेकुरा खाइरहेका देखिन्छन् । प्रदर्शनकारीलाई राष्ट्रपति भवनमा प्रवेशन गर्नबाट रोक्न सुरक्षाकर्मीले हवाइ फायर तथा अश्रुग्याँस समेत प्रहार गर्दा सयौं प्रदर्शनकारी घाइते पनि भएका छन् । तर पनि सुरक्षाकर्मी भीड नियन्त्रण गर्न असफल भएकाे छ ।

श्रीलंकाले विदेशी मुद्राको अभावमा इन्धन, खाद्यन्न तथा औषधि आयात गर्न समेत सकेको छैन् । साथै इन्धन अभावका कारण सार्वजनिक यातायात बन्द भएका छन् भने विद्यालय पनि बन्द गरिएको छ ।

सन् २००९ देखि सरकारको नेतृत्वमा रहेको राजपाक्षेको परिवारकै कारण श्रीलंकाले संकटको सामाना गर्नुपरेको सर्वसाधाराणको बुझाइ रहेकाे छ ।

प्रकाशित मिति : २६ असार २०७९, आइतवार ०९:४१