सूचनाको शक्ति - The Power Of Information

        

अझै त्रासमा सम्झनाकाे परिवार

बलात्कारपछि हत्या गरिएकी नाबालिका सम्झना बिकका हत्यारा राजेन्द्र बोहराका आफन्तले अझैं सम्झनाका परिवारलाई तुच्छ शब्द बोल्दै धम्की दिन थालेका छन् ।

दुई वर्षअघि बझाङको मष्टा गाउँपालिका वडा नम्बर २ खिकालाकी १२ वर्षिया नाबालिका सम्झना कामीको बलात्कारपछि हत्या गरिएको थियो ।

अदालतले हत्यारा सावित गरेका राजेन्द्र बोहरालाई उमेर नपुगेको भन्दै हाल बाल सुधार गृहमा रहेका छन् । बाल सुधार गृहमा रहेका राजेन्द्रका आफन्त जुस्या भनिने रवि बोहराले स्वर्गीय सम्झना कामीका हजुर बुबा गोरख कामीलाई अपशब्द प्रयोग गर्दै प्रमाण देखाउन भन्दै हातपात समेत गरेको सम्झनाका आफन्त इश्वर बिकले बताए ।

बिकका अनुसार बोहराले तँलाई गाउँबाट निकाला गर्छु भन्दै हातपात समेत गरेका छन् । गालिगलौज गर्ने बोहरालाई मष्टा गाउँपालिकाको न्यायिक समितिमा ल्याएर छलफल गरिएको छ ।

बोहराले भारतबाट आएकोले घटनाबारे आफूले थाहा नपाएको हुँदा गालिगलौज गरेको भन्दै माफि मागेपछि घटना मिलेको मष्टा गाउँपालिका अध्यक्ष ज्ञानबहादु्र बोहराले बताए ।

आफुहरू अझै त्रासमा बस्नु परेको सम्झनाका आफन्तले बताए ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार ०८:४८