सूचनाको शक्ति - The Power Of Information

        

मुस्लिम धर्मावलम्बीको दोस्रो महान पर्व

मुस्लिम समुदायले बकर ईद मनाउँदै, आज सार्वजनिक बिदा

एकापसमा शुभकामना आदानप्रदान

मुस्लिम धर्मावलम्बीको दोस्रो महान पर्व बकर ईद (इदुल जोहा) आज देशभर मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ ।

मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा ईदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने गरिएको छ ।

यस अवसरमा देशभरका मस्जिद र ईदगाहमा मुस्लिम धर्मावलम्बीको भिड लाग्छ ।  यस पर्वका अवसरमा मक्का मदिना जानु शुभ मानिन्छ ।

मक्का मदिना जान गृह मन्त्रालयले आतेजाते विमान टिकटको व्यवस्था गरी हज यात्रा गराउने गरेको छ । मक्का मदिना जान नपाउने हजयात्रीले समेत घर घरमै बकर ईद मनाउँछन् । यो पर्वको मुख्य उद्देश्य नै हज यात्रा हो । बकर ईदका अवसरमा आज सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीले बकर ईदको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली मुस्लिममा सुख, शान्ति तथा समृद्धिको लागि  शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले ईद संयमता, धैर्यता, विश्व शान्ति र भाइचाराको सन्देश दिने पर्व भएकाले यो पर्व एक आपसमा खुसी, सद्भाव तथा  शुभकामना आदानप्रदान गरी मनाउन आग्रह गर्नु भएको छ ।

प्रकाशित मिति : २६ असार २०७९, आइतवार ०७:३०